धोनीले तत्काल सन्न्यास नलिने

चेन्नईलाई १०औँ पटक आइपिएलको फाइनल पुर्‍याएका धोनीले सन्न्यासका सम्बन्धमा जनवरीसम्म प्रतीक्षा गर्न भनेका छन्

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

चेन्नई सुपर किंग्स कीर्तिमानी रूपमा १०औँ पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । १६औँ आइपिएलको पहिलो क्वालिफायरमा चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । भारतीय मिडियाले आइपिएलको फाइनलसँगै धोनीले सन्न्यास लिने समाचार सम्प्रेषण गरिरहेका छन् । चेन्नईलाई फाइनलमा पुर्याएपछि कप्तान धोनीले अझै आफू सन्न्यासका सम्बन्धमा आठ वा नौ महिना प्रतीक्षा गर्ने स्पष्ट पारेका छन् ।

‘अहिले नै सन्न्यास लिन सक्दिनँ, अझै मसँग आठदेखि नौ महिना बाँकी छ,’ पत्रकार सम्मेलनमा धोनीले भने, ‘नयाँ संस्करणको आइपिएल अक्सन डिसेम्बरमा हुँदै छ, त्यसवेलासम्म केही न केही निर्णय आउनेछ ।’ धोनीले अहिलेदेखि नै सन्न्यासका बारेमा सोच्दै टाउकोदुखाइ नबोक्ने बताए । ‘म किन अहिलेदेखि सन्न्यासबारे विचार गरी टाउको दुखाइराख्ने हो,’ उनले भने । धोनीले आफू संसारको जहाँ भए पनि चेन्नईकै पक्षमा रहने जनाएका छन् । यद्यपि, सन्न्यास लिए पनि चेन्नईसँगै आबद्ध हुने उनको योजना छ । 

‘अहिले वा पछि सन्न्यास लिए पनि म कुनै न कुनै भूमिकामा चेन्नईसँग आबद्ध भइरहनेछु,’ आइपिएल र चेन्नईसँग गहिरो नाता भएको जनाउँदै धोनीले भने, ‘जनवरीमा हेरौँ, के हुन्छ । सम्भवतः फेरि यही पहेँलो जर्सीमा देखिनेछु ।’धोनीले चेन्नईलाई आफ्नो कप्तानीमा चारपटक आइपिएल उपाधि दिलाएका छन् । उनले आइपिएलको फाइनल फरक नहुने बताए । ‘मैले कहिल्यै पनि आइपिएलको फाइनलमा तनाव लिइनँ,’ धोनीले भने, ‘आइपिएलमा हामी सर्वाधिक सफल टोली हौँ, हामीजति फाइनलमा अन्य टोली पुगेका छैनन् ।’

See More On

सुझावित समाचार