मकवानपुरकी दिना गोपाली र जिकेश सापकोटाले मंगलबार दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौँडास्थित पिप्ले रंगशालामा दुई सय मिटरको प्रतिस्पर्धामा स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन् ।
दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्डमा दौड पूरा गरेका हुन् । महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । यसै विधामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जितेका छन् । उनले दुई मिनेट ८ सेकेन्डमा दौड पूरा गरे ।
पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंह पहिलो भएका छन् । उनले १८ मिनेटमा ९ सेकेन्डमा सो दूरी पार गरे । यसै विधाको महिलामा सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा दौड पूरा गरिन् । महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए ।
पुरुष सटपुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याँक्दै स्वर्ण पदक जिते । महिलामा चितवनकी अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याँकिन् । यसैगरी, काठमाडौं तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ । काठमाडौंले सर्वाधिक आठ स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । तीन स्वर्ण, समान दुई रजत र कांस्यसाथ नुवाकोट दोस्रो भयो ।