सत्तारूढ कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन्।
सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ थियो।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए। मुलुकमा भ्रष्टाचार अब पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरूले टाउको ठड्याउन सक्ने पनि स्मरण गराए।
सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्नेसमेत औँल्याए।