साबिक उपविजेता नेपाल कठिन समूहमा

साफ च्याम्पियनसिपको साबिक उपविजेता नेपाल रहेको समूह ‘ए’मा कुवेत, भारत र पाकिस्तान

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको १४औँ संस्करणमा साबिक उपविजेता नेपाल कठिन समूहमा परेको छ । आयोजक अखिल भारतीय फुटबल महासंघले बुधबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालले आफ्नो समूहमा साबिक विजेता भारतसँगै कुवेत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । १४औँ संस्करण ६ देखि १८ असारसम्म भारतको बैंगलोरमा हुँदै छ । फिफा प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागी हुनेछैन । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले कुवेत र लेबनानलाई आमन्त्रण गरेको छ । 

समूह ‘ए’को तुलनामा समूह ‘बी’ तुलनात्मक रूपमा सहज देखिएको छ । लेबनानसँगै बंगलादेश, भुटान र माल्दिभ्स यस समूहमा छन् । आठ टोली सहभागी साफ च्याम्पियनसिपमा कुल १५ खेल हुनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फिफा वरीयतामा आयोजक भारतको वरीयता शीर्ष स्थानमा छ । भारत १०१, कुवेत १४३, नेपाल १७४ र पाकिस्तान १९५औँ स्थानमा छन् । 

नेपाल र भारत चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालको अन्तर्राष्ट्रिय फुटबल यात्रामा भारत अक्सर तगारो बन्ने गरेको छ । सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारतलाई हराएको थियो । जुमानु राई र अनिल गुरुङले गोल गरेपछि नेपालले दशरथ रंगशालामा भारतमाथि जित निकालेको थियो । त्यसपछि नेपालले भारतविरुद्ध जित निकाल्न सकेको छैन । ०७८ भदौमा दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । 

कुवेतसँग नौमध्ये आठ खेलमा पराजित 
नेपाली राष्ट्रिय फुटबल पुरुष टोलीको इतिहास कुवेतसँग राम्रो छैन । पछिल्ला ९ मध्ये आठ खेलमा कुवेतले नेपालविरुद्ध सानदार जित निकालेको थियो । नेपाल र कुवेतबीच एक खेल बराबर भएको छ । सन् २०२२ जुनमा भएको पछिल्लो भेटमा नेपाल ४–१ ले पराजित भएको हो । पाकिस्तानविरुद्ध नेपालको अवस्था राम्रो छ । नेपालले अधिकांश प्रतिस्पर्धामा पाकिस्तानलाई हराएको छ । नेपाल पछिल्ला ६ मध्ये पाँच खेलमा विजयी रह्यो । नेपाल र पाकिस्तानबीच ६ खेल बराबरीमा टुुंगिएको छ । अन्तिम भेटमा नेपालले पाकिस्तानविरुद्ध १–० को कठिन जित निकाल्यो । 

नेपालका पूर्वकप्तान हरि खड्काले समूह ‘ए’लाई कठिन मानेका छन् । उनी अघिल्लो चरण प्रवेशका लागि निकै प्रतिस्पर्धा हुने मान्छन् । ‘यसपटक कुवेत र लेबनानजस्ता टोली सहभागी भइरहेका छन्, समूह ‘ए’मा कुवेत र भारत छन्, त्यसैले यो समूह कठिन मानेको छु,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘प्रशिक्षकले रणनीति यसैअनुसार तयार पारेका होलान् । हामीलाई पछिल्लो साख जोगाउन मुस्किल पर्छ ।’ नेपालले पहिलो खेल कुेतविरुद्ध ६ असारमा खेल्दै प्रतियोगिता सुरु गर्नेछ । 

लिगले प्रशिक्षण प्रभावित 
सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेका कारण राष्ट्रिय टोलीको प्रशिक्षण प्रभावित भएको छ । साफ च्याम्पियनसिप नजिकिँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष डिभिजन लिग स्थगित नगर्ने भएको छ । लिग रोकिँदा आर्थिक भार बढ्ने जनाउँदै सहभागी क्लबहरूले एन्फालाई प्रतियोगिता यथावत् राख्न दबाब दिएका छन् । यसैकारण एन्फाले लिगलाई जारी राख्ने भएको छ । लिग २७ जेठमा सकिनेछ । लिग सकेको लगभग डेढ सातापछि भारतमा साफ च्याम्पियनसिप सुरु हुनेछ । 

प्रशिक्षक भिसेन्जो अल्बेर्टाे एनेसले नेपाली टोलीसँग राम्रोसँग घुलमेल हुन अवसर पाएका छैनन् । साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपालले फिलिपिन्ससँग ३२ जेठमा मैत्रीपूर्ण खेल खेल्नेछ । ‘नियमित सहिद स्मारक लिग हुँदा प्रशिक्षण प्रभावित भएको छ,’ खड्काले भने, ‘हामीले लिग रोकेर तयारी गर्नुपर्ने थियो । सम्भवतः राम्रो तयारीविना हामी प्रतिस्पर्धा गर्दै छौँ ।’ लिग चलिरहँदा प्रशिक्षक भिसेन्जोले रणनीति बनाउन नपाएको पूर्वकप्तान खड्काले बताए । ‘छोटो समयको तयारीले समस्या हुन्छ,’ समस्याबारे खड्का भन्छन् । 

साख जोगाउन मुस्किल
दुई वर्षअघि माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो । एकपक्षीय फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । पाँच टोली सहभागी प्रतियोगितामा भारत शीर्ष स्थान र नेपाल उपविजेता हुँदै फाइनलमा स्थान बनाएका थिए । साफ च्याम्पियनसिपको १३औँ संस्करण आयोजना हुँदा नेपाल फाइनलमा पुगेको यो नै पहिलोपटक हो । यसपटक कुवेत र लेबनानजस्ता टोली सहभागी हुँदा नेपाललाई साबिक उपविजेताको साख जोगाउन मुस्किल पर्ने वर्तमान राष्ट्रिय टोलीका एक खेलाडी बताउँछन् । ‘कुवेत र लेबनानले कुन टोली पठाउँछन्, त्यो पक्का भएको छैन । तर, वरीयता र विगत हेर्दा उनीहरू बलिया छन्,’ ती खेलाडीले भने, ‘हामीलाई साख जोगाउन समस्या छ ।’ 

फिलिपिन्ससँग मैत्रीपूर्ण खेल
एन्फाले साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण खेल आयोजना गर्दै छ । नेपालले फिलिपिन्ससँग ३२ जेठमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा वरीयतामा फिलिपिन्स एक सय ३३औँ स्थानमा छ । ‘लिगकै कारण प्रशिक्षण प्रभावित हुँदा प्रशिक्षक भिसेन्जोका लागि यो राम्रो अवसर हुन सक्छ, उनले यसै खेलमार्फत रणनीति तयार पनि गर्न सक्छन्,’ खड्काले भने, ‘साफ च्याम्पियनसिपका लागि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल पर्याप्त छैन ।’ नेपालले फिलिपिन्ससँग ६ खेलमध्ये चार खेलमा हार बेहोरेको छ । एक खेल जित्दा नेपालले एक खेल बराबरी नतिजा निकालेको छ ।  

उपविजेताका ११ खेलाडी विदेश पलायन 
माल्दिभ्समा नेपाललाई उपविजेता बनाउँदाका ११ खेलाडी यसपटक टोलीमा हुनेछैनन् । तत्कालीन प्रशिक्षक अल्मुताइरीको टोलीसँगै रहेका ११ अनुभवी खेलाडी विदेश पलायन भएका छन् । रक्षकहरू सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, विशाल राई, आशिष लामा, सन्तोष तामाङ, नितिन थापा र सुनील बल हाल अस्ट्रेलियामा छन् । 

सुझावित समाचार