पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत चयन

बुधबार, ३ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन्। 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानबमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन्।

नेपालको पर्यटन क्षेत्रमा एक दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा दुईपटक निर्वाचित भइसकेका छन्। यसअघि महासंघको एनआरएन तथा द्विराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैरआवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम् भूमिका निर्वाह गरेका बस्नेतको नियुक्तिसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको छ। 

साथै, उनको कार्यकालमा आगामी दिनमा थप अन्य मुलुकसँग सीधा हवाई उडान गरी विदेशी पर्यटक भित्र्याउनसमेत सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन्।

प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

नेपालमा स्टारस्तरका होटेल तथा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रवर्द्धनका लागि होटेलका विभिन्न विश्वप्रशिद्ध ब्रान्ड भित्र्याएका छन्। बस्नेतले काठमाडौं र इटहरीमा एकैपटक सञ्चालनमा ल्याउने गरी दुईवटा पाँचतारे होटेलको निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छन्। 

यस्तै, उनले पर्यटकीय एवं धार्मिकस्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँचतारेस्तरकै सरोवर प्रिमियम ब्रान्डमा सरोबर होटल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन्।

पेसाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्यदूत हुन्। साथै, उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन्। 

एबी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटेल पर्यटन, उत्पादन, स्वास्थ्य, रियलस्टेट र पोर्टफोलियोअन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन्।

सुझावित समाचार