प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताएका छन्।
सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसद्लाई अझै जानकारी नगराएकोमा उनको आक्रोश थियो। सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसद्को कामकारबाहीलाई रोकेर भए पनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न माग गरे।
अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसद्लाई जानकारी नगराएको भनी सरकारलाई उनले पटकपटक प्रश्न गरे।
‘म माननीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु। र, भन्न चाहन्छु– यस्तो अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ, यति प्रगति भएको छ, हामी यो गर्दै छौँ भनेर भन्न के कारणले समस्या भइरहेको छ ? आज देशव्यापी रूपमा यो भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ। अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ। संसद् चलिराखेको छ। सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आजटाल गरिरहेको छ,’ उनले भने।