पुटिनलाई ‘भिक्टोरी डे’को सन्देश

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

सोभियत संघका लागि भिक्टोरी डे (विजय दिवस) महत्वपूर्ण उत्सवमध्ये एक रहिआएको छ । मस्कोले पश्चिमले भन्दा एक दिनपछि अर्थात् सन् १९४५ को ९ मेमा नाजी जर्मनीको पराजयको उत्सव मनाउने निर्णय गर्यो, किनभने बर्लिनमा आत्मसमर्पणको सम्झौतामा हस्ताक्षर हुँदै गर्दा समयले सोभियत रुसको राजधानी मस्कोमा मध्यरात काटिसकेको थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि भिक्टोरी डे रुस अजेय र न्यायप्रेमी छ भन्ने विश्वास दिलाउँदै २३ वर्षदेखि सत्तामा टिकिरहने आधार पनि हो । तर, यो वर्षको भिक्टोरी डेले पुटिनको समूहले कसरी आफ्नो पराजयको जग बसालेको छ भन्ने उजागर गरेको छ । यसका दुई कारण छन् ।

पहिलो, रुसी राष्ट्रपतिले युक्रेनमाथिको युद्धलाई भिक्टोरी डेको सम्मानमा समर्पित न्यायोचित लडाइँको निरन्तरताको रूपमा प्रस्तुत गरे, तर यो भ्रम कायम राख्न असफल भए । दोस्रो, उनको अन्यायपूर्ण र रक्तपातपूर्ण युद्धको असफलताले युक्रेन र अन्य पूर्वी युरोपेली देशलाई दोस्रो विश्वयुद्धको विजय कथाको भाष्यमाथि पुनः दाबी गर्न अनुमति दिएको छ । पुटिनको प्रोपोगान्डा र उनको शासनको वैधताका लागि भिक्टोरी डेको फन्डा कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाई कम आँक्न सकिँदैन । बितेका २० वर्षमा भिक्टोरी डेको परेड प्रत्येक वर्ष थप भव्यताका साथ सम्पन्न हुँदै आएका थिए । 

पुटिनले भिक्टोरी डेको परेडमा ठूलो परिमाणमा सैन्य उपकरणहरूको प्रदर्शनसहितका थुप्रै सोभियत परम्परा पुनः समाविष्ट गरे । उनले दोस्रो विश्वयुद्ध लडेका पुर्खाका तस्बिर लिएर नागरिकहरू सामूहिक जुलुसमा सामेल हुने तथाकथित ‘अमर रेजिमेन्ट’ मार्चको अनुसरण गरे । सन् २०१४ पछि भने क्रेमलिनले युक्रेनलाई नाजी शासनको उत्तराधिकारीको रूपमा चित्रण गर्ने प्रोपोगान्डासँग यो जनभावनालाई मिसाउन थाल्यो । मस्कोको भिक्ट्री म्युजियमले पनि महान् देशभक्तिपूर्ण युद्ध अर्थात् द्वितीय विश्वयुद्धको कथालाई युक्रेनको द्वन्द्वसँग गाँसेको छ ।

निःसन्देह रुसमा यो भाष्यबाट ओतप्रोत व्यक्ति छन्, तर गत वर्षको परिघटनाले यसलाई गम्भीर रूपमा कमजोर पारेको छ । पछिल्लो एक वर्षमा देश छाडेर भागेका रुसीहरूको संख्यालाई हेर्दा यो प्रस्ट हुन्छ । तिनको संख्या ५–१० लाखको बीचमा छ । क्रेमलिनले भनेझैँ ‘विशेष सैन्य अभियान’का लागि रुसी जनतामा उत्साह नदेखिँदा पुटिन भाडाका सैनिकमाथि भर पर्न बाध्य भएका छन् ।

पुटिनले दुइटा युद्ध हार्दै छन्, एउटा युक्रेनमा र अर्काे ‘द्वितीय विश्वयुद्ध’को भाष्यमा

रुसको अहिलेको सबैभन्दा महत्वपूर्ण युद्ध नै ‘पुटिनका भान्छे’ भनेर चिनिने यवगेनी प्रिगोजिनको निजी सैन्य कम्पनी वाग्नरमा भर्ती भएकाहरूले लडिरहेका छन्, जुन डोनेट्स्कको एक सानो सहर बखमुतमा विगत ६ महिनायता जारी छ । हालैका दिनमा प्रिगोजिनले रक्षा मन्त्रालयसँगको आफ्नो विवाद सार्वजनिक गर्दै आफ्ना सेनालाई पर्याप्त सैन्य सामग्री उपलब्ध नगराए उक्त लडाइँबाट पछि हट्ने धम्की दिन थालेका छन् । प्रिगोजिन र रुसी सेनापति दुवैले पुटिनलाई यो विजय दिवसमा उपहार दिन बखमुत वा अन्यत्र कतै पनि ठूलो विजय हासिल गरेनन् । बरु, उनीहरूको झगडा सार्वजनिक भयो । 

अझ खराब त के भने रुसले आफ्नो भूभाग नै सुरक्षित गर्न नसकेको देखिन्छ । कम्तीमा ६ वटा रुसी क्षेत्रले युक्रेनी आक्रमणको निसाना बन्न सक्ने चेतावनी दिँदै भिक्टोरी डेको परेडलाई रद्द गरे । मस्कोको अमर रेजिमेन्ट मार्चसमेत स्थगित गरियो । पूर्ण युद्धको सुरुवातमा क्रेमलिनले किभलाई तीन दिनभित्र कब्जामा लिने दाबी गरेको थियो । तर, आज ४४० दिन बितिसक्दा पनि रुसी सेना र उसका भाडाका सैनिक बखमुतमा समेत विजयको नजिक पुगेका छैनन् ।

यद्यपि पुटिनले आफ्नो रणनीतिमा पुनर्विचार गर्ने कुनै संकेत देखाएका छैनन् । उनको शासनको वैधता युक्रेनको द्वन्द्वमा निर्भर हुन पुगेको छ । उनी अझै किभलाई सहयोग गर्दा गर्दा पश्चिमाहरू थाक्ने विश्वासमा छन् । तर, युक्रेनको युद्धले पुटिनको वैधानिकतालाई क्षय गरिरहँदाको यो प्रतीक्षाको खेलले पुटिनलाई नै जोखिम सिर्जना गर्दै छ । 

यो क्षेत्रमा भिक्टोरी डेकाबारेमा एक नयाँ भाष्य उत्पन्न भइरहेको छ, जुन वास्तवमा फासीवादी आक्रमणको प्रतिरोध गर्ने उसको मूल भावनामा समाहित छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भिक्टोरी डेको पूर्वसन्ध्यामा मे ८ मा नाजीवादमाथिको विजयको यो उत्सव युक्रेनले अन्य युरोपेली मुलुकसँगै मनाउन र मे ९ मा युरोप दिवस मनाउन प्रस्ताव गरे ।

दोस्रो विश्वयुद्धमा रुसको तुलनामा युक्रेनी धेरै मारिएका थिए । त्यसैले पनि पुटिनको आक्रमणको प्रतिरोध गरिरहँदा फासीवादविरुद्धको लडाइँको विरासतमा दाबी गर्ने अधिकार आज किभसँग बढी छ । पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया र बुल्गेरियाले पनि मे ९ मा भिक्टोरी डे मनाउन छोडेका छन् । यसको सट्टा मे ८ मा इयूका मित्रहरूसँगै मनाए । उनीहरूले पनि युद्धबारेको सोभियत भाष्यलाई पुनर्जीवित गर्ने क्रेमलिनको प्रयासलाई चुनौती दिइरहेका छन् । यो पुटिनको प्रोपोगान्डालाई मात्र होइन, वैधताको उनको दाबीलाई पनि प्रत्यक्ष चुनौती दिने एउटा महत्वपूर्ण प्रक्रिया हो ।

एउटा पूर्ण युद्धको नेतृत्व गरिरहेका पुटिन पश्चिमाहरूले युक्रेनलाई ‘रुसविरोधी’मा परिणत गरेको र पश्चिमको सहयोगमा युक्रेनी सेनाले रुसी भाषा, संस्कृति र इतिहासलाई उन्मूलन गर्न खोजेको आरोप लगाउँदै छन् । निःसन्देह, जातीय सफायाको उनको दाबी झुटो साबित हुनेछ । रुसीभाषी युक्रेनीहरूले रुसी सैनिकलाई गरेको शत्रुतापूर्ण स्वागतले यो मिथकलाई भत्काउँछ । तर, पुटिन एउटा कुरामा भने सही छन्– युक्रेन रुसविरोधी विशेषगरी पुटिनविरोधीमा परिणत भइरहेको छ । युक्रेनमा युद्धको सुरुवात गरेर र रुसी जीवनको पर्वाह नगरी घातक लडाइँ जारी राखेर पुटिनले आफ्नो पतनको आधार तयार पारेका छन् । भावी भिक्टोरी डेहरूमा नाजी जर्मनी र पुटिनको रुस दुवैको पराजयको उत्सव मनाउनेछ ।

(हेस फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका फेलो हुन्) अलजजिराबाट

सुझावित समाचार