जनमत पार्टीका अध्यक्ष एवं सांसद चन्द्रकान्त राउतले कुनै पनि नागरिक भोका–नांगा नरहुन् भन्ने विषय बजेटको प्राथमिकतामा रहनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा सहभागी हुँदै उनले आर्थिक संकटको समयमा भौतिक संरचना निर्माणभन्दा नागरिकको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।
‘म आफ्नौ गाउँमा जाँदा त्यहाँको एउटा गरिब किसानलाई मैले तपाईंलाई सडक, बाटोघाटो विकास चाहिँदैन भनेर सोधेँ। उहाँले के भन्नुभयो भने– मेरा बच्चाका पेटमा दुई गाँस अन्न गयो भने छातीसम्मै हिलोमा हिँडेर पनि जान सक्छन्,’ उनले भने, ‘सडक बनुन्–नबनुन् त्यो पछि बनाऔँला। कतै पनि नागरिक भोको–नांगो नरहुन्। स्वास्थ्य सेवाबाट वञ्चित नरहुन्। सामाजिक सुरक्षा नपाएर नागरिक रुने अवस्था नबनोस्।’