नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रधानले कम्पनीको अध्यक्ष रहँदै नियमविपरीत सेयर कारोबार गरेको पुष्टि भएपछि बोर्डले सोमबार मुद्दा दायर गरेको हो ।
कम्पनीको अध्यक्षबाट हटेको एक वर्षसम्म कम्पनीको सेयर बिक्री गर्न नपाइने व्यवस्था छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरीत कारोबार गरेको ठहर गर्दै प्रधानविरुद्ध मुद्दा दर्ता गरिएको बोर्डले जनाएको छ । प्रधानले आफ्नो सेयर बिक्री नगरे पनि परिवारको सहयोगमा सेयर बिक्री गरेको देखिएकाले मुद्दा दायर गरिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
प्रधानले ०७८ भदौ १३ गते सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । तर, उनले सञ्चालक समितिको अध्यक्ष हुँदै ०७७ सालमै छोरा, श्रीमतीमार्फत सेयर बिक्री गरेका थिए ।