बजेटका सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध : डा. वाग्ले

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

अर्थविद् एवं रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकतालाई यथास्थितिवादी निबन्धको संज्ञा दिएका छन्। बजेटका सिद्धान्त र प्राथमिकतामा पर्नुपर्ने धेरै विषय परे पनि त्यसमा आफूले ‘सेन्स अफ अर्जेन्सी’ नदेखेको उनको टिप्पणी छ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘धेरै पर्नुपर्ने विषय परेका छन्। केही छुटाउन नहुने मुद्दाहरू छुटेका छैनन्। भन्दिनुपर्ने, सुनाइदिनुपर्ने पनि ल्याइएको नै छ। अर्थमन्त्री भन्नुहुन्छ– आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, जलवायु परिवर्तनको असर न्यूनीकरण गरिदिन्छु, संघीयताको सबलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको मनोबल उकास्छु। तैपनि किन खल्लो छ माहोल ? किन हामी एउटा उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेकोजस्तो अनुभूति भइरहेको छ। मलाई लाग्छ यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटिरहेका छैनौँ। त्यो सेन्स अफ अर्जेन्सी मैले देखिरहेको छैन।’  

डा. वाग्लेले आइतबारसम्म सात सय ३३ अर्बको राजस्व उठ्दा एक हजार १६ अर्ब खर्च भएको उल्लेख गर्दै यो खाडल पुर्ने विषय बजेटका प्राथमिकतामा पर्नुपर्ने आशय व्यक्त गरे। ‘यस्तो समयमा हामीले आर्थिक वृद्धि र स्थिरताका कुरा गरिरहेका छौँ, जतिवेला अर्थतन्त्रले लय गुमाएको छ। आठ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण भएको देशमा आज दुई प्रतिशतभन्दा कममा हामी रुमल्लिरहेका छौँ,’ उनले भने।

विश्व प्रविधिमा ठूलो छलाङ भइसक्दा पनि ‘डिजिटल अर्थतन्त्र’को कुरा गर्ने नेपालमा भने वेबसाइटमा भएको फारम डाउनलोड गर्नुलाई नै प्रविधिमैत्री माानिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सुझावित समाचार