नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उनको जन्मभूमिमा सम्मान गरिएको छ । बाग्लुङ नगरपालिका वडा नं १२, अमलाचौरमा शनिबार उनलाई स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् ।
महासंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक जन्मगाउँ पुगेका ढकाललाई स्थानीयले बजागाजासहित स्वागत तथा सम्मान गरेका हुन् । वडा कार्यालयको आयोजनामा आयोजित स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीयहरू उपस्थित थिए ।
उनलाई गण्डकी प्रदेश सभाका सदस्य कृष्ण पाठक, वडा नं १२ का वडाअध्यक्ष कोपिलामणि शर्मा, सो वडाका पूर्वअध्यक्ष गुरुदत्त पाठकलगायतका विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले दोसल्ला, खादा तथा फूलमालाले सम्मान गरेका हुन् । कार्यक्रममा महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा ढकालले आफूलाई नेपाल उद्योग वाणिज्य महासंघजस्तो यो देशका समग्र उद्योगी–व्यवसायीको छाता संस्थाको अध्यक्ष बन्ने प्रेरणा दिने आफ्नो जन्मस्थलको माटोको भार कहिल्यै नबिर्सिने बताए । उनले आफू विश्वको जुनसुकै कुनामा पुगे पनि सदैव अमलाचौरकै माटोको माया लाग्ने बताउँदै यो माटोका लागि आफूले आफ्नो जीवनमा सकेको कर्म गर्ने प्रण गरे ।
सो सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले चन्द्रप्रसाद ढकाल अमलाचौरको मात्र नभएर देशकै एक राष्ट्रिय एवं सफल व्यक्तित्व रहेको चर्चा गर्दै यस्ता व्यक्तित्वलाई आफ्नो जन्मस्थलमा पाउनु अमलाचौरवासीकै अहोभाग्य भएको बताए । बाग्लुङ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष कोपिलामणि शर्मा र पूर्वअध्यक्ष गुरुदत्त पाठकले अमलाचौरको पहिचानलाई देश तथा विदेशमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष ढकाललाई धन्यवाद दिए ।
सफल उद्यमी ढकाल बाग्लुङको अमलाचौरमा जन्मिएका हुन् । सोही ठाउँको पृथ्वी हिरण्य माध्यमिक विद्यायमा प्रारम्भिक अध्ययन गरेका ढकालले उक्त विद्यालयमा ६ करोडभन्दा बढी निजी खर्चमा विद्यालय भवनलगायतका संरचना निर्माण गरेका छन् ।