‘जनयुद्धमा धादिङ’ पुस्तक लोकार्पण गरिएको छ। २०५२ देखि २०६२ सालसम्म भएको १० वर्षे जनयुद्धसम्बन्धी दस्ताबेजहरू पुस्तकमा उतारिएको छ।
पुस्तक लोकार्पण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस्तकले १० वर्षे जनयुद्धको इतिहास दस्ताबेजीकरण गरेको बताए। ‘जनयुद्धमा धादिङ’ हेर्दा एउटा पुस्तक हो,’ उनले भने, ‘पुस्तकमा त्यति बेलाका घटनाक्रम छन्। यो सामान्य कुरा होइन, यो एउटा इतिहास हो।’
पुस्तकले १० वर्षे जनयुद्ध, शान्ति सुरक्षा तथा वार्ता र त्यति बेला भोगेका भोगाइको स्मरण गराएको धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले बताए। ‘पुस्तकले १० वर्षे जनयुद्धको इतिहास बोकेको छ,’ उनले भने, ‘त्यो इतिहासलाई यसले जीवित राख्नेछ।’
कार्यक्रममा प्रकाशक तथा एनएस मिडियाका प्रधानसम्पादक नारायण सिलवालले ‘जनयुद्धमा धादिङ’ पुस्तक प्रकाशन गरेर जनयुद्धको अवधिमा धादिङमा भएका महत्वपूर्ण अभिलेख सुरक्षित गर्ने कामको सुरुवात भएको बताए। बेपत्ता, घाइते अपांगता भएकाहरू, विस्थापितहरूको तथ्यांक संकलनमा सक्दो प्रयास गरे पनि केही त्रुटि र छुट भने हुन सक्ने उनको भनाइ थियो।
पुस्तकमा सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता पारिएका व्यक्तिहरूको विवरणसहित संस्मरण र ऐतिहासिक तस्बिरहरू पनि समावेश गरिएका छन्। लोकार्पण समारोहमा पुस्तक प्रकाशन गर्न सहयोग गर्नेहरूलाई सम्मान गरिएको छ। ‘जनयुद्धमा धादिङ’मा समावेश हुन छुटेका संस्मरणहरू अन्य पुस्तकमा समावेश गरिने प्रकाशक सिलवालले बताए।