३३ वर्षपछि नेपोली लिग च्याम्पियन

शनिबार, २३ बैशाख, २०८०
डिजिटल संस्करण

उडिनेसलाई १–१ को बराबरीमा रोकेपछि नेपोलीले ३३ वर्षपछि सिरिए लिगको उपाधि उचाल्यो । तीन दशकपछि च्याम्पियन बनेको नेपोलीका समर्थकले रातभरि खुसी मनाए ।

नेपोली सहरका मुख्य सडकहरू हजाराैँ मानिसले भरिएका थिए । कोही नाच्दै वा डान्स गरिरहेका देखिन्थे भने कोही अंकमाल गर्दै खुसी साटासाट गरिरहेका थिए । स–साना बालकहरू सडकमै फुटबल खेलिरहँदा प्रहरीले समेत उनीहरूलाई रोकेनन् । हल्का मात्तिएका मानिस नेपोली सहरको आकर्षक मानिएको फाउटेनमाथि चढेर ‘यो जित र उपाधि कसको ?’ भनी चिच्याउँदै बसे । बिहीबार राति नेपोली सहरका भित्ता क्लबका झन्डाले ढाकिएका थिए । आखिर यो किन ? नेपोली फुटबल क्लबका समर्थकले किन यस्तो हर्षोल्लासका साथ खुसी मनाए ? यसको सहज उत्तर छ । इटालियन सिरिए लिगको उपाधिमाथि नेपोलीले ठ्याक्कै ३३ वर्षपछि उचाल्यो । 

तीन दशक अवधिपछि सिरिए च्याम्पियन बनेपछि नेपोलीका समर्थकले आफूलाई रोक्न सकेनन् । बालकदेखि वृद्धसम्म सडकमै ओर्लेर च्याम्पियन समर्थकका रूपमा खुसी मनाएका हुन् । उडिनेसलाई १–१ को बराबरीमा रोकेपछि नेपोली ३३ वर्षपछि सिरिए च्याम्पियन बन्यो । नेपोलीले दोस्रो स्थानमा रहेको लाजिओमाथि स्पष्ट १६ अंकको अग्रता लिएपछि च्याम्पियन बनेको हो । नेपोलीले ३३ खेलबाट ८० अंक बटुल्यो । लाजियो ६४ अंकका साथ दोस्रो स्थानमा छ । अब बाँकी खेलमा नेपोली पराजित भए पनि उपाधि कसैले पनि जित्न सक्दैनन् । यस सिजको उपाधि नेपोलीले पक्का गरेको छ । 

१६ अंकको अग्रता लिएलगत्तै नेपोलीका हजारौँ समर्थक सडकमा ओर्लिएर खुसीयाली मनाएका हुन् । ‘हाम्रो एउटै सपना थियो, नेपोलीका समर्थकको नाताले लिग च्याम्पियन हुनु नै सपना थियो,’ नेपोलीका एक समर्थकले भने, ‘सहर परिक्रमा गरी च्याम्पियन खेलाडीसँग घुम्ने योजना आज पूरा भएको छ । अझ भनौँ, तीन दशकपछि हामीले हाम्रो सपना हात पार्‍यौँ ।’ 

नेपोलीका समर्थकमध्ये एडोरार्डोले नयाँ पुस्ताले इतिहास हाँक्ने बताए । ‘यद्यपि, म सानै छु, तर नेपोलीलाई समर्थन गर्छु,’ उनले भने, ‘यो क्षणबारे टिप्पणी गर्न सक्दिनँ, नेपोली समर्थकका लागि बिहीबार राति ऐतिहासिक दिन थियो ।’ नेपोलीले अन्तिमपटक डिएगो म्याराडोना आबद्ध हुँदा सिरिए लिग जितेको थियो । अर्जेन्टिनी प्ले मेकर म्याराडोनाले कप्तानीमा नेपोलीलाई सिरिए च्याम्पियन बनाएका थिए । त्यसयता नेपोलीले उपाधि जित्न सकेन । 

‘नीलो र सेतो रङका झन्डा सडकदेखि घरका छतमा देखिन्छन्, यद्यपि नेपोलीका स–साना गल्लीका भित्ताभरि नै ‘हामी नेपोली च्याम्पियन’ लेखिएका शब्दले भरिएका छन्,’ एडोरार्डोले भने, ‘यो हेर्दा संसार नै आफ्नो पछाडि लागेको जस्तो देखियो ।’ यसैगरी, विश्वविद्यालयमा अध्ययनरत अनिता बुफीले रोमाबाट जितको खुसी मनाउन नेपोली पुगिन् । उनी भन्छिन्, ‘एक महिनाअघि खुसी मनाउने तयारीमा थिएँ, हजारौँ समर्थकबीच सम्मिलित हुन पाउँदा गर्व लागेको छ, साँच्ची नै फुटबलले एक किसिमको आनन्द दिने रहेछ ।’ 

उपाधि म्याराडोनाप्रति समर्पित
म्याराडोना कीर्तिमानी रकममा नेपोलीसँग आबद्ध भएका थिए । त्यसवेला नेपोली सिरिए लिगमा त्यति बलियो क्लब थिएन । म्याराडोना के आए, नेपोलीले रातारात उत्कृष्ट फुटबल खेल्यो । म्याराडोनाको कप्तानीमा नेपोलीलाई कसैले छुन सकेनन् । म्याराडोनाले नेपोलीलाई दोस्रोपटक च्याम्पियन बनाएका थिए । यद्यपि, च्याम्पियन हुन क्लबका सबै खेलाडीले उत्तिकै योगदान गरे । म्याराडोनाले नेपोली छाडेपछि क्लब धराशायी नै बन्यो । सन् २००४ मा नेपोलीको व्यवस्थापन परिवर्तन भयो । त्यसपछि नेपोलीले बिस्तारै सिरिए लिगमा आफ्नो दबदबा कायम राखेको हो । 

यसबीचमा उपाधिनजिक हुँदा पनि क्लबले ट्रफी चुम्न सकेन । ‘अर्जेन्टिनी महान् खेलाडीको योगदान आज पनि कसैले बिर्सन सकेका छैनन्, विश्वमा नेपोलीलाई चिनाउने श्रेय म्याराडोनालाई जान्छ,’ जोउकीले भने, ‘यसै कारण आज क्लब च्याम्पियन हुँदा म्याराडोनाकै तस्बिर समर्थकले बोकेका हुन् ।’ वर्तमान नेपोलीका खेलाडी आफ्ना प्रतिद्वन्द्वीविरुद्ध बदलाको भावनामा प्रतिस्पर्धा गरेको उनको भनाइ छ । ‘यो जितका पछाडि धेरै कथा छन्, खेलाडीले प्रत्येक खेलमा बदलाको भावनाका साथ खेले,’ जोउकीले भने, ‘उपाधि जितेपछि उत्तरी क्लबले फुटबलमा केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।’ समर्थकले ३३ वर्षअघिको जस्तै खुसी मनाएको उनको बुझाइ छ । ‘समर्थकले भित्री हृदयदेखि नै तीन दशकको प्यास मेटाएका छन्, यतिवेला म पनि भावुक छु, यसको बयान गर्न सक्दिनँ,’ जोउकीले भने । 

See More On

सुझावित समाचार