नेपाल लाइफको स्थापना दिवसमा सातै प्रदेशमा रक्तदान

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसर पारेर देशका सातै प्रदेशमा रक्तदान गरेको छ । कम्पनीले देशभर गरेको रक्तदानमा कुल तीन सय १० पिन्ट रक्तदान भएको हो । 

कम्पनीले कोसी प्रदेशको बिर्तामोडमा ५६, मधेस प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१ पिन्ट रक्तदान भएको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल तीन सय १० पिन्ट रगत संकलन गरिएको कम्पनीको भनाइ छ । 

स्थापना दिवसको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीका बिमा अभिकर्ताहरू, सञ्चालक पदाधिकारीहरू, आरोहअवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सेयरधनी, नेपाल बिमा प्राधिकरणलगायतको साथ र सहयोगले अघि बढ्दै गएको बताए । २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीका रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरू धन्यवादका पात्र भएको उनको भनाइ थियो । 

आउँदा दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उनले बताए ।  ‘किनकि जीवन अमूल्य छ,’ भन्ने मूल नाराका साथ कम्पनीले नेपालीको घरदैलोमा जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको जनाइएको छ । कम्पनीले ०८० चैत मसान्तसम्ममा एक खर्ब ६२ अर्ब रुपैयाँ लगानी गरेको जनाइएको छ । त्यस्तै, जीवन बिमाकोष करिब एक खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख छ । कम्पनीले देशभरमा एक सय ९२ कार्यालयमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ । 
 

सुझावित समाचार