अमेरिकाको मास मिडिया एन्ड इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नीले दोस्रो चरणमा कर्मचारी कटौती गर्न सुरु गरेको छ । यो चरणमा कम्पनीले करिब चार हजार कर्मचारीलाई जागिरबाट सधैँका लागि छुट्टी दिनेछ ।
यसै वर्षको सुरुवातमा कम्पनीले सात हजार कर्मचारीलाई निष्कासन गरेको थियो । कम्पनीका अनुसार डिज्नी इन्टरटेनमेन्ट, डिज्नी पार्क, एक्सपिरियन्स र प्रोडक्टसहित भिन्दाभिन्दै विभागका कर्मचारीलाई निष्कासन गरिने भएको हो । पहिलो चरणमा मेटाभर्स स्ट्राटेजी युनिट र बेइजिङ अफिसका कर्मचारी प्रभावित भएका थिए । डिज्नी इन्टरटेनमेन्टका उपाध्यक्ष एलन बर्गमेन र डाना वाल्डेनले उच्च नेतृत्वले कम्पनीलाई थप उत्कृष्ट बनाउन लागेको र कम्पनी छिटोभन्दा पनि राम्ररी चलोस् भन्ने उद्देश्य रहेको बताएका छन् ।
कर्मचारीको पुनर्गठन : कम्पनीले दोस्रो चरणको काँटछाँटपछि कर्मचारीको समूहलाई फरक युनिटमा काम गर्न पुनर्गठनसमेत गर्नेछ । यो प्रक्रिया आगामी केही महिनासम्म चल्ने बताइएको छ ।
अक्टोबरमा दुई लाख कर्मचारी : सन् २०२२ को अक्टोबर १ सम्म डिज्नीको कुल वैश्विक श्रमशक्तिमा दुई लाख २० हजारभन्दा बढी कर्मचारी आबद्ध थिए । यीमध्ये डेढ लाख अमेरिकामा मात्रै थिए ।