अर्थतन्त्रका चुनौतीविरुद्ध लड्न निजी क्षेत्र र सरकारको सहकार्य

उद्योग मन्त्रालय, सिबिफिन तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा नेपाल बिजनेस समिट हुने

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

अर्थतन्त्रमा बढ्दै गएका चुनौतीको सामना गर्ने उद्देश्यसहित सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी–व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रको मनोबल बढाउन शिखर सम्मेलन आयोजना गर्न लागिएको हो । 

सम्मेलन संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुने जनाइएको छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता र विशेष सम्बोधन रहने आयोजकले जनाएका छन् । शिखर सम्मेलनबारे जानकारी दिँदै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरू समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गरेको बताए ।

पछिल्लो वित्तीय चुनौतीले उद्योगी–व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दूरी बढ्दै जाने सम्भावना रहेको उनको भनाइ थियो । यसका लागि कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने काममा नयाँ सम्भावना खोज्ने विश्वास व्यक्त गरे । उद्यमी–व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भिœयाउने, निर्यात प्रवद्र्धन गर्ने र सोका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको उनको भनाइ थियो । 

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता र व्यावसायिक प्रवद्र्धनका लागि बिजनेस समिट आयोजना गरेको बताए । सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रबीचको यो शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणापत्र सरकारको नीति, कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे । 

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने आयोजकको अपेक्षा छ । त्यस्तै, युवा तथा महिलाहरू उद्यम–व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रवर्तन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा  वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

यसका साथै, तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षासमेत राखिएको आयोजकको भनाइ छ । शिखर सम्मेलनमा देशभरका उद्यमी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि गरी चार सयभन्दा बढी संख्यामा सहभागिता रहने आयोजकले जनाएका छन् । सिबिफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीले अर्थतन्त्रमा अहिले देखिएको चुनौतीलाई सामना गर्न विशेष सुझावसहितको अवधारणापत्र तयार गरिने बताए । 

सम्मेलन आयोजनाका लागि टाइटल स्पोन्सर वर्ल्ड लिंक कम्युनिकेसनको रहेको जनाइएको छ । त्यस्तै, आइएफसी, वल्र्ड बैंक, डब्लुडब्लुएफ, नबिल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, दराज नेपाल, नेपाल एयरलाइन्स, राष्ट्रिय वाणिज्य बैंक, नमस्ते पे, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलगायतले साझेदारी गरेको उल्लेख छ ।  

 यी हुनेछन् सम्मेलनका वक्ता
सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आइएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, उद्यमी तथा प्रतिनिधिसभाका सदस्य विनोदकुमार चौधरी,  अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

त्यस्तै, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसिसिआईका पूर्वअध्यक्ष भवानी राणा, सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी, वल्र्ड लिंकका अध्यक्ष दिलीप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्ध निर्देशक जोसेफ अल्भान, दराज नेपालका प्रबन्ध सञ्चाल आँचल कुँवरलगायत विभिन्न देशका राजदूत, अर्थशास्त्री, उद्यमी–व्यवसायीहरू, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूले सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ । 

सुझावित समाचार