दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले गर्‍यो अमेरिकाको चौधौँ ठूलो फस्र्ट रिपब्लिक बैंक टाट पल्टिएको घोषणा

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

अमेरिकाको चौधौँ ठूलो बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको दुई महिना नबित्दै अर्को ठूलो बैंकसमेत टाट पल्टिएको हो । फस्ट रिपब्लिक बैंक टाट पल्टिएको
घोषणा भएपछि विश्वव्यापी रूपमा तरंग फैलिएको छ । 

व्यवस्थापन बिग्रँदै जाँदा बैंक बचाउने अनेकौँ प्रयास विफल बनेपछि संकटग्रस्त बैंकलाई जेपी मोर्गन चेस एन्ड कम्पनीले अधिग्रहण गरेको छ । मोर्गनले बैंकको १७३ अर्ब डलर ऋणको पोर्टफोलियो, ३० अर्ब डलरको बचतपत्रका साथै ९२ अर्ब डलरको बैंक डिपोजिट अधिग्रहण गरेको हो । डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनका अनुसार जेपी मोर्गनले सुरक्षण नभएका र डिपोजिटसहितका सबै धनमाल अधिग्रहण गर्नेछ । 

फस्ट रिपब्लिक बैंकले कुनै पनि प्रभावकारी उपाय अपनाउन सकेको थिएन । गत हप्ता मात्रै उक्त बैंकले पहिलो त्रैमासमा एक सय अर्ब डलर घाटा व्यहोर्नुपरेको घोषणा गरेको थियो । यो घाटाले गर्दा बैंकको सेयरमा गिरावटसमेत आएको थियो । 

बैंक टाट पल्टिएपछि फेडेरल सरकारले एफडिआइसीसँग छलफल गरिरहेको छ । एफडिआइसीले बैंकका ग्राहकको डिपोजिटलाई ग्यारेन्टी दिने गर्छ । त्यसपछि अमेरिकी राज्यकोष विभागले गत हप्ता मात्रै ६ वटा बैंकसँग कुराकानी गर्दै फस्ट रिपब्लिक बैंकको सम्पत्तिमा उनीहरूको रुचिबारे बुझेको थियो । 

फस्ट रिपब्लिक बैंक अमेरिकाको चौधौँ ठूलो बैंक हो । बैंकको सम्पत्ति दुई सय ३३ अर्ब अमेरिकी डलर छ । तर, यही बैंक असफल प्रमाणित भएको छ । यसअघि सन् २००८ मा लेहमन ब्रदर्स बैंक टाट पल्टिएको थियो । 

 आठ राज्य, ८४ शाखा
अमेरिकाका आठ राज्यमा फस्ट रिपब्लिक बैंकका ८४ वटा कार्यालय जेपी मोर्गन चेस बैंकको शाखाका रूपमा पुनः खुल्नेछन् । यसपछि फस्ट रिपब्लिक बैंकका ग्राहक स्वतः जेपी मोर्गनका डिपोजिटर बन्नेछन् । अर्थात्, फस्ट रिपब्लिक बैंकका ग्राहकको पैसा सुरक्षित हुनेछ । 

रिपब्लिकका ग्राहकको क्षति व्यहोर्न अमेरिकी नियामक निकायको इस्योरेन्स फन्डले १३ अर्ब डलर भुक्तानी गर्नुपर्ने हुन्छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिंगल फेमिली र व्यापारिक ऋणको घाटा सँगसँगै रिकभरीलाई पनि साझा गर्नेछन् । जेपी मोर्गनले फस्ट रिपब्लिकको सम्पूर्ण सम्पत्ति अधिग्रहण गर्ने बताइएको छ । 

 रिपब्लिकसँग कति सम्पत्ति ?
१३ अप्रिलसम्म फस्ट रिपब्लिक बैंकको कुल सम्पत्ति २३० अर्ब डलरभन्दा बढी थियो । यस्तै, जम्मा भएको रकम १०४ अर्ब डलर थियो । जेपी मोर्गनबाहेक रिपब्लिक बैंक अधिग्रहण गर्न बोलकबोल गर्ने सिटिजन फाइनान्सियल ग्रुप, पिएनसी फाइनान्सियल सर्भिसेज ग्रुप, युएस बैंककर्प र बैंक अफ अमेरिका सहभागी थिए ।

 सेयरमा ओरालो यात्रा
सन् १९८५ मा स्थापित फस्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो । गत मार्चमा उक्त बैंकको सेयर ९७ प्रतिशतसम्म गिरावट आयो । मार्चमा प्रतिकित्ता एक सय २२ डलर रहेको सेयर अहिले ३.५१ डलरमा झरेको छ ।

 किन डुब्यो ?
अमेरिकाकै सिलिकन भ्याली र सिग्नेचर बैंकझैँ फस्ट रिपब्लिक बैंक डुब्नुको कारण तरलता व्यवस्थापन रहेको बुझिएको छ । फेडेरल रिजर्भले महँगीसँग जुझ्न ब्याजदरमा तीव्र बढोत्तरी गरेको छ । यसको प्रत्यक्ष प्रभाव अमेरिकाका बैंकिङ क्षेत्रमा परेको देखिन्छ । बैंकका अधिकांश ग्राहकले बिमा नगरिएको रकम निकालेका थिए । अमेरिकामा अढाई लाखसम्मको रकम एफडिआइसीमार्फत बिमा हुने प्रावधान छ ।

गत हप्ता रिपब्लिक बैंकले सूचना जारी गर्दै सन् २०२३ को पहिलो त्रैमासमा ग्राहकले १०२ अर्ब डलर निकालेको बताएको थियो । सन् ०२२ को अन्त्यतिर बैंकको डिपोजिट १७६ अर्ब डलरबराबर थियो । अर्थात्, ग्राहकले डिपोजिटको आधाभन्दा बढी रकम निकालेका थिए । यही क्रममा बैंकले ९२ अर्ब डलर ऋणसमेत लियो । तर, यति हुँदाहुँदै पनि सरकारले अधिग्रहण गर्नेबाहेक कुनै उपाय देखिएन । फस्ट रिपब्लिकका अधिकांश ग्राहक स्टार्टअप इन्डस्ट्रीका छन् ।

त्यसो त रिपब्लिक बैंक पछिल्ला केही वर्षमा कैयौँपटक खरिद–बिक्री भएको छ । सन् २००७ मा मेरिल लिन्च एन्ड कम्पनीले १.८ अर्ब डलरमा अधिग्रहण ग¥यो र अधिग्रहणको एक वर्षपछि बैंकको स्वामित्व बैंक अफ अमेरिकामा आयो । यस्तै, सन् २०१० मा १८६ अर्ब डलरमा जनरल एटलान्टिक र कोलोनी क्यापिटलसहित अन्य इन्भेस्टमेन्ट फर्मले यसलाई खरिद गरी पब्लिक गरे । 

 आर्थिक मन्दीको चिन्ता 
रिपब्लिक बैंकको पतनले आर्थिक मन्दीको चिन्ता थप बढाउने देखिएको छ । अर्थशास्त्री एवं विश्लेषकले सिलिकन भ्याली बैंकको असफलताबाट सुरु भएको उथलपुथलले बैंक र लगानीकर्तालाई सचेत गराएको बताएका छन् । यो सतर्कताले ऋण लिन कठिन र महँगो बन्न सक्ने उनीहरूको बुझाइ छ । यसो भएको खण्डमा व्यापार विस्तारको गति सुस्त हुनुका साथै हायरिङ पनि कम हुनेछ । 

 नेपालसम्मै तरंग, तर प्रभाव पर्दैन
अमेरिकामा बैंक टाट पल्टिए पनि त्यसको प्रभाव नेपालका बैंकमा नपर्ने बैंकर भुवन दाहाल बताउँछन् । ‘अमेरिकाका ठूला बैंक डुब्नुको कारण ब्याजदर जोखिम व्यवस्थापन नहुनु हो,’ दाहाल भन्छन्, ‘फेडेरलले अचाक्ली ब्याजदर बढाएपछि यो स्थिति आएको हो । सिलिकन भ्याली बैंकले त गभर्मेन्ट ट्रेजरीमै लगानी गरेको थियो ।’

दाहालका अनुसार नेपालमा अमेरिकाको जस्तो उच्च ब्याजदर छैन, जसले गर्दा जोखिम कम देखिन्छ । ‘नेपालले अमेरिकाको बैंक बन्ड किनेको भए डुब्न सक्ने अवस्था हुन्थ्यो,’ दाहाल थप्छन्, ‘तर, त्यो अवस्था छैन । नेपालको रेमिट्यान्स छ, ब्याजदर कम छ । यी कारणले पनि बैंक नै टाट पल्टिने सम्भावना कम देख्छु ।’

सुझावित समाचार