कर्णाली प्रदेश : मुख्यमन्त्री भएको १०४ दिनमा तेस्रोपटक विश्वासको मत

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले नियुक्त भएको एक सय चार दिनमा तेस्रोपटक विश्वासको मत लिएका छन्। २७ पुसमा मुख्यमन्त्री नियुक्त भएर ६ माघमा पहिलो र १७ चैत्रमा दोस्रोपटक विश्वासको मत लिएका शर्माले पुनः शुक्रबार विश्वासको मत लिएका हुन्।

पहिलोपटक विश्वासको मत दिँदा मुख्यमन्त्री शर्मालाई एमालेका १०, माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक/एक सांसदहरुले विश्वासको मत दिएका थिए । केन्द्रको गठबन्धन परिवर्तन हुँदा पनि कर्णालीमा एमालेले समर्थन फिर्ता लिएको थिएन।

दोस्रोपटक मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा राप्रपाका सांसदबाहेक सबैले विश्वासको मत दिएका थिए। विश्वासको मत दिएको नौ दिनमा नै एमाले सरकारबाट बाहिरिएर विश्वासको मत फिर्ता लिएको थियो। त्यससँगै मुख्यमन्त्री शर्माले पुनः तेस्रोपटक विश्वासको मत लिएका हुन्।

शुक्रबार विश्वासको मत लिदाँ नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक सांसद गरेर २९ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका छन्। एमालेका नौ र राप्रपाका एक सांसदले मात्रै प्रस्तावको विपक्षमा मत दिएका छन्। ४० सदस्य रहेका कर्णाली प्रदेश सभामा आज शुक्रवारको बैठकमा ३९ सांसद सहभागी थिए।

सुझावित समाचार