बजेटमा मनलाग्दी : एउटा शीर्षकको रकम अर्कैमा खर्च

विविध शीर्षकबाट चैतमा साढे ३१ अर्ब रकमान्तर, नखुलेको प्रयोजनमा १० करोडभन्दा बढी खर्च

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

सञ्चित कोष घाटा बढेर स्रोत अभाव भएपछि सरकारले खर्चको व्यवस्थापन गर्न चैत महिनामा ३३ अर्ब २१ करोड रकमान्तर गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी अर्थ विविध शीर्षकमा ३१ अर्ब ४१ करोड रकमान्तर गरेको हो । सरकारले बजेटमा प्रयोजन नखुलेका रकमलाई विविध शीर्षकमा रकमान्तर गरेको छ ।

चैतमा यो शीर्षकबाट रकमान्तर गरेर पदाधिकारीहरूले आफ्ना स्वकीयसचिव तथा करारमा भर्ती गरिएका कर्मचारीलाई रकम बाँडेका छन् । यसरी रकमान्तर गरी ६१ लाख ५७ हजार खर्च गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । जसअन्तर्गत संघीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र स्वकीयसचिवलाई ५० लाख बाँडिएको छ ।

सूचना वर्गीकरण कार्यसम्पादन बैठकका सदस्यहरूलाई बैठक भत्ताबापत पाँच लाख रकमान्तर गरिदिइएको छ । त्यस्तै, कास्कीको अध्यागमन कार्यालयमा करारमा कार्यरत कर्मचारीलाई तलबभत्ताबापत चार लाख सात हजार रकमान्तर गरी खुवाइएको छ । राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई दुई लाख ५० हजार मासिक निर्वाह भत्ता दिन रकमान्तर गरिएको छ । 

त्यस्तै, प्रयोजन नै नखुलेको विषयका लागि १० करोड ७७ लाख खर्च गरेको छ । यसमा राष्ट्रपति कार्यालय, गण्डकी प्रदेश प्रमुख कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत नौवटा निकाय छन् । त्यस्तै, विद्युतीय राहदानी खरिदका लागि ८८ करोड १५ लाख र किसानलाई रासायनिक मल उपलब्ध गराउन तीन अर्ब ३२ करोड रकमान्तर गरिएको छ ।

सरकारले पुँजीगत बजेटअन्तर्गत शीर्षक परिवर्तन गरेर एक अर्ब ७९ करोड  खर्च व्यवस्थापन गरेको छ । सर्वसाधारणले इन्धन खरिद गरेबापत उठाएको करबाट बनाउन लागिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको रकम नदी नियन्त्रण, तराई–मधेस समृद्धि सिँचाइ आयोजना र सुनसरी मोरङ सिँचाइ आयोजना (तेस्रो)मा खर्च भएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट ९१ करोड रकमान्तर गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी, कुवेत सरकारको सहयोगको सिँचाइ पुनस्र्थापना आयोजना र नदी नियन्त्रणजस्ता शीर्षकबाट एक अर्ब नौ करोड ९० लाख रकमान्तर गरेको छ । नदी नियन्त्रण गर्न सरकारले दीर्घकालीन योजना नल्याएकाले यसमा वार्षिक खर्च बढ्ने गरेको छ । हरेक वर्ष बाढीले तटबन्ध, बाँध बगाएर लैजाने भएकाले नदी नियन्त्रणमा हुने खर्चको भार बढी हुने गरेको छ । जसकारण, रकमान्तरको बाध्यता देखिएको मन्त्रालयका कर्मचारीको भनाइ छ । त्यसबाहेक भौतिक पूर्वाधार, खानेपानी र सहरी विकास मन्त्रालयले पनि रकमान्तर गरेका छन् । 

जथाभावी पैसा बाँड्न पनि विविध शीर्षकको दुरुपयोग  
 सुरेश प्रधान, पूर्वमहालेखा नियन्त्रक

मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस)को उद्देश्य नै सबै मन्त्रालयले शीर्षक खुलाएर बजेट राख्नुपर्छ भन्ने हो । बजेटको आधारभूत मान्यताअनुसार पनि विविधमा रकम छुट्याएर खर्च गर्न पाइँदैन । तर, सरकारले भइपरि आउने खर्चको जोहो गर्न विविध शीर्षकको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

जस्तो, वैदेशिक सहायता प्रतिबद्धता गरेअनुसार नआउने अवस्थामा विविध शिर्षकमार्फत यस्तो कार्यक्रमको भुक्तानीको परिपूर्ति गरिन्छ । जथाभावी पैसा बाँड्न पनि यसको दुरुपयोग गर्दै आइरहेका छन् । विविधमा पैसा राख्नु भनेकै बजेटमाथि सरकारकै आत्मविश्वास नहुनु हो । 

 नौ महिना ५७ अर्ब रकमान्तर
चालु आर्थिक वर्षको नौ महिनामा सरकारले ५७ अर्ब ६० करोड रुपैयाँ रकमान्तर गरेको छ । सबैभन्दा बढी रकमान्तर चैतमा भएको देखिन्छ । यो महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरेको छ । यसअघि पुसमा २२ अर्ब २ करोड रुपैयाँ रकमान्तर गरिएको थियो । गत भदौमा ३० करोड रुपैयाँ, कात्तिकमा १० करोड, माघमा ३२ करोड रुपैयाँ, फागुनमा एक अर्ब ६५ करोड रुपैयाँ रकमान्तर गरिएको थियो ।

See More On

सुझावित समाचार