एनआरटीको तेस्रो जित

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

च्यासल मैदानमा एनआरटीलाई जित दिलाउन वैकल्पिक स्ट्राइकर सञ्जीव विष्टले खेलको ७९औँ मिनेटमा निर्णायक गोल गरे

न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ फुटबल क्लबलाई १–० ले हराएको छ । च्यासल मैदानमा एनआरटीलाई जित दिलाउन वैकल्पिक स्ट्राइकर सञ्जीव विष्टले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । अचानक आएको अत्यधिक हावाहुरीका कारण एपिएफ र एनआरटीबीचको खेल केही समय रोकिएको थियो । मौसम सामान्य अवस्थामा आएपछि खेल पुनः सञ्चालन भएको थियो । 

एनआरटीका लागि सञ्जीवले ७९औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । गौरव श्रेष्ठले मिलाएको पासलाई सञ्जीवले बक्सभित्रबाट सदुपयोग गर्र्दै गोल गरे । यसअघि दुवै टोलीले पाप्त अवसरमा गोल गर्न चुकेका थिए । एपिएफका आवास लामिछाने र नवीन लामालगायत खेलाडी गोलबाट टाढा रहे ।

एनआरटी ११ खेलमा तीन जित, चार बराबरी र चार हारसहित १३ अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ । एपिएफ समान खेलमा चार जित, दुई बराबर र पाँच हारसहित १४ अंक जोडेर आठौँ स्थानमा छ ।

विभागीय डर्बी बराबर
विभागीय डर्बीअन्तर्गत त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले गोलरहित बराबर नतिजा निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । आर्मीविरुद्ध पुलिसले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा हावाहुरी चलेपछि खेल आधा घन्टाभन्दा बढी रोकिएको थियो । 

आर्मीका भरत खवास, जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ, दिनेश हेम्जन गोल गर्नबाट चुकेका थिए । पुलिसका बुद्धबल तामाङ, विदेशी खेलाडी मोसेज गोलनजिक रहे पनि सदुपयोग गर्न सकेनन् । नतिजापछि आर्मी ११ खेलमा चार जित, चार बराबरी र तीन हारसहित १६ अंक जोडेर पाँचौँ स्थानमा छ । पुलिस समान खेलमा एक जित, तीन बराबरी र सात हारसहित ६ अंकका साथ पुछारमा छ ।

See More On

सुझावित समाचार