खाेज, अनुसन्धान, आविष्कारमा विश्वको अभ्यासलाई दुई किसिमले हेर्न सकिन्छ । यसमा विकसित मुलुकले जिडिपीको कम्तीमा तीनदेखि पाँचसम्म प्रतिशत खर्च गर्छन् । ती देशमा पैसा खर्च गरेर सबै किसिमका अनुसन्धान गरिन्छ।
अनुसन्धान भन्नाले वैज्ञानिक मात्र हुँदैन, वैज्ञानिकसँगै सामाजिक, आर्थिक अनुसन्धान पनि हुन्छ । उनीहरूले अनुसन्धानको निष्कर्षलाई समाजमा लागू गर्छन् अथवा अनुसन्धानबाट भएको आविष्कारलाई उत्पादन गरेर वस्तु वा सेवाका रूपमा व्यावसायिक बजारीकरण गर्छन्। आविष्कारलाई व्यावसायिक उत्पादन गरेर मुलुकको अर्थतन्त्र बढाइन्छ, रोजगारी सिर्जना गरिन्छ।
नेपालजस्ता गरिब तथा विकासोन्मुख देशमा खोज, अनुसन्धान, आविष्कार गर्नुपर्छ÷गराउनुपर्छ भन्ने अभ्यास नै छैन । नेपाल, पाकिस्तान, इन्डोनेसिया, मंगोलियाले अध्ययन, अनुसन्धानका लागि सरकारी बजेट नै छुट्याउँदैनन् भन्दा पनि हुन्छ । छुट्याए पनि एक प्रतिशतभन्दा कम रकम हुन्छ । त्यसकारण यी देशमा चिजवस्तु खासै बन्दैन।
नेपालजस्ता गरिब तथा विकासोन्मुख देशमा खोज, अनुसन्धान, आविष्कार गर्नुपर्छ/गराउनुपर्छ भन्ने अभ्यास नै छैन । नेपाल, पाकिस्तान, इन्डोनेसिया, मंगोलियाले अध्ययन, अनुसन्धानका लागि सरकारी बजेट नै छुट्याउँदैनन् भन्दा पनि हुन्छ । छुट्याए पनि एक प्रतिशतभन्दा कम रकम हुन्छ । त्यसकारण यी देशमा चिजवस्तु खासै बन्दैन।
देशमा चिजवस्तुको उत्पादन नहुने भएकाले नेपालजस्ता देशको अर्थतन्त्र बलियो हुन सकेको छैन । अर्थतन्त्र आयातमुखी छ । स्वदेशमा उत्पादन नहुने, राज्यले अध्ययन, अनुसन्धानमा लगानी नगर्ने हुँदा बेरोजगारी बढ्दो छ, जसकारण नेपालका धेरै युवा विदेश पलायन भएका छन्।
वास्तविकता के देखिन्छ भने जुन देशले अनुसन्धान तथा खोजको विकासमा दुई प्रतिशतभन्दा माथि खर्च गर्छन्, तिनै देश विकसित भएका हुन् । उनीहरूकहाँ रोजगारीको सिर्जना भएको हो । जुन देशले अध्ययन, अनुसन्धान तथा खोजको विकासमा खर्च गर्र्दैनन् वा निकै कम रकम खर्चन्छन्, ती देश गरिबका गरिब नै छन्।
हामी नेपाली ठूलो उपभोक्ता बनेका छौँ, तर, भएभरका सबै चिजवस्तु आयात हुन्छ । गत वर्ष १३ खर्बको आयात हुँदा एक खर्बको मात्र निर्यात भएको छ । १२ खर्बको व्यापार घाटामा पारेर देश झन्झन् डुब्दै गइरहेको छ।
अर्थतन्त्र सुध्रियो भने सबै कुरा मिल्दै जान्छ, अर्थतन्त्र सुध्रिएन भने सबै कुरा बिग्रँदै जान्छ । त्यसका लागि सरकारले अर्थतन्त्र सुधार गर्न गर्नुपर्ने काम नै खोज, अध्ययन, अनुसन्धान तथा विकास हो । विकासका लागि बाटोघाटो, पुलपुलेसा आवश्यक पर्छ नै, तर अर्थतन्त्र स्थायी रूपमा सुधारका लागि कदम नचाल्ने हो भने मुलुक समग्रमा विकास हुन सक्दैन । अर्थतन्त्र सुधारका लागि नगरी नहुने कदम भनेको अनुसन्धान, विकास एवं नवप्रवर्तन हो।
नेपाल सरकारलाई त मैले कम्तीमा जिडिपीको एक प्रतिशत रकम अध्ययन, अनुसन्धान, विकास एवं नवप्रवर्तनमा छुट्याउन भनिरहेकै छु । त्यसपछि रकम बढाउदै लग्नुपर्छ । यसरी प्रतिभाशाली, सिर्जनशील, नवीनतम सोच भएका युवालाई देशमै नै राखेर अनुसन्धान तथा विकास गराउनुपर्छ । र, त्यहाँबाट निस्किएका चिजवस्तुलाई व्यवसायीकरण, बजारीकरण गर्नुपर्छ । मुलुकलाई आवश्यक पर्नेमध्ये न्यूनतम वस्तु उत्पादन गरेर बजारीकरण गर्न सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ । अर्थतन्त्र सुधारतिर जान्छ । अर्थतन्त्र सुधार भयो भने राजमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, ठुल्ठूला संरचना जति बनाए पनि हुन्छ।
विश्वविद्यालय, कलेजमा पढाउने काम मात्र भइरहेको छ । त्यसमा दुई कारण छन् । पहिलो त अनुसन्धान, नवप्रवर्तन गरेर देशको अर्थतन्त्रमा टेवा पुर्याउनुपर्छ भन्ने पाठ्यक्रम बनाइएका छैनन् । विश्वविद्यालयका पदाधिकारी, प्राध्यापकमा यो सोच नै देखिएन । विषयवस्तु पढाउने र परीक्षा लिएर पास गराउने गरिएको छ।
अर्काे, विश्वविद्यालयमा अध्ययन, अनुसन्धानका लागि सरकार बजेट छुट्याउँदैन । बजेट नभएपछि प्राध्यापकले पनि हाम्रो काम पढाउने मात्र हो, अनुसन्धान र नवप्रवर्तनको होइन भनेर सोचिरहेका छन् । बजेट छुट्याइदिएको भए विश्वविद्यालय पनि अध्ययन–अनुसन्धानमा सक्रिय हुन्थे होला । तर, बजेट नै नभएपछि प्राध्यापक पनि अल्छी भए, ४५ मिनेट पढाउने अनि छोड्ने भए।
तर, सरकारको ध्यान यसतर्फ छैन । अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै लगिएको छ । किसान तरकारी बिक्री भएन भनेर बाटोमा फ्याँक्दै छन् । बिक्री नभएको तरकारी प्रशोधन गरेर बिक्री गर्न मिल्ने टेक्नोलोजी मुलुकमै विकास गर्न सरकारले लगानी गर्नुपर्यो । नवीनतम सोच भएका युवामाथि लगानी गर्नुपर्यो । किबीको प्रसस्त उत्पादन भइरहेको छ, तर किसानलाई कसरी बेच्ने भन्ने चिन्ता छ।
किबी प्रशोधन गरेर कसरी प्याकेजिङ फुड बनाउने भनेर टेक्नोलोजी त चाहियो नि । नेपालको अलैँची कच्चा पदार्थका रूपमा भारत जान्छ । तर, भारतले प्रशोधन गरेर फेरि नेपाल पठाउँछ, धेरै पैसा कमाउँछ । भारत पठाउनुको सट्टा मुलुकमै प्रशोधन गरेर बजारीकरण गर्नका लागि पनि त अनुसन्धान गर्नुपर्यो । ठुल्ठूला मेसिन बनाउन, हवाईजहाज बनाउने कुरा त छोडौँ, दैनिक जीवनमा चाहिने ससाना चिजवस्तु पनि हामीले उत्पादन गर्न सकेका छैनौँ। आयातको भरमा छ।
हामी नेपाली ठूलो उपभोक्ता बनेका छौँ, तर, भएभरका सबै चिजवस्तु आयात हुन्छ । गत वर्ष १३ खर्बको आयात हुँदा एक खर्बको मात्र निर्यात भएको छ । १२ खर्बको व्यापार घाटामा पारेर देश झन्झन् डुब्दै गइरहेको छ।
नेपालमा वार्षिक पाँच, सात करोडको मञ्जन आयात हुन्छ । अब मञ्जन आयातमा पैसा बाहिर गयो भनेर गफ चुटेर बस्ने कि नेपालमै उत्पादनका लागि युवालाई प्रोत्साहन गर्ने ? स्वदेशमै उत्पादनका लागि, स्वदेशमै मेसिन बनाउन अध्ययन–अनुसन्धानका लागि राज्यले लगानी गर्नुपर्यो नि । अनुसन्धान, विकास र नवप्रवर्तनका लागि बजेट छैन।
आविष्कार केन्द्र एउटा व्यक्तिले खोलेर सम्भव हुँदैन । निजी आविष्कार केन्द्र निजी र व्यावसायिक प्रयोजनका लागि हुन्छन् । जनताका छोराछोरीलाई उद्यमी बनाउन सहयोग गर्न सरकारले नै लगानी गर्नुपर्छ, आविष्कार केन्द्र सरकारले नै खोल्नुपर्छ । लगानीकर्ताले पैसा कमाउने निश्चित भएपछि मात्र लगानी गर्छन्।
आविष्कार केन्द्र साझा प्लाटफर्म
आविष्कार केन्द्र एउटा प्लाटफर्म हो । प्रतिभाशाली, सिनर्जशील, नवीनतम सोच भएका युवालाई अनुसन्धानमा केन्द्रित गराएर उद्यमी उत्पादन गर्न खोजिएको हो। आविष्कार भनेर कुनै नयाँ चिज गर्न खोजिएको पनि होइन । किनकि आविष्कार भन्ने कुरा छिनमै गर्न खोजेर हुने पनि होइन।
अचानक दिमागमा आएर हुने कुरा हो, नवीनतम कुरा पनि एकैपटक हुँदैन । तत्कालीन रूपमा देशको आर्थिक स्थिति सुधार गर्न उद्यमी उत्पादन गर्न खोजेको हो । यहाँ तालिम हुँदैन, पढाइ हुँदैन । नवप्रवर्तन, क्रियटिभ मान्छेले केही गर्न चाहन्छ भने आविष्कार केन्द्रले सहयोग गर्छ । लगानीकर्ताले आइडियालाई सहयोग गर्दैन।
आविष्कार केन्द्रले व्यापार गर्ने आइडियामा सहयोग गर्छ । आइडिया भएका युवालाई डिजाइन गर्न लगानी, प्रोटोटाइप डेभलप, डिजाइनमा सहयोग आविष्कार केन्द्रको हुन्छ । र, प्रोटोटाइप बनेमा त्यसलाई प्रोडक्ट डेभलपमेन्ट गर्न सहयोग हुन्छ । प्रोडक्ट राम्रो भएमा प्याटन राइट लिन र लगानीकर्तासँग जोड्ने काम पनि हामी नै गर्छाैँ।
आविष्कार केन्द्रले तीन वर्षमा ४० चिजबिजमा आइडिया ल्याएर काम सुरु गरेको छ । तर, त्यसमध्ये सबैमा सफलता प्राप्त हुँदैन । सफलताको दर संसारमै १०–१५ प्रतिशत हो । हामीले पनि घट्दै २६ वटामा काम गरिरहेका छौँ । आठ–नौवटा वस्तुमा सफलता मिलेको छ, तर बजारमा गएर व्यवसायीकरण भइसकेको छैन । आविष्कार केन्द्रले बनाएको बेबी वार्मर १५–१६ अस्पतालमा चलेको छ।
कफी भुट्ने मेसिन फाइनल भइसकेको छ । सोलार ड्राइड (दिउँसो घामले सुकाउने र राति हिटर राखेर हिट गर्ने) दुईवटा बजारमा गइसक्यो।
इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम तीन ठाउँमा पाइलटिङ भइरहेको छ । यी चिजवस्तु किन्न नसकिने होइन, संसारमा किनेर नपाइने भन्ने वस्तु त सायदै छन् । तर, बाहिरबाट ल्याएर व्यापार घाटा बढाउने कि नेपालमै उत्पादन बढाउने भन्ने हो । हामीले बनाएको स्तरको कफी भुट्ने मेसिन आयात गर्दा २५ लाख पर्छ । तर, हामीले १५ लाखमा दिइरहेका छौँ । व्यापार सन्तोषजनक छ । यहाँ मञ्जन बनाउने मेसिन बनाइरहेका छन् । अदुवालाई प्रशोधन गर्ने मेसिन बनिरहेको छ । कोदो काट्ने वेलामा पञ्जावबाट मेसिन ल्याएर झारिन्छ, पैसा भारत जान्छ । त्यो कोदो झार्ने मेसिन त नेपालमै बनाऊ भन्नुप¥यो । आविष्कार केन्द्रले बनाइरहेको छ। दूधलाई भुटेर खुवा बनाउने मेसिन पनि बन्दै छ।
अनुसन्धान भनेकै बजारसँग जोड्ने हो । बनाउने मात्र अनुसन्धान होइन । बजारलाई नजोडीकन अनुसन्धान गर्ने नै होइन । प्रदर्शनीमा राख्नका लागि अनुसन्धान नगरे पनि हुन्छ । राम्रो चिज बनाउनुपर्छ, बजारमा जान्छ । व्यापारीलाई फाइदा हुने चिज बन्यो भने सहकार्य हुन्छ । तर, सहकार्य मात्र गर्ने राम्रो चिज नबनाउने हो भने कुनै अर्थ हुँदैन । अध्ययन, अनुसन्धान भनेको धेरै खर्चिलो चिज हो।
आविष्कार केन्द्रले बजारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा मात्र बनाउँछ । अस्पतालमा भर्खरै जन्मेका बच्चालाई राख्ने इन्कुबेटर बनाउने भन्ने थियो । तर, हामीले बनाउनेभन्दा बाहिरको बजारमा पाउने इन्कुबेटर सस्तो पर्ने भएपछि हामीले थाती राख्यौँ।
वीरगन्जमा कृषि औजार कारखानामा बेल्चा बनाउन परीक्षण गरिएको छ। बजारमा पाइने इन्डियन र चाइनिज बेल्चासँग प्रतिस्पर्धा गर्न सकिन्छ कि सकिँदैन, कसरी उत्पादन लागत घटाउने भनेर अध्ययन भइरहेको छ । जुन चिज नेपालमा बनाउँदा सस्तो हुन्छ, जनताले सेवा पाउँछन् ती चिज बनाउनुपर्छ । महँगो पर्ने चिज बनाउने होइन । तर, महँगो पर्छ कि सस्तो भनेर त अनुसन्धान गर्नुपर्छ। अनुसन्धान बजारीकरणकै लागि गर्ने हो । बजारीकरण गरेर देशको अर्थतन्त्र बलियो बनाउन र देशमा रोजगारी सिर्जना गर्न अनुसन्धानले मद्दत गर्छ।
[पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन्।]