तीन दशकपछि होम परिवागका दुई पुस्तक पुनः बजारमा

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ बजारमा आएका छन्।

तीन दशकअघि परिवागद्वारा लिखित दुईवटा पुस्तक नेपाल बुक्स पब्लिसर्सको सोसाइटी बुक्सले पुनः बजारमा ल्याएको हो। नयाँ वर्षको अवसर पारेर गत शनिबार एक कार्यक्रमबीच साहित्यकार डा. तुलसी दिवस, कथाकार माया ठकुरी, नेराप्रका उपकुलपति विमल निभा, वरिष्ठ पत्रकार तथा लेखकहरू ध्रुवहरि अधिकारी, शरदचन्द्र वस्ती, कलाकारहरु विश्व बस्नेत, हिरण्य भोजपुरे/उर्मिला श्रेष्ठ, शिव श्रेष्ठ, प्रेमराजा महत, आलोकश्री, विनोद मानन्धर, मोहन निरौला, सुनील थापालगायत समाजका लब्धप्रतिष्ठित विद्वान् तथा लेखक साहित्यकारहरू माझ उक्त दुई पुस्तक विमोचन गरिएको हो।

पञ्चायतकालमा नेपाली समाजमा देखिएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचनालाई उपन्यास ‘याद हराएको मान्छे’मा समेटिएको छ। पात्रहरू वसन्त, सुनिता खरदार, झनक सिंह, खजुरमैना तथा काजी कर्णवीरको मनोविज्ञान, आर्थिक तथा पारिवारिक स्थितिले समाजमा बदलिएको परिस्थितिलाई बुझ्न नसक्दा र देश तथा समाजले वसन्तजस्तो नवजवानलाई सम्भावना र रचनात्मकता खोजी गर्न प्रेरित गर्ने अवसरहरू नदिँदा एक नवयुवा जोडीले आफ्ना जीवनलाई कसरी बर्बाद गर्न पुगे भन्ने विषयलाई उपन्यासले प्रस्तुत गरेको छ।

६०–७० को दशकमा विश्वमा मानवले चन्द्रमामा रकेटसमेत पुर्याइसकेको थियो। नेपालमा भने मानिसहरू व्यक्तिगत मनमुटाव, खानपिन, जाति–गोत्र, विवाह आदिबाट आउने जालझेल र तिकडमलाई नै आफ्ना जीवनका खास व्यस्तताका कारण बनाउन पुग्दा समाज समग्रमा कसरी पछाडि पर्छ भन्ने इतिवृत्तिलाई व्याख्या गर्न पनि उपन्यासका ३९ च्याप्टरहरू प्रस्तुत गरिएका छन्।

जम्मा ३०० पेज समाहित यस उपन्यासलाई ०५० सालपछि जन्मिएका युवायुवतीलाई ज्ञान, प्रेम र प्रेरणाको निम्ति उपयुक्त रहेको उपन्यासकार परिवाग बताउँछन्।

सुझावित समाचार