छिमेकी मुलुकको बलिउड फिल्मले करोडौँ रकम उठाएर लगिरहँदा नेपाली फिल्म किन फ्लपका फ्लप भइरहेका छन् ? नेपालको कला क्षेत्रले किन विश्वव्यापी पहिचान र बजार बनाउन सकेको छैन ? वर्षौँदेखि हामी यसबारे चर्चा गरिरहेका छौँ, तर कारण खोजिरहेका छैनौँ । हामीकहाँ यो बहसको मूल विषय हुन सकेकै छैन।
खासगरी चलचित्र, गीतसंगीत आदि सांस्कृतिक प्रडक्टलाई कसरी हेर्ने र त्यसको बजारीकरण कसरी गर्ने भन्ने विषयमा हामीकहाँ नीतिगत तहमै समस्या छ । हामी हावादारी तरिकाले अन्तर्राष्ट्रिय स्तरमा जाने भनिरहेका छौँ । तर, जो–जो यो क्षेत्रसँग संलग्न छन्, न उनीहरूसँग त्यो गन्तव्यमा पुग्ने भिजन छ, न राज्यले नै कुनै पहल गरिरहेको छ।
अहिले फिल्म क्षेत्र हेर्ने सञ्चार मन्त्रालयले हो । तर, यो मन्त्रालय यसलाई सूचनाको ‘टुल्स’मात्रै ठान्छ । जब कि संसारभर यसलाई ‘कल्चरल प्रडक्ट’का रूपमा व्यवहार गरिन्छ । हामीकहाँ चलचित्र विकास बोर्डको हैसियत सञ्चार मन्त्रालयको एउटा शाखाजस्तो मात्रै हो । यो स्वायत्त छैन, त्यसैले यसको खास आर्थिक अधिकार पनि छैन । नेपालको कला क्षेत्रबारे चर्चा गर्नुअघि एकछिन विदेशका केही दृष्टान्तहरू हेरौँ।
हामीभन्दा कम अर्थात् एक करोड मात्रै जनसंख्या भएको देश स्विडेनबाट बनेको ‘ट्र्यांगल अफ स्याडनेस’ले विश्वव्यापी रिलिजबाट २ करोड ५३ लाख डलर कमायो । कोभिड संक्रमणपछि मात्रै कोरियाको कल्चर इन्डस्ट्रीले १२ अर्ब डलर भित्र्यायो । जुन हाम्रो देशको झन्डै वार्षिक बजेटको हाराहारी हो । अब प्रश्न उठ्छ– कोरियनहरूले सक्ने, नेपालीले नसक्ने भन्ने हुन्छ ?
सन् १९९३ ताका हलिउड फिल्म ‘जुरासिक पार्क’ले कोरियाबाट हुन्डाई कार निर्यात गरेवापत पाउने पैसा बराबर कमाएर लगेपछि त्यहाँको सरकार झस्कियो । त्यसपछि सन् १९९४ मा कोरिया कला क्षेत्रलाई कल्चरल इन्डस्ट्रीका रूपमा विकास गर्नतर्फ अग्रसर भयो । नीतिगत सुधार थाल्यो । त्यसको प्रतिफल भन्नुपर्छ, पछिल्लो समय कोरियाको कला उद्योगले विश्व हल्लाइरहेको छ। उदाहरणका लागि त्यहाँको बिटिएस नामक ब्वाइज ब्यान्डलाई लिन सकिन्छ, जसको सेयर भ्यालु अहिले ८ अर्ब अमेरिकी डलर पुगेको छ।
सन् २०२० मा मात्रै उनीहरूको नेटवर्क एक करोड डलर थियो । यो ब्यान्ड यति शक्तिशाली भएर आयो कि गत वर्ष मात्रै यसले झन्डै दुई अर्ब ४० करोड डलर आम्दानी गर्यो । यसकै कारण आठ हजार रोजगारीसम्म सिर्जना भएछ । त्यस्तै, दक्षिण कोरियामै अर्को ‘ब्ल्याक पिंक’ नामको लेडिज ब्यान्ड पनि छ । जसको गीत गत वर्ष मात्रै संसारभर ८ अर्ब डाउनलोड भयो । बिटिएस अहिले संसारभर अमेरिकाको बिटल्सपछि सबैभन्दा बढी सुनिने ब्यान्ड हो । कोरियन भाषामा गाइएको गीत अमेरिकीहरूले त्यो तहमा सुन्नु चानचुने उपलब्धि होइन।
अस्कर अवार्ड जितेको कोरियाली फिल्म ‘प्यारासाइट’कै चर्चा गरौँ न । यसले विश्वभर २६ करोड डलर कमायो । यो भनेको मोटामोटी ३० अर्ब नेपाली रकम हो । तर, भारतमा पछिल्लो समय निकै चर्चित भएको ‘आरआरआर’को जम्माजम्मी कमाई १६ करोड डलर मात्रै हो । यसमा पनि १३ करोड भारतबाट उठेको हो । बाँकी तीन करोड मात्रै बाहिर डायस्पोराबाट रहेछ । जनसांख्यिक हिसाबले हेर्दा एक अर्ब ४० करोड भारतको जनसंख्या हो । कोरियाको जनसंख्या भने पाँच करोड मात्रै हो । तर, पाँच करोड जनसंख्या भएको देशले बनाएको सिनेमाले संसारभरबाट २६ करोड उठायो । तर, एक अर्ब ४० करोड जनसंख्या भएको देशबाट बनेको सिनेमाले बाहिरबाट तीन करोड मात्रै । प्यारासाइट विश्वभरका ५० देशमा प्रदर्शन हुँदा आरआरआर एक दर्जनमा भएन ।
यो उदाहरणले स्पष्ट दिने सन्देश के हो भने कुनै पनि देशको सिनेमा–संगीतलगायत कल्चरल प्रडक्टको बजार उसको जनसंख्या या भूगोलमा मात्रै सीमित हुँदैन । यदि कस्तो खालको सिनेमा बनाउने भन्ने नीति सरकारले सही तरिकाले आत्मसात् गर्न सक्यो भने सानै राष्ट्र भए पनि, उसको डायस्पोरा थोरै नै भए पनि, उसले बोल्ने भाषा भिन्नै भए पनि राम्रो आम्दानी गर्न सकिने रहेछ । कोरियाको डायस्पोरा कहाँ छ र ? तर, विश्वभर चल्यो पनि, कमायो पनि । उरुग्वे, कोलम्बियाजस्ता देशमा समेत चल्छ कोरियाको सिनेमा।
अब हाम्रो नेपालको कला क्षेत्र हेर्ने हो भने बिजोगै–बिजोग छ । यतिसम्म कि हामी विदेशमा फिल्म प्रदर्शन ग¥यौँ भन्छौँ, नेपाली फिल्म प्रवद्र्धनका लागि फेस्टिभल गर्यौँ भन्छौँ, तर विडम्बना त्यो प्रवासमा बस्ने नेपालीमाझ मात्र पुगेको हुन्छ । त्यहाँका अरू नागरिकलाई हाम्रो सिर्जना र कलाकारको कुनै मतलब हुँदैन । अनि हामी यसैलाई उपलब्धि मानेर मक्ख हुने ? यसलाई अन्तर्राष्ट्रिय बजार विस्तार भन्न मिल्छ ? त्यसैले हाम्रो चेतना र बुझाइमा समीक्षा आवश्यक छ ।
जनशक्ति निर्माणमै समस्या
नेपाली सिनेमाको अर्को विडम्बना के हो भने यहाँ जनशक्ति नै अडिँदैनन् । अभिनेता/अभिनेत्री आउँछन्, तर बिस्तारै विदेश पलायन हुन्छन् । निर्माता/निर्देशकको ताल पनि त्यही छ । एकाधबाहेक निरन्तर काम गर्ने यहाँ को छ र ? जसको घरेलु बजारमा फिल्म सफल भइरहेको छ, त्यस्ता केही व्यक्ति मात्रै यहाँ टिकिरिहेका छन् । यसको अर्थ हाम्रो क्षेत्रमा जनशक्ति टिक्न सकिरहेका छैनन् । र, यसमा राज्य स्वयं दोषी छ । कारण, जनशक्ति निर्माण गर्न र उनीहरूलाई टिकाउन राज्य तहबाट कुनै नीतिगत कदम चालिएको छैन।
सिर्जनात्मक हिसाबले तुलना गर्ने हो भने कोरिया लगभग ९० को दशकतिर हामी सँगसँगै स्वतन्त्र भएको देश हो । त्यसअघि त्यहाँ कलामा ठूलो सेन्सरसिप थियो । तर, जब त्यहाँको सर्वोच्च अदालतले ‘कलामा सेन्सर गर्नुहुँदैन, कलाको काँटछाँटले सिर्जना मर्छ’ भनेर ऐतिहासिक आदेश दियो, त्यसपछि सुधारको क्रम सुरु भयो । हामीकहाँ चलचित्र विकास बोर्डजस्तै त्यहाँ कोफिक भन्ने राज्यस्तरीय संयन्त्र नै स्थापना भयो, जसले जनशक्ति निर्माणमा काम गर्यो ।
विधागत दक्षता बढाउन हामीले कति अध्ययन–अनुसन्धान र सीपलाई खार्ने काम गरिरहेका छौँ ? फिल्म हेर्न आएनन् भनेर दर्शकलाई गाली गर्दैगर्दा अब हामीले आफैँलाई गम्भीर प्रश्न गर्न आवश्यक छ।
प्रतिस्पर्धामार्फत सीमित व्यक्तिलाई छनोट गरेर तालिम दियो । सबैलाई सर्ट फिल्म बनाउने अवसर दियो । त्यसमा पनि उत्कृष्ट केहीलाई विधागत दक्षताका हिसाबले इन्डस्ट्रीमा ‘हाम्रो जनशक्ति’ भन्दै परिचय गरायो । त्यही कारण त्यहाँका निर्देशक, अभिनेता÷अभिनेत्रीलगायत सबै विधामा राम्रा–राम्रा जनशक्ति जन्मिए।
तर, हामीकहाँ त्यसरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति नै निर्माण हुन सकेको छैन । एउटा उदाहरण, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि बनाइरहेको फिल्मलाई लिन सकिन्छ । यो फिल्मका लागि नेपालमा पनि कलाकारको अडिसन लिइएको थियो । एकजना पनि नेपाली कलाकार छनोट हुन सकेनन् । किन होला ? किनभने हाम्रो क्षमता पुगेन।
खासगरी हामीसँग भएका कला क्षेत्रमा कार्यरत जनशक्ति विश्व अभ्यासमा भइरहेका समकालीन प्रयोग र ज्ञानबारे कमै जानकार देखिन्छन् । चाहे ती कलाकार, निर्देशक, स्क्रिप्टराइटर, सम्पादक, सिनेमाटोग्राफर, मेकअप आर्टिस्ट, कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइनर, आर्ट डाइरेक्टर, जुनसुकै विधाका हुन् । विधागत दक्षता बढाउन हामीले कति अध्ययन–अनुसन्धान र सीपलाई खार्ने काम गरिरहेका छौँ ? फिल्म हेर्न आएनन् भनेर दर्शकलाई गाली गर्दैगर्दा अब हामीले आफैँलाई गम्भीर प्रश्न गर्न आवश्यक छ।
हामीकहाँ विश्व सिनेमासँग दाँज्नलायक फरक ढंगले खिचिएका सिनेमा अझै बन्न सकेका छैनन् । र, हाम्रो दुर्भाग्य भनौँ, जसले यो समस्यालाई महसुस गर्नुपर्ने हो, त्यही नीति निर्माण तहलाई पनि कला क्षेत्रबारे ज्ञान छैन । सञ्चार मन्त्रालयमा जति पनि नयाँ मन्त्रीहरू आउँछन्, उनीहरू सबै सहजै भन्छन्, ‘ल, तपाईंहरूको के–के समस्या छ, लिएर आउनुस् ।’ म यो क्षेत्रको विकास गर्न आएको हुँ र यसबारे म आफैँले अध्ययन–अनुसन्धान गरेर भए पनि ज्ञानको दायरा बढाउनुपर्छ र यो क्षेत्रको विकासका लागि म आफैँलाई दूरगामी योजना बनाउनुपर्छ भन्ने उनीहरूलाई लाग्दैलाग्दैन । यहाँ त जो मन्त्री आए पनि ‘मजस्तो मन्त्री पाउनु तिमीहरूको भाग्य हो, कम्तीमा समय त दिइरहेको छु’ भनेर हामीप्रति कृपा गरेको ठान्छन् । म मन्त्री भएर आएपछि फिल्म क्षेत्रलाई १५ वर्षमा यहाँसम्म पु¥याउँछु, मेरो कार्यकालमा यतिसम्म गर्छु भन्ने कुनै भिजन या योजना हुँदैन । यसकारण पनि हामी पछाडि छौँ ।
बजार व्यवस्थापनमा समस्या
हालै गायिका एलिना चौहानको एउटा गीत ‘धोकेबाज हौँ तिमी’ विश्वव्यापी भयो । गीतको शक्तिले भन्दा पनि सुर्खेत महोत्सवमा एलिनाले स्टेजमा प्रस्तुति दिँदा जब युवतीहरूले उनीसँगै गाउँदै बारमा नृत्य गरे, त्यो भाइरल भयो । नेपालमा मात्रै होइन, उरुग्वे, ब्राजिल, थाइल्यान्ड, बर्मा, कोरियालगायत देशतिर यसले चर्चा पायो । उनीहरूले समेत आफ्नै भाषामा यो गीतको रिमेक गरेका छन् । यसअघि इन्दिरा जोशीको ‘आइ लभ यु’ बोलको गीत यसैगरी विश्वव्यापी भएको थियो । यसले के स्पष्ट पार्छ, हाम्रो मेलोडी, हाम्रो सिर्जनासँग केही नयाँ मिठास या फरकपन छ, जसले अरू देशका नागरिकलाई पनि छुन सक्छ ।
तर, प्रश्न उठ्छ– त्यसो भए अरू गीत किन यसरी त्यहाँ पुगेनन् त ?
जवाफ सहज छ, बजार व्यवस्थापनको अभाव । हामीकहाँ यसरी बजार व्यवस्थापन गर्ने एजेन्सी नै छैन । विदेशीले आफ्नो देशमा हाम्रो गीत रिमेक गरेर गाए, हामी मक्खै भयौँ । तर, त्यसबाट जुन आर्थिक लाभ लिन सकिन्थ्यो, त्यो सकेनौँ । किनभने त्यसलाई अर्थमा बदल्न सक्ने व्यवस्थापक हामीकहाँ छैनन् । न यसबारे हामीकहाँ पढाइन्छ नै । हाम्रो त विडम्बना के छ भने हामीसँग अहिलेसम्म निर्माता छैनन्।
सिनेमा भनेर ६०–७० वर्ष हिँडिसक्यौं, तर अझ लगानीकर्तालाई हामी यहाँ निर्माता भनिरहेका छौँ । सिनेमा निर्माणमा निर्माताको जुन बृहत् र सिर्जनात्मक भूमिका हुन्छ, त्यसबारे हामीलाई थाहै छैन । त्यस्तै, फिल्मको रचनात्मक स्तर उकास्नमा मात्रै होइन, बजार व्यवस्थापनमा पनि हामीकहाँ जति बौद्धिक काम हुनुपर्ने हो, त्यो भइरहेको छैन । निजी तहबाट स्वतस्फुर्त हुनुपर्ने कुरा त छँदै छ । तर, यहाँको संकट व्यवस्थापनमा संस्थागत तवरबाट हुनुपर्ने पहलसमेत हुन सकेको छैन । न चलचित्रसँग सम्बन्धित निर्माता संघ, चलचित्र संघलगायतले यस्तो खालको छलफल गर्छन् । सबैको ध्यान पैसा कमाउनमै केन्द्रित छ ।
नीतिमा सुधार, न फिल्मकर्मी
हामीकहाँ अहिले सफल भएका चलचित्रले गरेको सबैभन्दा बढी ग्रस कलेक्सन कति हो ? फिल्मकर्मीले गरिरहेको दाबी पत्याउने हो पनि त्यही २०–२५ करोड हो । र, हामी यसलाई सफलता मानेर बसिरहेका छौँ । हामीभन्दा कम अर्थात् एक करोड मात्रै जनसंख्या भएको देश स्विडेनबाट बनेको ‘ट्र्यांगल अफ स्याडनेस’ले विश्वव्यापी रिलिजबाट दुई करोड ५३ लाख डलर कमायो । कोभिड संक्रमणपछि मात्रै कोरियाको कल्चर इन्डस्ट्रीले १२ अर्ब डलर भिœयायो । जुन हाम्रो देशको झन्डै वार्षिक बजेटको हाराहारी हो । अब प्रश्न उठ्छ– कोरियनहरूले सक्ने, नेपालीले नसक्ने भन्ने हुन्छ ?
नेपाल विश्वभर गोर्खा, हिमाल, एभरेस्टका कारण बढी परिचित छ । पर्वतारोहण हाम्रो विज्ञता हुन सक्छ । तर, पर्वतारोहीको संगठन र नेपाली फिल्मकर्मी बसेर कहिले छलफल गरेको सुनिएको छ ? विदेशीले आएर हिमालको कथामाथि फिल्म बनाइरहेका छन्, तर हाम्रो विज्ञता हुन सक्ने विषयमा हामी आफैँले कुनै एड्भेन्चर्स फिल्म बनाउने हिम्मत गरिरहेका छौँ ?
यथार्थ त के हो भने अहिलेसम्म हामीले नयाँ चलचित्र नीतिसम्म बनाउन सकिरहेका छैनौँ । उही पञ्चायती चलचित्र नीतिकै भरमा चलिरहेका छौँ । यो राज्यले हेपेको पनि होइन, जानीजानी बेवास्ता नै गरेको हो।
विश्वव्यापी रूपमा जानका लागि चलचित्रको विश्वव्यापी भाषा हुन्छ । त्यस्तो भाषा निर्माणमा काम गर्नुसट्टा हामी त अर्थ–राजनीतिले क्यामेरालाई प्रभावित गर्छ भन्दै हावादारी अन्तर्वार्ता दिँदै हिँडिरहेका छौँ । छिपछिपे ज्ञान बोकेर बस्नु हाम्रा फिल्मकर्मीको मुख्य समस्या हो।
तर, यसमा फिल्मकर्मीलाई मात्रै गाली दिएर हुँदैन । फेरि पनि भन्नुपर्छ, मुख्य समस्या त नीतिगत नै हो । भारतीय सिनेमा हामीकहाँ चल्छ, तर हाम्रो सिनेमा भारतमा किन जाँदैन ? यो पनि नीतिगत समस्याकै कारण हो । केही समयअघि हामीकहाँ हिन्दीमा डब गरिएको फिल्म ‘प्रेमगीत ३’ लाई नेपाली मान्ने कि नमान्ने भन्ने विषयमा विवाद भयो । नेपाली भाषामा बनेको त नेपाली हुने नै भयो । तर, भारतमा गएर भारतीय कलाकारले डबिङ गरेर त्यहाँ भारतीय लगानी पनि भएपछि त्यसमा सहकार्यको सिनेमा थियो।
अनुहार (कलाकार) नेपाली हुँदैमा त्यो नेपाली सिनेमा हुँदैन । तर, हाम्रो ब्युरोक्रेटले चलचित्र विकास बोर्डलाई नेपाली सिनेमाको व्यवहार गर भनेर निर्देशन दियो । खासमा हाम्रो नीति निर्माण तहमा कला क्षेत्रलाई कसरी हेर्ने भन्नेमै प्रस्टता छैन । र, प्रस्ट हुन नदिनमा यो क्षेत्रका कथित चल्तापुर्जा मानिएका फिल्मकर्मीको पनि हात छ । जब कि समाजको नेतृत्व गर्ने त राजनीतिले हो । राजनीतिज्ञको हतियार ब्युरोक्रेसी हो । त्यसैले उनीहरू आफैँसँग यसबारे ज्ञान हुनुपर्ने हो।
तर, विडम्बना हामीकहाँ ज्ञान निर्माणमै समस्या छ । होइन भने कोरियाको घरेलु बजारमा चलेको ‘प्यारासाइट’ विश्वभर चल्ने, तर हामीकहाँ सुपरडुपर व्यापार गरेको ‘छक्कापन्जा’, ‘कबड्डी’चाहिँ किन अरू देशमा जाँदैनन् ? यसको कारण के हो भन्दा हाम्रो जनशक्तिमा क्षमता अभिवृद्धि छैन । जसले अन्तर्राष्ट्रिय फन्डिङ लिएर सिनेमा बनाइरहेका छन्, उनीहरूकै सिनेमा पनि यहाँ सफल भइरहेका छैनन् । किनभने हामी प्राविधिक हिसाबले पनि कमसल छौँ । विश्वमा एरी एलेक्सजस्ता महँगा क्यामेरा आइसके, तर हामी लो लेभलको लेन्सबाट फिल्म खिचेर हलिउड लेभलको फिल्म बनाउने गफ दिइरहेका छौँ । जब कि यथार्थ बिल्कुलै फरक छ।
१० वर्षअघि र अहिले बनिरहेका सिनेमा हेर्दा पनि थाहा हुन्छ, प्राविधिक र शिल्पका हिसाबले हामी कति अगाडि आयौँ । एक दशकभित्र बनेको कबड्डी र छक्कापन्जाको पहिलो सिरिज र अन्तिम सिरिज हेरेर पनि भन्न सकिन्छ, के ग्रोथ भएको छ ? बक्सअफिस कलेक्सनलाई मात्रै उपलब्धि मान्ने हो भने अर्कै कुरा, नत्र कला क्षेत्रप्रति यी सिनेमाले कति दायित्व निर्वाह गरे ? कति जनशक्ति निर्माण गरे ? पाँचवटा सिरिज गर्दा एउटा राम्रो आर्ट डिरेक्टर निर्माण हुन सक्यो ? बलिउडमा शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ हलिउड स्तरको प्रयोग गर्न खोज्दा हाम्रो सिनेमामा केही परिवर्तन आयो ? यसबारे फिल्मकर्मीले निर्मम समीक्षा गर्नैपर्छ।
वितरकहरूले नयाँ वितरणको प्रणालीबारे केही अध्ययन गरेका छन् ? केही नयाँ प्रयोग भित्र्याएका छन् ? कि पुरानै ढर्रामा फिल्म वितरण गरिरहेका छन् ? फिल्मको पब्लिसिटीमा केही नयाँ प्रयोग देखिएको छ ? कि १० वर्षअघि जस्तो हुन्थ्यो, अहिले पनि त्यस्तै भइरहेको छ । संसारभर अरूले गरिरहेझैँ सोसियल मिडियाको प्रयोग हामीले गर्न सकेका छौँ ? यसबारे पनि समीक्षा आवश्यक छ।
यथार्थ त के हो भने अहिलेसम्म हामीले नयाँ चलचित्र नीतिसम्म बनाउन सकिरहेका छैनौँ । उही पञ्चायती चलचित्र नीतिकै भरमा चलिरहेका छौँ । यो राज्यले हेपेको पनि होइन, जानीजानी बेवास्ता नै गरेको हो । जब कि संसारभर कला क्षेत्र पुँजी निर्माणका लागि नयाँ प्लेटफर्मका रूपमा देखिएको छ । अहिले फिलिपिन्समा पनि त्यहाँको चलचित्र विकास बोर्डलाई आयोगमा रूपान्तरण गरिएको छ । थाइल्यान्डमा सफ्ट पावर उत्पादन र विश्वव्यापीकरण गर्ने विषयमा त्यस्तै गज्जब काम भइरहेको छ।
हामी धुत्न खोज्छौँ, को आओस् फिल्म सुटिङ गर्न ?
नेपाललाई सुटिङ हब बनाउने रटान खुब चलेको छ । तर, मेरो विचारमा यो रटान नै कथित राष्ट्रवादका कारण ‘मेरो देश सुन्दर छ, यहाँ आउनुप¥यो’ मनोविज्ञानबाट निर्देशित छ । नत्र यहाँ भएको के अन्त छैन र यहीँ आएर फिल्म सुटिङ गर्नुपर्ने ? बलिउड किन आउँछ यहाँ ? कस्मिर, सिक्कम, गडुवाल, पूर्वाञ्चल जान छोडेर किन आउँछ यहाँ ? भौगोलिक हिसाबले के फरक छ ? अनि अमेरिकीहरू किन आउने यहाँ ? फिल्म सुटिङका लागि आउन पहिले कथा त्यो देशको भूगोलसँग मिल्नुप¥यो । त्यसैले फिल्म हब बनाउने कुरा आफैँमा भ्रम हो।
यद्यपि, निश्चित लाभ दिन सकियो भने सुटिङका लागि आकर्षित गर्न सकिन्छ, नसकिने होइन । जसरी कर प्रोत्साहन दिएर स्विट्जरल्यान्ड र मलेसियाले गरेका छन् । किनभने जहाँ कर प्रोत्साहन पाइन्छ, त्यहाँ फिल्म सुटिङ गर्न जान्छ बलिउड । तर, विश्वमाझ काठमाडौं त महँगो सहरमा पर्छ । विदेशीहरू यहाँ फिल्म सुटिङ गर्न आउन झन्झटिलो मान्छन् । मुम्बईमा १० रुपैयाँमा खानेकुरा पाइन्छ, यहाँ के पाइन्छ ? अहिले निर्देशक मीनबहादुर भाम डोल्पामा सुटिङ गरिरहेका छन् । बाहिरबाट जनशक्ति ल्याउने कोशिष गरिरहेका छन्, तर त्यहाँ सरकारले दिनको प्रतिव्यक्ति करिब ७० डलर कर लगाउँछ रे । उल्टै कर प्रोत्साहन पाउनुपर्नेमा नेपाली फिल्ममेकरले नेपाली फिल्म बनाउँदा त यसरी रकम तिर्नुपरेपछि विदेशी फिल्ममेकर यहाँ किन र कसरी आउँछन् ? झन् विदेशबाट आउँदा आवश्यक सामग्री पनि उतैबाट ल्याउनुपर्छ । बलिउडले जुन क्यामेरा चलाउँछ, त्यो यहाँ उपलब्ध हुँदैन । ब्युरोक्रेटिक बाधा उस्तै छ।
यद्यपि नीतिगत हिसाबले काम गर्न सकिन्छ । अर्को गतिलो उदाहरण फ्रान्सलाई लिन सकिन्छ । फ्रान्समा प्रदेशहरूले पनि पैसा दिन्छन् । उदाहरणका लागि निर्देशक लुक बेसोको अमेरिकी फिल्म ‘द फ्यामिली’ले त्यहाँको एउटा प्रदेशमा गएर आफ्नो फिल्म सुटिङ ग¥यो । जब कि त्यो भूगोल कथामा आवश्यक नै थिएन । तर, उसले न्युयोर्कको ग्याङस्टर त्यहाँ लुक्न जाने कथामा फिल्म बनायो । त्यसको कारण त्यहाँको प्रदेश सरकारले त्यहाँ सुटिङ गर्न गएबापत उल्टै पैसा दिएको थियो । हाम्रो त यहाँ विदेशबाट कोही फिल्म सुटिङका लागि आयो भने बेस्सरी धुत्न खोज्छौैँ, अनि कोही किन यहाँ फिल्म सुटिङ गर्न आओस्।
हामीकहाँ हरेक वर्ष सुनिने अर्को गफ हो, फिल्मसिटी । पछिल्लो समय सरकारले हरेक वर्ष बजेटमा कला क्षेत्रका लागि अरू सबै कुरा छुटाए पनि फिल्मसिटीचाहिँ छुटाएको छैन, चाहे बनोस्÷नबनोस् । कहिले दोलखामा भनेको छ, कहिले कहाँ ! यसको लबिङमा लागेका फिल्ममेकर स्वयंले व्यक्तिगत स्वार्थका कारण फिल्मसिटी मात्रै भनेकाले यो विषयले प्राथमिकता पाएको हो । तर, मेरो विचारमा नेपाल आफैँमा फिल्मसिटी हो । एकातिर नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाको बयान गर्दै फिल्म हब बनाउने कुरा पनि गर्ने, अर्कोतिर फेरि आफ्नै देशमा फिल्म खिच्नचाहिँ फिल्मसिटी चाहियो भन्ने ? यो आफैँमा विरोधाभास छ।
खासमा नेपाली फिल्म क्षेत्रको सुधारका लागि यस्तो कुरामा अल्झिनेभन्दा पनि नीतिगत सुधारकै लागि लड्न आवश्यक छ । हामीकहाँ बैंकरले फिल्म बनाउन ऋण दिन्छ ? फिल्म कोल्याट्रल (फिल्म धितो) हुन्छ ? हुँदैन, तर भारतमा हुन्छ । त्यहाँ बिमा पनि हुन्छ । तर, हामीकहाँ यस्तो नीति निर्माणमा कसैको ध्यान छैन । भारतको आसाम राज्यले त्यहाँ आसामिया सिनेमा निर्माण होस् भनेर अत्याधुनिक क्यामेरालगायत सामग्री ल्याएको छ । आसामिया सिनेमा निर्माणमा उत्प्रेरित गर्न ती सामग्री सस्तोमा प्रयोग गर्न दिइन्छ।
बरु नेपालमा फिल्म सिटीभन्दा पनि बृहत् वैज्ञानिक इन डुअर स्टुडियोचाहिँ आवश्यक छ । तर, त्यसमा कसैको ध्यान छैन । किनभने जो–जो फिल्मसिटीका लागि ‘लबिङ’ गरिरहेका छन्, उनीहरूलाई यसबाट व्यक्तिगत फाइदा हुँदैन । फिल्मसिटी त यहाँ प्रदेशैपिच्छे बनाउने कुरा गरिरहेका छन् । हामीकहाँ स्पटब्वाय, लाइटम्यान जो फिल्ममा साँचो श्रम गर्छन् उनीहरूको भविष्य डामाडोल छ । ससानो भूमिका पाउने कलाकार औषधि उपचार नपाएर मरिरहेका छन् । उनीहरूको सुरक्षित भविष्यका लागि राज्यले पेन्सनको व्यवस्था गर्न आवश्यक छ । जसले जनशक्तिलाई यही क्षेत्रमा टिकाइराख्न पनि भूमिका खेल्छ।
हाम्रोतिर एउटा सिनेमा चलेपछि त्यसैलाई भजाएर त्यसकै ब्याज मात्रै खाने चलन बढेको छ । अन्तर्राष्ट्रिय स्तरमा पुग्नलाई हाम्रो सिनेमाका आफ्नै भाषा हुन जरुरी छ । अरूले जसरी फिल्म भनिरहेका छन्, हामीले पनि त्यसरी भन्न खोजेपछि कसले हेर्छ हाम्रो फिल्म ? त्यसैले यो क्षेत्रलाई साँच्चै उठाउने हो भने हाम्रो आफ्नै सिनेमाको भाषा निर्माणका लागि निरन्तर बहस र छलफल आवश्यक छ । दर्शकको रुचिको निर्माणमा पनि हामीले ध्यान दिनुपर्छ । तपाईंहरूले सधैँ एउटै कुरा दिइरहनुभयो भने दर्शकलाई त्यसमै लत बस्छ । नत्र रामबाबु गुरुङको ‘कबड्डी’को पछिल्लो शृंखलाले २५ करोड कमाउँदा उनैले बनाएको ‘फूलबारी’ले किन त्यत्रो कमाउन सकेन ? किनभने लत ‘कबड्डी’मा मात्रै बसेको हो । तर, यसले नेपाली सिनेमा र कला क्षेत्रको विकासमा कुनै भूमिका खेल्न सक्दैन । विविध विषयमा सिनेमा बन्नैपर्छ ।
[सुब्बा फिल्म चिन्तक, समीक्षक तथा निर्देशक हुन् । उनीनिर्देशित फिल्म ‘नुमाफुङ’ले विश्वव्यापी चर्चा र राम्रो समीक्षा पाएको थियो ।]