नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।
भेटमा वर्तमान समयमा निजी उद्योगी–व्यवसायीहरूमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको बताएका थिए । तर, केही नहुने अवस्थामा देश नपुगिसकेको तथा केही अप्ठ्यारा र व्यवधान रहेको अर्थमन्त्रीको भनाइ थियो । सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए । उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ । यो अप्ठ्यारोमा एक–अर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै एक–अर्कालाई सहयोग चाहिने हो र यसमा सरकार र निजी क्षेत्र दुवै मिलेर गर्नुपर्छ ।’
भेटमा अर्थमन्त्री डा. महतले थपे, ‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ ।’ यो अवस्थालाई आफूले स्वीकार गरेको र समस्याको समाधान तथा अवस्था सुधारमा सबै लाग्नुपर्ने उनको भनाइ थियो । देशको इफिसेन्सी बढाउने चुनौती कायम रहेको र सरकारले नीतिगत रूपमा धेरै कुरा उल्लेख गरे पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति थियो ।
आर्थिक क्षेत्रमा नीतिहरू कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादाम्य नहुँदा धेरैजसो समस्या सिर्जना भएको अर्थमन्त्रीको स्वीकारोक्ति थियो । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादाम्यका साथ सँगै लैजानुपर्नेमा राजनीतिक निर्णय परिवर्तन हुँदै जाने र त्यसमा दलहरूले पनि परिवेश र वास्तविकताविपरीत प्रतिस्पर्धा गर्दै गएको उनले बताए । यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सकिन्छ भन्ने विषय अहिलेको परिवेशमा महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।
यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले आर्थिक सूचकांक अब सकारात्मक हुने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखिराख्ने हुनाले उनीहरूको सल्लाह–सुझावमा पुराना नीतिहरू समयसापेक्ष बनाउने पहल गरिएको अर्थमन्त्रीको भनाइ थियो ।
निजी क्षेत्रले पनि वास्ताविकता प्रस्टसँग भन्नुपर्ने र समस्या समाधानमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको निष्कर्ष आएको र बैंकर्स एसोसिएसनले पनि ब्याजदरमा हेरफेर गरेकाले अहिलेका अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्ने अर्थमन्त्रीले अपेक्षा व्यक्त गरे ।