राज्यको मेरुदण्ड रहेको अर्थतन्त्रको सबलीकरणविना राज्य कमजोरै रहन्छ। सही दिशामा अगाडि बढेको अर्थतन्त्रले नै राज्यलाई सही बाटोमा अघि बढाउन सक्छ । नेपालजस्तो प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण, मनोरम र सुन्दर देशकोे अर्थतन्त्र सबलीकरणका लागि व्यावहारिक र व्यावसायिक दुवै दृष्टिकोणले पर्यटन क्षेत्र भरपूर सम्भावना बोकेको क्षेत्रमध्ये एक हो । तसर्थ, सेवा क्षेत्रअन्तर्गत रहेको पर्यटन उद्योगलाई व्यावसायिक रूपमा योजनाबद्ध विकास गर्दै लगेमा अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्ने देखिन्छ।
विगतमा पर्यटन क्षेत्रलाई आर्थिक उपार्जनको सम्भावना बोकेको क्षेत्र भनेर जसरी चिनिन्थ्यो कोभिडको प्रकोपपश्चात् यसलाई सम्भावनाका साथै चुनौतीपूर्ण व्यवसायको रूपमा लिन थालिएको छ । कोभिड– १९ सिर्जित अन्तर्राष्ट्रिय आवागमनमा लामो अवधिको अवरोधका साथै राष्ट्रिय तथा स्थानीयस्तरमा भएको लकडाउनको प्रत्यक्ष मार पर्यटन व्यवसायमा परेको छ । अन्य क्षेत्रमा परेको प्रतिकूल प्रभावले यो क्षेत्र तत्कालै प्रभावित भई व्यवसायमा संकुचन आउने र अन्य क्षेत्रमा आएको सकारात्मक प्रभावले पर्यटन व्यवसाय फस्टाउने भएकाले यो क्षेत्र आफैँमा आत्मनिर्भर रहन नसक्ने संवेदनशील व्यावसायिक क्षेत्रको रूपमा रहेको छ ।
नेपालमा पर्यटनको वर्तमान अवस्था
नेपालको पर्यटन क्षेत्रमा बर्सेनि सकारात्मक परिवर्तन हुँदै गइरहेको अवस्थाबीच बढ्दै गइरहेको पर्यटक आवागमन कोभिड– १९ पश्चात् ह्रास आएको देखिन्छ । नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक भित्रिएको तथ्यांकले देखाउँछ भने त्यसपछिका वर्षहरूलाई पर्यटनका दृष्टिले सुखद मान्न सकिने स्थिति रहेन।
अन्य देशको भौतिक प्रगति, आतिथ्य सत्कार र सेवालाई ध्यानमा राखेर मौलिक पर्यटन व्यवसायको विकास गर्न सके मात्र पर्यटकको रोजाइ नेपाल हुन सक्छ । नेपालले अन्यत्र जे छ त्यो वा त्यस्तै सेवा दिनुपर्छ भन्ने होइन, हामीसँग जे छ त्यो विशिष्ट र परिष्कृत रूपमा प्रदान गर्नुपर्छ ।
उदाहरणका लागि, सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा एक लाख ५० हजार र सन् २०२२ मा ६ लाख ९७ हजार पर्यटकभित्रिएको तथ्यांकमा देखिन्छ । सन् २०२२ देखि कोभिड– १९को संक्रमण न्यून गर्न सरकारले अपनाएका विभिन्न प्रभावकारी कदमका कारण पर्यटकको आवागमनमा क्रमिक रूपले वृद्धि हुँदै गएको देखिन्छ, तर प्रतिपर्यटक औसत बसाइ १५.५ दिन र औसत खर्च ४८ डलर रहेको नेपालको परिप्रेक्ष्यमा बसाइ र औसत खर्चलाई बढाउन पर्याप्त प्याकेज ल्याउनुपर्ने देखिन्छ । कोभिड– १९को संक्रमण तीव्र भएको आवस्थामा पर्यटन व्यवसाय केही खस्केको भए पनि बिस्तारै सुधारात्मक हुँदै गएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो मार्चमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् । कोभिडपूर्वको औसत मासिक पर्यटक आगमन करिब एक लाख थियो । यद्यपि, मार्च महिना पर्यटन आगमनको मुख्य सिजनसमेत भएकाले एक लाख हाराहारीको पर्यटक आगमनलाई कोभिडपूर्वकै अवस्थामा फर्किएको भनिहाल्न हतार हुन्छ । पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किएको छ । कोरोना संक्रमणकालमा पर्यटन व्यवसायमा अति प्रतिकूल असर परेको भए पनि नेपालमा पर्यटन व्यवसाय प्रबल सम्भावना बोकेको क्षेत्र हो ।
यस्ता छन् पर्यटन व्यवसायका समस्या
नेपालमा पर्यटन विकासका लागि निजी क्षेत्र र सरकारी तवरबाटधेरै प्रयास भइरहेका छन् । तथापि, अपेक्षित रूपमा उपलब्धि हासिल गर्न ती प्रयासहरू पर्याप्त भएको देखिँदैन । पर्यटन क्षेत्रका समस्यामध्ये मुख्य समस्याको समयमा नै समाधान हुन आवश्यक छ । यी समस्यामा तत्कालै ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ :
-
लगानीका लागि पर्याप्त पुँजीको उपलब्धता छैन । उपलब्ध पुँजीको पनि लागत उच्च रहेको छ भने सबैका लागि पहुँचयोग्य पनि छैन ।
-
यहाँ पर्यटन व्यवसायमा मौलिकता खासै भेटिन्न । आफ्नो मौलिकताविनाको पर्यटन व्यवसाय दीर्घकालीन हुन सक्दैन । मौलिकतामा विशेष ध्यान दिनु आवश्यक छ ।
-
नेपाललाई साहसिक यात्राका लागि उपयुक्त गन्तव्यको रूपमा विकास गर्न सकिन्छ, तर कुनै भवितव्य परेमा उद्धार गर्न छिटो–छरितो उद्धार टोली तुरुन्त पुग्न सक्ने अवस्था देखिन्न ।
-
निश्चित समय वा दूरीको यात्रापछि आराम गर्नका लागि सुविधाजनक होटेल वा आवासस्थलको व्यवस्था हुन सकेको छैन ।
-
पर्यटन व्यवसायी एकैठाउँमा एकत्रित हुँदा कतै अधिक प्रतिस्पर्धा गर्नुपरेको छ भने कुनै ठाउँमा न्यूनतम सेवासमेत प्राप्त नभएर पर्यटकले दुःख भोग्नुपरेको छ । - नेपालको राष्ट्रिय ध्वजावाहक विमानको उडान–गन्तव्य सीमित रहेको र नेपाली श्रमिकलाई बोक्ने उद्देश्यबमोजिम सेवा विस्तार गरेको छ । राष्ट्रिय ध्वजावाहकले पनि पर्यटकलाई लक्षित गर्नुपर्छ ।
-
हवाई उडान प्रोटोकलमा अन्तर्राष्ट्रिय मापदण्डको पालना तथा सुरक्षालाई उचित ध्यान दिएको देखिँदैन जसले गर्दा हवाई सुरक्षा मापदण्ड खस्किएर अन्तर्राष्ट्रिय छवि बिग्रने खतरा देखिन्छ ।
समाधानका उपाय
विशेषगरी नेपाल सरकारले तदारुकताका साथ वित्तीय नीति र मौद्रिक नीतिमार्फत थलिएको पर्यटन व्यवसायका समस्या सम्बोधन गर्नुपर्छ । अनिवार्य लगानीका दायरा बढाउनुका साथै प्रभावकारी अनुगमन आवश्यक देखिन्छ । पुँजी उपलब्धता मात्र समाधान होइन, यसको लागत न्यून र लाभ उच्च भएमा मात्र यो प्रभावकारी हुन्छ । लागत घटाउन विद्युत्, पानीलगायतका सरकारद्वारा प्रदान गरिने वस्तु तथा सेवामा शुल्क घटाउँदा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ।
पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा प्रयास त भइरहेको छ, तर अन्तर्राष्ट्रिय अवस्थामा पर्यटन व्यवसायमा नेपाल एक्लो गन्तव्य होइन । अन्य देशको भौतिक प्रगति, आतिथ्य सत्कार र सेवालाई ध्यानमा राखेर मौलिक पर्यटन व्यवसायको विकास गर्न सके मात्र पर्यटकको रोजाइ नेपाल हुन सक्छ । नेपालले अन्यत्र जे छ त्यो वा त्यस्तै सेवा दिनुपर्छ भन्ने होइन, हामीसँग जे छ त्यो विशिष्ट र परिष्कृत रूपमा प्रदान गर्नुपर्छ । साहसिक पर्यटन अगाडि बढेको स्थानमा त्यससँग सम्बन्धित जोखिम कम गर्न भवितव्य परेमा छिटो–छरितो उद्धारका लागि आवश्यक सुविधासहितको उद्धार टोलीको तैनाथी निश्चित दूरीमा हरपल रहेको हुनुपर्छ । निश्चित समय वा दूरीको यात्रापछि आरामका लागि सुविधाजनक होटेल वा आवासस्थलको व्यवस्था भएको हुनुपर्छ ।
एकत्रित भएर बसेका होटेल वा रेस्टुरेन्ट पर्यटकीय मार्गमा छरिए सेवा–सत्कारमा स्वच्छताका साथै सर्वसुलभता कायम हुने थियो । सरकारको नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रमा लगानीको सीमा बढाएर प्राथमिकतामा राखिनुपर्छ । नेपालको हवाईले सेवा नयाँ–नयाँ गन्तव्य विस्तार गर्दै धेरैभन्दा धेरै देशसँग जोडिन पहल गर्नुपर्ने देखिन्छ । साथै, हवाई उडान सेवालाई सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाउन आवश्यक छ । हवाई सुरक्षा र सञ्चालन सम्बन्धमा प्रभावकारी समसामयिक मापदण्डबमोजिमको नियमनका साथै पूर्वाधार विकासमा जोड दिनुपर्छ ।
पर्यटन व्यवसायको अवसर
नेपालमा पर्यटन व्यवसायमा समस्या मात्र नभएर व्यावसायिक दृष्टिकोणले पर्याप्त सम्भावना पनि छ । भ्रमणको उद्देश्यअनुरूप पर्यटकलाई विभिन्न विधामा विभाजन गरिन्छ । नेपालमा हिमाल चढ्न आउने पर्यटक, धार्मिक पर्यटक, पदयात्राका लागि आउने पर्यटक, अध्ययन र अवलोकनका लागि आउने पर्यटकलगायत अन्य विभिन्न उद्देश्यका पर्यटकको सम्भावना रहेको छ।
महामारीको संकट टर्दै जाँदा चीन र भारतले तीव्र गतिमा पुनर्वहाली गरिरहेका छन् । अब, दुई विशाल उदीयमान आर्थिक शक्तिराष्ट्रबीच रहेको हाम्रो देशमा यी देशबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ । गौतम बुद्धको जन्मभूमि र हिन्दू धर्मावलम्बीहरूको पवित्रभूमि नेपालमा धार्मिक पर्यटनले निकै ठूलो सम्भावना बोकेको छ । हिन्दू बहुल राष्ट्र भारत र बुद्ध धर्म बहुल राष्ट्रहरू म्यानमार, श्रीलंका, थाइल्यान्ड, जापान, सिंगापुरजस्ता देशबाट धार्मिक पर्यटनको सम्भावना रहे तापनि प्रचार–प्रसार तथा उचित गन्तव्य तय र लक्षित समूह पहिचान हुन नसकेकाले पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन । यसलाई मध्यनजर गरी अघि बढ्नुपर्छ ।
पर्यटन व्यवसायको योगदान
पर्यटन क्षेत्र सबल बन्दा देशमा रोजगारी सिर्जना, विदेशी मुद्राको आय, सरकारको राजस्व संकलनमा प्रत्यक्ष योगदान गर्नुका साथै अन्य क्षेत्रमा सकारात्मक योगदान पुग्नेमा कुनै द्विविधा छैन । पर्यटनबाट प्रत्यक्ष लाभका साथै अप्रत्यक्ष लाभ पनि धेरै हासिल गर्न सकिन्छ । पर्यटन व्यवसाय बढ्दै जाँदा घरेलु उद्योग तथा हस्तकला उद्योग फस्टाउन टेवा पुग्छ । गाउँ–गाउँमा होमस्टे सेवाको विस्तारले वैकल्पिक आयको बाटो खुल्छ । हाम्रो देशको भाषा, कला र संस्कृतिको विश्वभर प्रचार–प्रसार हुन जान्छ । पर्यटकको आवागमनसँगै नयाँ–नयाँ प्रविधि भित्रिनुका साथै हाम्रो घरेलु उद्योगलाई व्यावसायिक र प्रविधिमैत्री रूपमा रूपान्तरण गर्ने अवसर सिर्जना हुन सक्छ ।
नेपालको अर्थतन्त्रको संकटमोचनमा पर्यटन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर, यसका लागि पर्यटन क्षेत्रको पुनरुत्थानलाई सरकारले विशेष ध्यान दिन आवश्यक छ । विश्वव्यापी आर्थिक संकटको स्थितिमा नेपालको पर्यटन व्यवसाय मौलाउन सक्ने अवस्था रहँदैन । त्यस अवस्थामा पर्यटन व्यवसाय खस्किने अवश्यंभावी छ । तर, हाम्रो देशको मात्र अर्थतन्त्र खस्केको र विश्वव्यापी अर्थतन्त्र राम्रो रहेको अवस्थामा भने पर्यटनले अर्थतन्त्रलाई जीवनदान प्रदान गर्ने सामथ्र्य राख्छ ।
[पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ]