जनतामा भ्रम छर्न रविले सुशासनका नारा लगाए : योगेश भट्टराई

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको आरोप लगाएका छन्। आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गरेर रविले देश, जनता, कानुन र संविधानलाई नै ढाँटेको भट्टराईले बताए। एमालेलाई ७० वर्षसम्म नआएका प्रश्नहरू लामिछानेप्रति ७ महिना नपुग्दै खडा भएका उनको भनाइ थियो।

रवि लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै भट्टराईले उनले दिएका भ्रष्टाचारविरुद्ध र सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको आरोप लगाए।

‘यति छोटो समयमा हामीलाई भन्दा धेरै प्रश्न आइसकेका छन्। त्यसैले, उहाँले दिएका भ्रष्टाचारविरुद्धका नारा, सुशासनका नाराहरु यी सबै बेकार हुन्। यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन्। उहाँ कुनै भर्जिन, अर्गानिक क्यान्डिडेट होइन। उहाँको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेका नै छन्,’ उनले भने।

जनतालाई ढाँटेकोप्रति पाँच वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने फेरि चुनाव उठिरहेको भन्दै सचिव भट्टराईले आलोचना गरे।

सुझावित समाचार