वर्ष ०७९ सेयर लगानीकर्ताका लागि निराशामा नै बितेको छ । सरकारले विभिन्न समयमा ल्याएको नीति, विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, रुस–रुक्रेनबीचको युद्धले पारेको प्रभाव, बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटलगायतका कारणले पुँजी बजारमा वर्षभरि नै उलेख्य सुधार हुन सकेन ।
०७८ साल चैतको अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार चार सय १५ दशमलव २५ विन्दुमा बन्द भएको थियो । ०७९ चैतको अन्तिम कारोबार दिनमा परिसूचक एक हजार नौ सय ३४ दशमलव ४७ विन्दुमा आइपुगेको छ । गत वर्ष नेप्सेमा दुई सय ३९ दिनको कारोबार हुँदा चार सय ८० दशमलव ७८ अंकले घट्न पुगेको छ । सो अवधिमा नेप्से परिसूचकको न्यूनतम विन्दु एक हजार आठ सय १५ दशमलव १३ विन्दुसम्म आइपुगेको थियो भने उच्चतम विन्दु दुई हजार २४ दशमलव २० दशमलव ९७ विन्दु रहेको थियो ।
यसबीचमा करिब ७५ प्रतिशतले सेयर कारोबार घटेको छ । अघिल्लो वर्ष ०७८ सालभरिमा १७ खर्ब १२ अर्ब ६ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो भने ०७९ वर्षभरिमा चार खर्ब २३ अर्ब १९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एक वर्षको बीचमा ६ खर्ब १२ अर्ब रुपैयाँ अर्थात् (१८ प्रतिशत)ले बजार पुँजीकरण घटेको छ । अघिल्लो वर्ष वैशाखमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब १० करोड रुपैयाँ रहेको थियो । चैत मसान्तमसम्म आइपुग्दा पुँजी पुँजीकरण घटेर २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ ।
लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले वर्षभरिको कारोबारलाई आधार मन्दा बजार निराशाजनक बन्न पुगेको बताए । उनले भने, ‘पुँजी बजार अर्थतन्त्रको ऐना हो, यसलाई सरकारले आगामी दिनमा बुझेर अघि बढ्ने र सोहीअनुसार नीति ल्याउन ढिलो गर्नुहुँदैन ।’
यस वर्ष साधारण सेयरको प्राथमिक निष्कासनमार्फत ५५ कम्पनीले झन्डै पाँच खर्ब रुपैयाँभन्दा धेरै पुँजी बजारमा प्रवेश गरेको अवस्था छ । नेपाल पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजार नियामक निकायले थिचेको र लगानीकर्ता सबैभन्दा पीडित भएको वर्षका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘बजार घटबढ हुनु स्वाभाविक भए पनि नियामक निकायले हेर्ने नजर लगानीमैत्री नहुँदा लगानीकर्ता निराश बन्न पुगे, आगामी दिनमा यस्तो हस्तक्षेप नहोस् भन्ने अपेक्षा छ ।’
सरकारले लिने नीतिकै कारण बजार प्रभावित भएको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘मौद्रिक नीति १२ करोडको सीमा र सेयर कर्जामा १५० प्रतिशत जोखिम भार पु¥याइयो, यस्ता धेरै कारणले बजार घट्न पुगेको हो ।’
०७९ पुँजी बजार घटे पनि बजारका लागि दीर्घकालीनका लागि काम भएका छन् । निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलेको छ भने ब्रोकर लाइसेन्सको कोटा प्रणाली हटाएर खुला प्रतिस्पर्धात्मक बनाइएको छ । प्राथमिक सेयरमा आवेदन दिँदा लाग्ने आस्बा शुल्क घटाइएको छ । यस्ता नियामक निकायले गर्नुपर्ने सामान्य काम भएका छन् ।