एनबिएससी विराटनगर र नेपाल पुलिस क्लबले शुक्रबार प्रथम ऋचा स्मृति टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । एनबिएससीले दिल्ली युनाइटेडलाई ३२ रनले हरायो । नेपाल पुलिसले सुदूरपश्चिमको एनबी ग्रुपमाथि ६ विकेटको जित हात पार्यो । दिल्ली र सुदूरपश्चिमले लगातार दोस्रो खेलमा हार सामना गरेका छन् । फाइनल यात्राका लागि शनिबार नेपाल पुलिस र एनबिएससीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ख’बाट पुलिस र एनबिएससीबीचको विजेताले समूह ‘क’बाट फाइनलमा पुगेको नेपाल आर्मीसँग उपाधिका लागि भिड्नेछ ।
विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा एक सय ३० रन पछ्याएको दिल्ली १७.२ ओभरमा ९७ रनमा अलआउट भयो । दिल्लीका लागि मनीष मिश्रले १७ बलमा १७ रन बनाए । शक्ति केडीले १५ बलमा १४ रनको योगदान दिए । एनबिएससीका मेहाङको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् ।
मेहाङले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले ३.२ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । यसअघि ब्याटिङ गरेको एनबिएससीले १६.३ ओभरमा सबै विकेट गुमाई एक २९ रनको मध्यम योगफल खडा गरेको थियो । एनबिएससीका रवि शर्माले २३ बलमा पाँच चौकाको सहयोगमा २५ रनको योगदान दिए । विधान गोस्वामीले सात बलमा समान दुई चौका र छक्का प्रहार गर्दै २० रन जोडे । दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर चार विकेट लिए । प्रदीप कुमारले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए ।
पुलिस चार विकेटले विजयी
दोस्रो खेलमा नेपाल पुलिसले १६ ओभरमा चार विकेट गुमाएर एक सय ३० रनको लक्ष्य पूरा गर्यो । पुलिसको जितमा दिलीप नाथले विस्फोटक ब्याटिङ गरे । उनले ३६ बलमा आठ छक्का, दुई चौका प्रहार गर्दैै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
योगेन्द्र कार्कीले २६ बलमा तीन छक्का र चार चौका प्रहार गर्दै ४८ रनको योगदान दिए । शंकर रानाले १८ बलमा समान तीन छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले तीन ओभरमा ३५ रन खर्चेर दुई विकेट लिए ।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाई एक सय २९ रनको योगफल बनायो । दीपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले दुई छक्का र नौ चौका प्रहार गरे । उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा तीन छक्का र पाँच चौका हिर्काए । बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४४ रन खर्चेर तीन विकेट लिए । रसिद खानले चार ओरभरमा ३१ रन खर्चेर दुई विकेट लिए ।