०७९ मा खेलकुद : विवाद सँगसँगै सफलता

शनिबार, २ बैशाख, २०८०
डिजिटल संस्करण

नयाँ वर्षको आगमनमा धेरैले संकल्प लिने गर्छन् । नराम्रो पक्ष त्याग्ने र राम्रो मात्र अनुसरण गर्ने । नेपालको खेलकुदमा पनि हरेक वर्ष यस्तै हुने गर्छ । नयाँ वर्षसँगै नयाँ ढाँचा र विवादरहित रूपमा अगाडि बढ्ने सम्बन्धित निकाय र पदाधिकारीले संकल्प लिन्छन् । तर, उनीहरूले यी दुईमध्ये एक पनि वाचा पूरा गर्न सक्दैनन् । राम्रोभन्दा पनि नराम्रो पक्षकै कार्यप्रति लालायित हुन्छन् । गत वर्ष पनि खेलकुदमा यस्तै देखियो । नेपालका प्रमुख खेलहरूमा विवाद देखियो । राष्ट्रिय खेलकुद परिषद्मा दुई सय १० संघ–संस्था भए पनि केही संघले मात्र सक्रियता देखाए । यसमा फुटबल र क्रिकेट नै अगाडि भए । तर, यो खेलमा पदाधिकारीहरूबीचको आन्तरिक विवाद सतहमै पुग्यो । गत वर्ष केही खेलाडीले घरेलु भूमिमा राष्ट्रिय रेकर्ड बनाए । कतिले अन्तर्राष्ट्रिय क्षेत्रमै ऐतिहासिक प्रदर्शन गर्न भ्याए । समग्रमा गत वर्षको नेपालको खेलकुद यस्तो रह्यो :

क्रिकेटमा सफलता र विवाद
गत वर्ष क्रिकेटमा ख्याति र विवाद समानान्तर रूपमा देखिए । क्यानभित्रको पदाधिकारीबीचको आन्तरिक द्वन्द्व, नेपाल टी–२० लिगको फिक्सिङ र पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सामाचार वर्षको प्रारम्भिक चरणमा नेपालको क्रिकेट अन्तर्राष्ट्रियस्तरमै पुगेको थियो । भारतीय नागरिक मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिनु र अर्का भारतीय मोन्टी देसाईको आगमनपछि नेपालको क्रिकेटमा काँचुली नै फेरियो । वर्षको अन्त्यतिर नेपाली पुरुष क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ मा सनसनीपूर्ण खेल प्रदर्शन गरी सबै विवादित पक्षलाई मेटाउने प्रयास गर्यो ।

नेपालले विश्वकप लिग–२ मा अन्तिम १२ मध्ये ११ खेलमा सानदार जित निकाली जिम्बावेमा हुने ग्लोबल एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गर्यो । नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा पुग्यो । मुख्य प्रशिक्षकका रूपमा देसाईले नेपालको भाग्य नै परिवर्तन गरेको भन्दा फरक नपर्ला । एक किसिमले भन्दा देसाईले नेपालको क्रिकेटमा भरिपूर्ण जादु नै भरिदिए । लगभग जित्ने बानी बिर्सेका नेपाली क्रिकेटरले फागुन र चैत महिनाभित्र एकपछि अर्को खेलमा सनसनीपूर्ण सफलता हात पारे । जसको तारिफ अहिले सबैले गरिरहेका छन् । 

देसाईले कार्यभार सम्हाल्नुअघि नेपालको विश्वकप छनोटको कुरा एका देशको कथाझैँ भइसकेको थियो । अझ त्यसमाथि पनि नेपालको एकदिवसीय मान्यतासमेत धरापमा थियो । मोन्टीको आगमनसँगै नेपाली क्रिकेटले विश्वकपको ग्लोबलमा पुग्ने सपना पूरा गर्यो । सँगसँगै चार वर्षका लागि एकदिवसीय मान्यतासमेत रक्षा गर्यो । रमाइलो पक्ष रह्यो भने, त्रिवि क्रिकेट मैदानमा नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेसँगै क्रिकेटमा देखिएका विवाद सबैले बिर्सिए ।  

यो सफलता प्राप्त गर्नुअघिसम्म नेपाली क्रिकेटर समर्थकले क्यान, नेपाल टी–२० लिग तथा आन्तरिक विवादविरुद्ध विभिन्न सोसल मिडियामा टीका–टिप्पणी गरिरहेका थिए । युएईलाई डकवर्थ लेविस आधारमा पराजित गरेलगत्तै त्रिवि मैदानमा करिब २० हजार दर्शकले पुराना नराम्रा पक्षहरूलाई चटक्कै भुले । हजारौँ समर्थकले नेपाली क्रिकेटरको सफलतामा नाचेनन्, उनीहरू यसमै हप्तौँसम्म रमाए । विश्वकपको ग्लोबल छनोटमा अब नेपालले कम्तीमा टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । 

सिनियर क्रिकेट टोलीले विश्वकप खेल्न सपना बाँडेको केही हप्ताअगाडि यू–१९ टोलीले आठ वर्षपछि उमेर समूहको विश्वकपमा स्थान सुरक्षित गरेको थियो । संयोग कस्तो रह्यो भने नेपालले युएईलाई हराउँदै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान पक्का गर्यो । 

क्रिकेटको सर्वोच्च निकाय क्यान आफैँले नेपाल टी–२० लिग गर्ने घोषणा गर्यो । क्यानले यसको सबै जिम्मेवारी भारतीय सेभेन थ्री स्पोर्टस्लाई दिएको थियो । निकै तामझामका साथ क्यानले नेपाल टी–२० फ्रेन्चाइज लिग त गर्यो, तर यसले क्रिकेटमा एक किसिमको कालो धब्बा नै लगायो । यसमा म्याच फिक्सिङ र स्पष्ट फिक्सिङ खुलेआम रूपमै भयो । लिग चलिरहँदा नेपालको सिबिआई, आइसिसी र राष्ट्रिय खेलकुद परिषद्ले नै कमिटी गठन गरी छानबिन नै गरे । फिक्सिङमा संलग्न व्यक्तिहरूमाथि मुद्दा चलिरहेको अवस्था छ । 

अर्कोतिर तत्कालीन कप्तान सन्दीप नाबालिका बलात्कारको गम्भीर आरोपमा परे । पाटनको उच्च अदालतको २० लाख धरौटीमा केही पछि सन्दीप थुनामुक्त भए । सर्वोच्च अदालतको आदेशले सन्दीपले विदेश खेल्न जान अनुमति पाए । उनको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । 

फुटबलमा वर्षको अन्त्यसम्मै विवाद

गत वर्ष फुटबलले नयाँ नेतृत्व र प्रमुख प्रशिक्षक पायो । कर्माछिरिङ शेर्पा समूहलाई नराम्रोसँग परास्त गरी पंकजविक्रम नेम्वाङ चार वर्षका लागि अध्यक्ष भए । अध्यक्ष हुन गणेश थापाको शरण लिएका नेम्वाङले निर्वाचित भएपछि त्यसलाई सन्तुलित बनाउन सकेनन् । उनका हरेक निर्णय विवादास्पद बने । उनकै प्यानलबाट निर्वाचनमा जित हात पारेका लगभग एक दर्जन पदाधिकारीले विद्रोह गरिरहेका छन् । अध्यक्ष भएयता नेम्वाङले जति पनि निर्णय गरे, ती सबै विवादास्पद भएका छन् । असन्तुष्ट समूह ती निर्णयलाई वैधानिक मान्न तयार नै छैन । चैतको दोस्रो सातामा आयोजना भएको प्रधानमन्त्री थ्री नेसन्स कप नेपालले हात पार्यो । 

तर, फुटबल मैदानमा खेलाडीले सुन्दर प्रदर्शन गरे पनि मैदानबाहिर फोहोरी खेल भइरह्यो । एन्फाले वरीयतामा आफूभन्दा कमजोर राष्ट्रलाई सहभागी गराई उपाधि जितेको भन्ने मत राख्नेहरू असंख्य रूपमा हुलै देखिए । फेरि खासै अनुभव नभएको इटालियन नागरिक भिसेन्जो अल्बर्टाेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा पनि नेम्वाङले विवादरहित बनाउन सकेनन् । अन्तिम १५ सर्ट लिस्टभन्दा १६औँ व्यक्तिलाई एन्फाले मुख्य प्रशिक्षक बनाएको थियो । 

असन्तुष्ट पक्षले अध्यक्षको मनपरी र विधानविपरीत सधैँभरि निर्णय र काम गरेको भनी कार्यसमितिको वैठक नै बहिष्कार गरिरह्यो । फुटबलको विकासको मुख्य आधार मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग मुख्य प्रायोजकविना नै सुरु भयो । तीनपटक मिति परिवर्तन भएको लिगले सम्भवतः पहिलोपटक मुख्य प्रायोजक नै पाएन । ‘बी’ डिभिजन लिग हुने या नहुने टुंगो छैन । राष्ट्रिय टोली र क्लब लेभलका ४० माथि खेलाडी धमाधम अस्ट्रेलिया पलायन हुँदा ‘ए’ डिभिजन लिगमा सहभागी क्लबले चर्को मारको सामना गरे ।

एन्फाले वैज्ञानिक ढंगले वार्षिक क्यालेन्डर बनाउन नसक्दा मोसफल आयोजित गोल्डकप फुटबलमा खेलाडीले ब्रेक नै पाएनन् । सहिद स्मारक लिगको साबिक दुईपटकको विजेता मच्छिन्द्रले ७२ घन्टाको अवधिमा चार खेल खेल्यो । सहभागी खेलाडी र क्लबले जसरी पनि गोल्डकपमा सहभागी हुनुपर्ने बाध्यताका कारण आधा दिनजसो बसको यात्रा गरेर पनि प्रतिपस्पर्धा गरेको देखियो । मच्छिन्द्रले मोफसलमा दुई गोल्डकप जित्यो । मनाङ र त्रिभुवन आर्मीले पनि गोल्डकप ट्रफी उचाले । 

वर्षको सुरुमै तत्कालन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोसल मिडियामा राजीनामा दिँदै हंगामा नै मच्चाए । तत्कालीन अध्यक्ष कर्मा छिरिङको भरपूर समर्थन पाएका अलमुताइरीले अनुशासनको कारबाही भनी सिनियर १० खेलाडीलाई कारबाही नै गरे । जसको विरोधमा ११ जना खेलाडीले विद्रोह गरी प्रशिक्षण नै बहिष्कार गरे । खेलाडीहरूको विद्रोेह उत्कर्षमा पुग्दा एएफसी एसिया कप छनोटमा नराम्रो प्रभाव पर्यो । 

गत वर्ष लगभग अनेकौँ विवादहरूको भुमरीमा फसेको एन्फालाई सर्वाधिक ठूलो चुनौती  खेलाडी पलायन नै बन्यो । खेलाडीलाई घोषणा गरेको पुरस्कारसमेत एन्फाले प्रदान गर्न सकेन । पुरुष फुटबलमा सक्रियता देखाएको एन्फा महिलामा शून्य अवस्थामै रह्यो । आधा लिग सकेर एन्फाले विजयी टोली घोषणा गर्यो । नेपालमै आयोजना भएको महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । २०२४ को पेरिस ओलम्पिक छनोटअन्तर्गत फुटबलमा नेपाली महिला टोली भियतनामसँग ५–१ र २–० ले पराजित भयो । यद्यपि, भारतसँगको दुवै महिला अन्तर्राष्ट्रिय खेलमा नेपालले बराबरी खेलेको थियो । 

ब्याडमिन्टनमा प्रिन्स
कुनै समय यू–१९ को विश्वको शीर्षस्थानमा रहेका प्रिन्स दाहाल गत वर्ष सक्रिय मात्र भएनन्, उपाधि पनि भित्र्याए । इटहरीमा भएको प्रथम मुख्यमन्त्री कप राष्ट्रिय र्याकिङ खुला ब्याडमिन्टनमा प्रिन्सले उपाधि जिते । महिलातर्फ जेसिका गुरुङ च्याम्पियन भइन् । यसैगरी, दोस्रो प्रधामन्त्रीकप खुला वरीयतामा प्रिन्स नै पहिलो हुँदा रसिला महर्जनले महिलामा बाजी मारिन् । नेपाल पुलिसका प्रिन्सले १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनमाथि कब्जा जमाए । महिलातर्फको उपाधि आर्मीकी अनुमाया राईले जितिन् ।

बक्सिङमा सुष्माको सान
गत वर्ष नेपालको बक्सिङले अन्तर्राष्ट्रिय क्षेत्रमा एक इतिहास बनायो । थाइल्यान्डको बैंककमा भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले ऐतिहासिक रूपमा रजत पदक जितिन् । महिलातर्फको ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनास“ग ५–० ले पराजित भइन् । यद्यपि, उनले आफ्नो नाममा दुर्लभ रेकर्ड राखिन् । बक्सिङको इतिहासमा अहिलेसम्म एसियनस्तरको प्रतिस्पर्धामा रजत पदक जित्ने र फाइनल स्थान पक्का गर्ने उनी पहिलो खेलाडी भइन् । यसअघि नेपाली खेलाडीहरूको उच्चतम सफलता नै एसियन लेभलमा कांस्य पदक जित्नु नै थियो । 

म्याराथन 
गत वर्ष एथ्लेटिक्समा नियमितजसो राष्ट्रिय प्रतियोगिता भए । साथसाथै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सहभागिता जनाए । बंगलादेशको बंगबन्धु सेख मुजिब ढाका म्याराथानमा पुष्पाले स्वर्ण पदक जितिन् । आठौँ प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका राजन रोकायले हात पारे । महिला हाफ म्याराथनमा पुलिसकी राजपुरा प्रछाई पहिलो भइन् । नेपालमै आयोजना भएको कन्ट्री च्याम्पियनसिपमा घरेलु खेलाडी दीपक अधिकारले ऐतिहासिक स्वर्ण जिते । दसौँ हाफ म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की र महिलातर्फ राजपुरा पछाई पहिलो भए । यसैगरी, ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन भयो । 

भलिबल 
गत वर्ष नै भलिबलमा नयाँ नेतृत्व पायो । जितेन्द्र चन्द आगामी चार वर्षका लागि नेतृत्वमा आए । वर्षभरि व्यस्त हुने खेलमा भलिबल पनि पर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका थिए । नेपालको यू–२३ टोलीले काभा च्याम्पियनसिप खेल्यो । महिला तथा पुरुष टोली काभाबीच भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भए । एनभिए महिला तथा पुरुष लिगको उपाधि न्यु डायमन्ड र आर्मीले जिते । तेस्रो टाइगरकप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फको उपाधि गण्डकीले जित्यो । न्यु डाइमन्डले छैटौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि हात पार्यो । पुलिसले बागमती प्रदेश न्यु डाइमन्ड कप खुला महिला राष्ट्रिय भलिबलको ट्रफी उचाल्यो । 

अन्य
नेपाल कराँते महासंघमा लामो समयदेखि चलिरहेको विवाद समाप्त भयो । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामालाई साधारणसभाले अध्यक्षमा निर्विरोध चयन गर्यो । सूर्य नेपाल गल्फ टु वर्षभरि नै जारी भयो । यसमा अप्रत्याशित नतिजाहरू आए । चैतको अन्तिमतिर भएको गल्फमा सद्भाव आचार्यले कम उमेरमै उपाधि हात पारेको रेकर्ड राखे । यसैगरी, वीर गणेश फाउन्डेसनको आयोजनामा एथ्लेटिक्स तथा बक्सिङ प्रतियोगिता भए । 

See More On

सुझावित समाचार