वाइल्डलाइफ टुरिजमका लागि

शुक्रबार, १ बैशाख, २०८०
डिजिटल संस्करण

मफिरका लागि रोजाइमा पर्ने जिल्ला चितवनको नाम लिनेबित्तिकै सौराहाको याद धेरैलाई आउँछ । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार मानिने सौराहा रत्ननगर नगरपालिकाको गौरवको रूपमा उभिएको छ । सौराहा विश्वकै तेस्रो उत्कृष्ट वाइल्डलाइफ पर्यटकीय गन्तव्यको परिचय बनाउन सफल भएको छ । पूर्व–पश्चिम राजमार्गनजिकै रहेको सौराहा पुग्न पनि निकै सहज छ । जहाँ राष्ट्रिय निकुञ्ज बन्नुअघिदेखि नै पर्यटकीय गतिविधि हुने गर्थे । पर्यटकका रूपमा विदेशी मात्र देखिने सौराहामा बदलिँदो समयसँगै आन्तरिक पर्यटकको पनि चहलपहल बढ्ने मात्र होइन, लोकप्रिय गन्तव्य पनि बन्न सफल भएको छ । 

दुई दशकअघिसम्म खरले छाएका स–साना ‘छाप्रा–होटेल’हरू रहेको सौराहामा हाल मौलिक नेपाली ‘होमस्टे’देखि सुविधासम्पन्न आधुनिक होटेल तथा रिसोर्ट खुलेका छन् । प्रकृतिसँग नजिक हुन चाहने जोकोहीलाई सौराहाले तान्छ । चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पक्षी र थारू संस्कृति यहाँको विशेषता हो । हात्ती र जिप चढेर जंगल घुम्ने, जंगल वाक गर्ने, वन्यजन्तु हेर्ने, राप्ती नदीमा डुंगा सयर गर्ने, सूर्यास्त हेर्ने र थारू संस्कृतिको अवलोकनजस्ता धेरै गतिविधिका लागि परिचित छ, सौराहा । 

एकसिंगे गैँडा प्रमुख आकर्षणको रूपमा रहेको सौराहाको परम्परागत घर, थारूका मौलिक घर तथा यहाँको संस्कृति पनि पर्यटकलाई स्वागत गर्न सधैँ लालायित देखिन्छन् । विदेशी पर्यटकको सूची केलाउँदा सबैभन्दा धेरै चीनका पर्यटकले सौराहाको अवलोकन गरेको भेटिन्छ । चीनपछि भारत र युरोपेली देशका पर्यटकको रोजाइमा सौराहा पर्ने गरेको छ । 

मनोरञ्जनपूर्ण र ज्ञानवद्र्धक भ्रमणका लागि सौराहामा कम्तीमा दुई रात छुट्याउनुपर्छ । सौराहाको जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयूर, बाघ, गैँडा, गोही, सर्पलगायतका पशुपक्षी देख्न सकिन्छ । विभिन्न प्रजातिका चराचुरुंगी पाइने हुँदा बर्ड वाचिङ मात्रै गर्न पनि यहाँ विदेशी आउने गर्छन् । जाडोयाममा साइबेरियादेखि आएका चरा सौराहामा भेटिन्छन् । 
विभिन्न सन्दर्भमा सौराहामा हुने हात्ती महोत्सव, हात्तीका छावाको रोचक फुटबल प्रतियोगिता र हात्तीको सुन्दरी प्रतियोगिता, गाडा दौड, डुंगा दौड, सांस्कृतिक कार्यक्रम अवलोकन गर्न हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउँछन् । विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि सौराहाका आत्मीय पाहुना हुन् । त्यसैले सधैँ आन्तरिक पर्यटकलाई स्वागत गर्न आतुर भएझैँ देखिन्छ, सौराहा । 

सुझावित समाचार