पूर्वाधार निर्माणमा तीव्रता
यतिवेला भरतपुर आउने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । महानगरको २९ वटै वडामा पूर्वाधार विकासअन्तर्गत सडक, खानेपानी, पर्यटकीय क्षेत्रको विस्तार, अटोल्यान्ड निर्माणलगायतका क्षेत्रमा तीव्र गतिमा काम भइरहेका छन् ।
गौरवको आयोजनाअन्तर्गत सिटीहल निर्माणदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने महानगरको मुख्य सडकखण्डको पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई सौन्दर्यीकरणसहितको ६ लेन बनाउने, साइकल लेन, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई निरन्तरता, खानेपानी आयोजना सम्पन्नलगायतका कामलाई महानगरले प्राथमिकता दिएको छ । यहाँका अधिकांश सडक कालोपत्रे भएका छन् ।
पछिल्ला साढे पाँच वर्षमा महानगरले करिब सात सय किलोमिटर सडक स्तरोन्नति, नयाँ निर्माणसहित कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । सडककै कारण गाउँमा परिवर्तन आएपछि नगरवासी खुसी भएको हामिले महसुस गरेका छौँ ।महानगरको नीतिअनुसार नारायणी नदी किनाराको सौन्दर्यीकरणका लागि सिविज मोडेलमा काम भइरहेको छ ।
भरतपुर महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गत स्मार्ट सडक बत्ती राखिएका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् लाइन भूमिगत तथा सुदृढीकरण गर्ने काम गरेको छ । निर्माणको क्रममा रहेका योजनालाई पूर्णता दिँदै भरतपुरलाई एसियाली मापदण्डअनुकूलको भौतिक पूर्वाधारले भरिपूर्ण बनाउने यो कार्यकालको मुख्य लक्ष्य छ ।
अब्बलसामुदायिक विद्यालय
बितेका पाँच वर्षमा करिब सात हजार विद्यार्थी निजी विद्यालयबाट सामुदायिक विद्यालयमा पढ्न आएको तथ्यांक छ । यसले सामुदायिक विद्यालयमा सुधारिँदै गएको शैक्षिक स्तर देखाउँछ । भरतपुरका सरकारी स्कुलमा पढ्ने विद्यार्थी संस्थागत विद्यालका विद्यार्थीभन्दा कम छैनन् ।
शैक्षिक गुणस्तरसँगै पूर्वाधारका हिसाबले पनि यहाँका सामुदायिक विद्यालय सक्षम छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू पनि अहिले निजी विद्यालयमा पढ्ने विद्यार्थीजस्तै गरी स्कुल बसमा विद्यालय पुग्छन् । स्थानीय तहहरूमा नै अटिजम तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । जसका कारण अटिजम तथा डाउन सिन्ड्रोम भएका बालबालिकाको उचित हेरचाह तथा सिकाइ सहजीकरणमा सहयोग पुगेको हामीले विश्वास लिएका छौँ ।
शिक्षण सहयोग अनुदान कोटा सिर्जना गरी युवा स्वयंसेवक शिक्षक छनोट र व्यवस्थापन कार्यलाई सहज र प्रभावकारी बनाउनका लागि भरतपुर महानगरपालिका युवा स्वयंसेवक शिक्षक व्यवस्थापन आफ्नै खर्चमा गरेका छौँ । सामुदायिक विद्यालयहरूमा लोपोन्मुख तथा अति सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा निरन्तरताका लागि कक्षा १ देखि ८ सम्मका बालबालिकालाई महानगरपालिकाको आन्तरिक स्रोतबाट छात्रवृत्ति प्रदान गर्नका लागि बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएका छौँ । यसैगरी, प्राविधिक उच्च शिक्षा, स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने अपांगता भएका, लोपोन्मुख, अति सीमान्तकृत, दलित तथा सहिद परिवारका छात्रछात्राका लागि प्रतिव्यक्ति वार्षिक १० हजार रुपैयाँका दरले तोकिएको तह पूरा हुने समयसम्म छात्रवृत्ति उपलब्ध गराउन बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएका छौँ ।
सामुदायिक विद्यालयहरूको भौतिक पक्षमा सुधार ल्याई बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सबै सामुदायिक विद्यालय भवनको बाहिरी रङमा एकरूपता कायम गरी सुन्दरता कायम गर्न महानगरस्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई ३ वर्षभित्र नेपाल सरकारले तोकेबमोजिमको कलर कोडअनुसार विद्यालय रङरोगन गर्नका लागि बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएका छौँ ।
संस्थागत विद्यालयहरूले प्रदान गर्नुपर्ने १० प्रतिशत छात्रवृत्तिमध्ये महानगरले ५ प्रतिशत विद्यार्थी छनोट गरी छात्रवृत्तिका लागि विद्यालय तथा विद्यार्थीहरूलाई सीफारिसपत्रसहित सम्बन्धित विद्यालयमा पठाइएको छ । विद्यालयमा हुन सक्ने आगजनीका घटनालाई रोकथाम गरी सुरक्षित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने उद्देश्यले महानगरपालिकाका ११० सामुदायिक विद्यालय र ४ वटा धार्मिक प्रकृतिका विद्यालयलाई फायर इक्सटिङगुइसर वितरण गरिएको छ । यहाँका केही सामुदायिक विद्यालयमा नर्ससहितको सेवा पनि सुरु भइसकेको छ ।
उत्कृष्ट कार्यसम्पादन, कम बेरुजु
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट प्रमाणित भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा महानगरपालिका ७२ दशमलव २२ प्रतिशत अंकसहित पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । देशभरिका अन्य ६ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बेजुरुमा महानगरपालिकामध्ये नै सबैभन्दा कम बेजुरु भएको महानगरपालिका बन्न सफल भएका छौँ । नयाँ प्रतिवेदनमा भरतपुर स्थानीय तहहरूमा नै कम बेरुजु भएको नगरपालिकाको रूपमा परिचय बनाउने उद्देश्यसहित काम गर्दै छ । आर्थिक पारदर्शितामा नम्बर १ महानगर बनाउने हाम्रो लक्ष्य छ ।
नेपालकै पहिलो सडक मानवमुक्त महानगर
भरतपुर नेपालकै पहिलो ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त’ महानगर हो । ०७६ कात्तिक ९ देखि भरतपुरलाई नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरिएको थियो । सबैका लागि खाना, नाना र छाना सरकारले मौलिक हकमा राखेकाले यसको परिपूर्ति गर्नु महानगरले आफ्नो जिम्मेवारी ठानेको छ । यसको प्रभावकारी कार्यन्वयनका लागि महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमबीच चौपक्षीय सहमति भएको छ । महानगरभित्र अन्तरजातिय विवाह गर्ने जोडीलाई नगद एक लाख रुपैयाँसहित सम्मान पनि गर्दै आएका छौँ ।
जनप्रतिनिधिका लागि आचारसंहिता
भरतपुर महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूका लागि आचारसंहिता बनेको छ । आचारसंहितामा कुनै पनि जनप्रतिनिधि र तिनको परिवारका सदस्यले ठेक्कापट्टामा भाग लिन नपाउने, दान–दक्षिणा र उपहार लिन नपाउने, कार्यालय समयमा मद्यपान तथा धूम्रपान गर्न नपाइनेजस्ता विषय समेटिएको छ ।
वडासदस्यको अनुगमन वडाध्यक्षले, वडाध्यक्ष, कार्यपालिका सदस्य र उपमेयरको अनुगमन मेयरले र मेयरको अनुगमन कार्यपालिका बोर्डले गर्ने आचारसंहितामा उल्लेख छ । जनप्रतिनिधिलाई नैतिकवान् र चरित्रवान् बनाउन तथा जनता र समाजप्रति उत्तरदायी बनाउन आचारसंहिता तयार पारिएको हो । कर्मचारी आचारसंहिता ०७४ पनि कार्यपालिकाबाट पारित भइसकेको छ ।
छोरी र महिला प्राथमिकतामा
अघिल्लो कार्यकालको पहिलो निर्णयका रूपमै महानगरले भरतपुर अस्पतालको ओपिडीमा महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था गरिसकिएको छ । दोस्रोपटक पनि भरतपुरमा जन्मने छोरीहरूका लागि महानगरले एक लाखको जीवन बिमा गर्ने निर्णय भएको छ ।
जुन कार्यान्वयनमा पनि आइसकेको छ । महानगर गौरवको कार्यक्रम भनेर ‘महिलासँग मेयर’ र ‘जोखिममा परेका समुदायसँग मेयर’ कार्यक्रम सञ्चालनमा छन् । महानगरका सरकारी विद्यालयमा पढ्ने छात्राहरूलाई साइकल वितरण गरिँदै आएको छ । सुत्केरी हुने महिलाका लागि दूरीका आधारमा बढीमा २ हजार रुपैयाँ पाउने गरी एम्बुलेन्स खर्च प्रदान गरिँदै आएको छ ।
दूध उत्पादकलाई अनुदान
यस महानगरपालिकाले सुरु गरेको उत्पादनको आधारमा अनुदानको सिको अहिले प्रायः पालिका र प्रदेश सरकारले गरेको देखिन्छ । हाल महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिँदै आएको छ । दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले अनुदानलाई वृद्धि गर्दै लगिएको छ । उन्नत जातका गाईभैँसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियतसहित पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा अनुदान पनि दिइँदैआएको छ ।
सहिद तथा बेपत्ता परिवारलाई मासिक भत्ता
महानगरले सहिद तथा बेपत्ता परिवारलाई मासिक भत्ता दिने गरेको छ । संघीय गणतन्त्र प्राप्तिका लागि भएको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका क्रममा सहिद तथा बेपत्ता भएकाको परिवारलाई मासिक दुई हजार रुपैयाँका दरले भत्ताको व्यवस्था गरिएको छ ।