धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति १० महिनामा १० प्रतिशत मात्रै

यात्रुलाई सास्ती, ठेकेदारलाई मस्ती

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिको काम ढिलासुस्ती भएको छ। काममा ढिलासुस्ती हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ। धुलिखेलबाट पाँचखालको लागि दुईपांग्रे सवारीसाधनमा यात्रा गर्दा धुलोले चिन्नै नसकिने हुने गरेको छ।

उक्त सडक विस्तारका लागि २०७९ जेठ २० गते गौरी पार्वती निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता भएको १० महिना बितिसक्दा पनि मुस्किलले १० प्रतिशत काम पनि भएको छैन। ४ किलोमिटर सडक स्तरोन्नतिका लागि ३० करोड ७८ लाख ७२ हजार ३८० रुपैयाँ अनुमानित लागत रहेकोमा भ्याटसहित २० करोड १९ लाख ४३ हजार ५ सय १ मा ठेक्का सम्झौता भएको थियो। ०८० चैत्र १९ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भए पनि ४७ प्रतिशत समय बितिसक्दा पनि १० प्रतिशतभन्दा काम भएको छैन।

सम्झौतामा १४ मिटर सडक चौडाइ बनाई ११ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ। तर, हालसम्म भित्ता काटेर माटो बेच्नेबाहेक अरू काम हुन सकेको छैन। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीले ठेकेदारले ढिलासुस्ती गरिरहेको बताए। ठेकेदारलाई पटक-पटक ताकेता गर्दा पनि ठेकेदारले नटेरेको मरासिनीको भनाइ छ। ‘अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक स्तरोन्नति तथा विस्तारको काम ठेकेदारका कारण ढिलासुस्ती भएको छ,’ मरासिनीले भने, ‘ठेकेदारलाई काम छिटो गर्नका लागि पटक-पटक ताकेता गर्दा पनि अटेर गरिरहेको छ।’

सडक स्तरोन्नतिको काम अघि नबढ्दा धुलाम्मे र खाल्डाखुल्डी भएको छ। भित्ता मात्र काट्ने काम गर्दा पहिरो जाने र सडक खाल्डो हुँदा दुर्घटना हुन सक्ने भएकाले त्यसको क्षति ठेकेदारले व्यहोर्नुपर्ने डिभिजन प्रमुख मरासिनीले बताए।

ठेकेदार कम्पनीले भने पेटी ठेकेदारले नटेरेका कारण काममा ढिलासुस्ती भएको बताएर जोगिने प्रयास गरेको छ। निर्माण कम्पनीका इन्जिनियर धनेश्वरप्रसाद साहका अनुसार पेटी ठेकेदारको रूपमा शम्भु कार्कीलाई जिम्मा दिएको छ। कार्कीले भित्ता ताछेर ढुंगा र माटो बेच्नेबाहेक अरू काम नगरेको बताए। ‘हाम्रो कम्पनीले शम्भु कार्कीलाई जिम्मेवारी दिएको थियो। ढुंगा माटो बेच्ने तर काम नगर्ने गरेकाले हामीले त्यसलाई क्यान्सिल गरेका छौँ,’ साहले भने, ‘अब हामी आफैँ द्रुतगतिमा काम गर्छाैँ।’

ठेकेदारलाई सात दिनको अल्टिमेटम
ठेकेदार कम्पनीले अटेर गरेको भन्दै सडक डिभिजन कार्यालाय भक्तपुरले जिल्ला समन्वय समिति काभ्रे, जिल्ला प्रशासन कार्यालय काभ्रे र काभ्रेका राजनीतिक दलहरूलाई गुहारेको छ। धुलिखेलमा छलफल कार्यक्रम राखी ठेकेदारले अटेर गरेका कारण सात दिनभित्र चित्त बुझ्दो काम गर्न अल्टिमेटम दिएको छ। सो समयभित्र काम अगाडि नबढाए ठेक्का सम्झौता तोडेरै भए पनि काम अघि बढाउने सडक डिभिजन भक्तपुरले स्पष्ट पारेको छ।

जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम एक हप्ताको समय दिँदा पनि काम सुरु नगरे ठेक्का तोडेर अर्काे ठेक्का आह्वान गरेर अघि बढ्नुपर्ने बताउँछन्। जनतासँग जोडिएको विषय भएकाले तत्काल काम अगाडि बढाउनका लागि आग्रह गर्दै अटेर गरे सम्झौता तोड्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

सुझावित समाचार