नवलपरासीको फोर ब्रदर्स एफसी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लबलाई ४–१ ले पराजित गर्दै फोर ब्रदर्स उपाधिनजिक पुगेको हो ।नवलपरासीका लागि कप्तान विनोद केवटले दुई गोल र हरि कठायतले एक गोल गरेपछि फोर ब्रदर्स फाइनलमा पुगेको हो ।
प्रतियोगिताको मंगलबार भएको खेलको पाँचौँ मिनेटमा कठायतले फोर ब्रदर्सलाई १–० को अग्रता दिलाए । खेलको २०औँ मिनेटमा कप्तान विनोदले फोर ब्रदर्सलाई २–० को स्थितिमा पुर्याए । खेलको २५औँ मिनेटमा बर्दियाका फागुराम थारूले एक गोल फर्काए । खेलको ४०औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफमा फोर ब्रदर्स ३–१ ले अगाडि रह्यो । दोस्रो हाफको २०औँ मिनेटमा कप्तान विनोदले दोस्रो गोल गरेपछि फोर ब्रदर्स ४–१ ले विजयी भयो । उनी खेलका म्यान अफ दी म्याच चुनिए ।
ब्रदर्स एफसीले उपाधिका लागि कैलालीको स्टार सिटी क्लबको सामना गर्नेछ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले सोमबार श्रम स्वीकृतिविना तीनजना विदेशी खेलाडी खेलाउन प्रयास गरेको थियो । त्यसपछि आयोजकले सहारा क्लबलाई कारबाही गर्यो । आयोजकको निर्णयसँगै स्टार सिटी फाइनलमा पुगेको हो । आयोजकले सहारासँग श्रम स्वीकृति माग्दा तीनैजनाको कागजात उपलब्ध गराउन नसकेपछि स्टार सिटीलाई विजयी गरायो ।