०४२ देखि निर्माण सुरु गरिएको कालिकोटको नरहरिनाथ गाउँपालिका– १ कोटबाडास्थित सुनथराली विमानस्थल ३७ वर्षमा तयार भएको छ । हालसम्म ५० करोडभन्दा बढी खर्च भएकोमा पछिल्लो वर्ष विनियोजित साढे १३ करोड बजेटले ६ सय ४० मिटर लामो धावनमार्ग कालोपत्रे गरिएको हो ।
विमानस्थलमा टर्मिनल भवन, सुरक्षा गार्ड भवनलगायत संरचना पनि बनाइएका छन् । ०७३ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरे पनि त्यसपछि जहाज नपुगेको सुनथराली विमानस्थलमा अब कहिले जहाज आउँछ भनेर कोडबाडावासी प्रतीक्षामा छन् ।
यो विमानस्थलसँग दुःखद घटना पनि जोडिएको छ । ११ फागुन ०५८ मा विमानस्थल निर्माणका लागि कडा चट्टानी पहाड फोडिरहेका ३६ कामदारको तत्कालीन शाही नेपाली सेनाले माओवादीका नाममा हत्या गरेको थियो ।
अहिले चिटिक्क विमानस्थल हेर्दै मृतकका परिवारले राज्यबाट न्याय र राहत नपाएको गुनासो गरेका छन् । ‘मेरै आँखाअगाडि छोरोसहित ३६ जनाको हत्या भयो । विमानस्थलमै खाडल खनेर लास पुरेर गए,’ मृतक कामदार टेकबहादुर विष्टकी आमा ६५ वर्षीया मृगा विष्टले भनिन्, ‘विमानस्थल बनेकोमा खुसी नै छौँ, तर राज्यले मृतक कामदारलाई सहिद घोषणा गरोस्, विमानस्थल परिसरमा सहिद स्मृति पार्क बनाओस् र परिवारलाई उचित राहत देओस् ।’