भारतीय सीमा ठोरी र चीनको सीमा रोइला जोड्ने व्यापारिक मार्ग बन्दै

१५८ किमि लामो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइयो

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

चितवनको ठोरी (नेपाल–भारत सीमानाका)बाट गोरखाको रोइला भञ्ज्याङ (नेपाल–चीन सीमानाका)सम्म उत्तर–दक्षिण व्यापारिक मार्ग बन्ने भएको छ । यस रुटमा पर्ने हालकै सडकलाई स्तरोन्नति र थप सडक विस्तार गरेर चितवनको ठोरीबाट गोरखाको रोइलासम्म व्यापारिक मार्ग बनाउने योजनामा सडक विभाग पुगेको हो । अहिले चीन र भारतलाई जोड्ने गरी कर्णाली, कालीगण्डकी र कोसी करिडोर लोकमार्ग निर्माणका चरणमा छन् । अब चीन र भारतलाई जोड्ने गरी उत्तर–दक्षिण मार्ग बनाउन लागिएको हो ।

अहिले चितवनको ठोरीसम्म सडक सञ्जाल पुगिसकेको छ । गोरखामा पनि बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ खण्डमा सडक निर्माण भइरहेको छ । अन्य खण्ड (चितवनको नारायणगढ–मुग्लिन–बेनीघाट)मा यसअघि नै सडक बनिसकेका छन् । अब गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्म थप सडक विस्तार गर्ने विभागको तयारी छ ।साथै, त्यसलाई दीर्घकालीन रूपमा उत्तर–दक्षिण व्यापारिक राजमार्गका रूपमा अघि बढाइने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

‘गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्मको दूरी आठ–नौ किलोमिटर मात्रै छ । साथै, त्यहाँ सडक बनाउन भौगोलिक रूपमा पनि फिजिबल देखिएको छ । सोहीअनुसार तत्काल रोइला भञ्ज्याङसम्म सडक विस्तार गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘साथै, यसलाई दीर्घकालीन रूपमा व्यापारिक राजमार्गकै रूपमा अघि बढाउने हाम्रो योजना छ ।’ कम लागतमा नै यो आयोजना बनाउन सकिने उनको भनाइ छ । 

हाल गोरखामा बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ (गोरखा लमजुङ सीमा क्षेत्र) सडक आयोजना निर्माणाधीन अवस्थामा छ । तर, लार्के भञ्ज्याङसम्म सडक पुर्याउँदा त्यति फाइदा नहुने विभागको भनाइ छ । त्यसपछि यसलाई संशोधन गरेर बेनीघाट–आरुघाट–सान्दो बजार–रोइला भञ्ज्याङ आयोजनाका रूपमा अघि बढाइने आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।

अब सान्दो बजारबाट लार्के भन्ज्याङतर्फ नभई सान्दो बजारबाट रोइला भञ्ज्याङतर्फ सडक निर्माण गरिने उनको भनाइ छ । ‘यो आयोजनालाई यहीअनुसार अघि बढाउने गरी संशोधन प्रस्तावसमेत अघि बढिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संशोधन प्रस्ताव स्वीकृत गरेपछि थप प्रक्रिया अघि बढ्नेछ,’ नयाँ पत्रिकासँग उनले भने । सान्दो बजारबाट रोइला भञ्ज्याङतर्फ सडक ट्र्याकसमेत खोल्ने तयारी गरिएको उनको भनाइ छ । 

बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक आयोजना ०७६ मा राष्ट्रिय राजमार्गमा सूचीकृत भइसकेको छ । साथै, चालू आवमा यो आयोजना सरकारको रातो किताबमै परेको छ । कुल एक सय ५८ किमि लामो हुने यस सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ । त्यसमा तल्लो भेगमा पर्ने बेनीघाट–हावाडाँडा खण्ड (८५ किमि)को ट्र्याक खुलिसकेको छ । त्यसमा सवारीसाधनसमेत गुड्न थालेको छ ।

हावाडाँडाबाट लार्के भञ्ज्याङसम्मको खण्ड (७३ किमि)मा भने नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । त्यसमा गत आवसम्म सेनाले १८ किमि खण्डको ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरिसकेको छ । अब यो सडक चिनियाँ नाकातर्फ जोड्ने भएपछि निर्माण पनि सोहीअनुसार अघि बढाइने विभागको तयारी छ । 

चीनबाट रोइला भञ्ज्याङ नाकासम्म पक्की सडक आइसकेको छ । त्यो अवस्थामा रोइला भञ्ज्याङसम्म सडक पुर्याउन सकेमा नेपाल–चीनबीचको कनेक्टिभिटीमा कोसेढुंगा साबित हुने महानिर्देशक ढकालले बताए । साथै, गोरखा जिल्लाको विकासमा समेत कोसेढुंगा साबित हुने उनको भनाइ छ ।

 ‘गोरखा जिल्लामा तुलनात्मक रूपमा कनेक्टिभिटी कम छ । फलस्वरूप स्थानीयले दुःख पनि पाइरहेका छन् । साथै, गोरखामा जडीबुटीका स्रोतहरू पनि भएको बताइन्छ । त्यहाँ अन्य व्यावसायिक सम्भावना पनि छ,’ उनले भने, ‘त्यो अवस्थामा यो आयोजना बनाउन सकेमा गोरखाको विकासमा ठूलो सहयोग पुग्छ । साथै, स्थानीयहरूको जीवनयापन सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

साथै, नेपाल–चीन व्यापारमा पनि महत्वपूर्ण सहयोग पुग्ने उनले बताए । ‘यसले भारत, नेपाल र चीनबीच हुने व्यापारमा समेत महत्वपूर्ण योगदान हुने सम्भावना छ । किनकि, यो सडकमार्फत दक्षिण सीमा क्षेत्र ठोरी र उत्तरी सीमा क्षेत्र रोइलालाई एक–आपसमा जोड्छ, । तसर्थ, यसले भारत, नेपाल र चीनबीचको व्यापारमा समेत सहयोग पुग्छ,’ उनले भने, ‘तसर्थ, यसलाई व्यापारिक मार्गका रूपमै विस्तार गर्ने दीर्घकालीन योजनामा छौँ ।’

साथै, यस सडकलाई बढी उपयोगी बनाउन सरकार नै अग्रसर हुनुपर्ने उनले बताए । ‘हाम्रो काम त सडक बनाउने मात्रै हो । सोहीअनुसार रोइलासम्म सडक पुर्याउने योजनामा हामी छौँ,’ उनले भने, ‘तर, यसलाई उपयोगी बनाउन सरकारले चीनसँग पनि आवश्यक समन्वय तथा पहल गर्न आवश्यक छ । आशा छ, सरकारले यसलाई सोहीअनुसार अघि बढाउने गरी काम गर्नेछ ।’ 

हाल नेपाल र चीनबीच रसुवागढी, कोरला, तातोपानी, किमाथांका, लोमाङथाङ, ओलाङचुङगोलालगायतका ठाउँमा नाका सञ्चालनमा छन् । अब गोेरखास्थित रोइला भञ्ज्याङबाट अर्काे नाका सञ्चालनमा आउने सम्भावना देखिएको छ । 

सुझावित समाचार