लुम्बिनी पिस हाफ म्याराथनमा आर्मीका अधिकारी र प्रहरीका पछाई पहिलाे

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले बिहीबार लुम्बिनीमा आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले  प्रथम  स्थान  हासिल  गरेका छन्।

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा भएको २१ किलोमिटर लामो पुरुषतर्फ त्रिभुवन आर्मी  क्लबका  दीपक अधिकारीले एक घन्टा ६ मिनेट दुई सेकेन्डमा दूरी पार गरे। उनले एक लाख ५० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरे। 

महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीकी राजपुरा पछाईले एक घन्टा २४  मिनेट दुई सेकेन्डमा पूरा गरेर उपाधि जितिन्। उनले एक लाख ५१ हजार रुपैयाँ नगद, सिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन्। 

प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पारखी दोस्रो र आर्मीका मुकेश पाल तेस्रो भए। उनीहरूले क्रमशः एक घन्टा  ६ मिनेट  ४६ सेकेन्ड र एक घन्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गरे। यस्तै, त्रिभुवन आर्मीकै नरेन्द्र रावलले  एक घन्टा सात मिनेट  १५ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गरे। 

महिलातर्फ एपिएफकी विन्द्रा धान्के श्रेष्ठले दोेस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र आर्मीकी पूर्णलक्ष्मी चौथो भइन्। उनीहरूले क्रमशः एक घन्टा २६ मिनेट सात सेकेन्ड, एक घन्टा २६ मिनेट ११ सेकेन्ड र १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्न सफल भए। 

प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने दुवैतर्फका प्रतियोगीले ७५ हजार र तृतीयले ५० हजार र चौथो स्थान हासिल गर्ने ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका पाँचौँ स्थान हासिल गर्नेले २० हजार, छैटाैँले १० हजार, सातौँले सात हजार, आठौँले पाँच हजार र नवौँ तथा दशौँले पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए। 

प्रतियोगिताका विजेतालाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। लुम्बिनीमा रहेको शान्तिदीपमा अध्यक्ष ओलीले मसाल बालेर खेलाडीलाई  हस्तान्तरण गरेपछि म्याराथन सुरु भएको थियो। 

मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन लुम्बिनीको वरिपरि दुईपटक घुमेको थियो।  प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा भाग लिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। 
 

सुझावित समाचार