लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता’ सुरु भएको छ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी छन् । मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनीवरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।  

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई एक लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिलातर्फ प्रथम हुनेलाई एक लाख ५१ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ ।     

सुझावित समाचार