विश्वका केही ठूला तेल उत्पादकहरूले अचानक तेल उत्पादनमा कटौती गर्ने घोषणा गरे । सोमबार अचानक ब्रेन्ट क्रुडको मूल्य बढेर प्रतिब्यारेल पाँच डलरसम्म बढ्यो । अर्थात् सात प्रतिशतको वृद्धिसहित ८५ डलर प्रतिब्यारेल पुग्यो । ठूला तेल उत्पादक मानिने साउदी अरब, इराकसहित खाडी मुलुकका अन्य देशले प्रतिदिन १० लाख ब्यारेल तेल कम उत्पादन गर्ने घोषणा गरे । यो घोषणाले अन्तर्राष्ट्रिय तेल बजार उथलपुथल भएको छ ।
गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा कच्चा तेलको मूल्य वृद्धि भएको थियो । बीचमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलरसम्म पुग्यो । तर, अब कच्चा तेलको मूल्य युद्ध सुरु हुनुअघिको अवस्थामा पुगेको छ । तेलको मूल्य बढ्नुको कारण गत वर्ष विश्वभर महँगी बढेको थियो ।
तेल आयातमा निर्भर देशको अर्थतन्त्र प्रभावित बन्यो । कैयौँ देशमा आममानिसका लागि दैनन्दिन आवश्यकता पूरा गर्न पनि मुस्किल भयो । यस्तै, अमेरिकाले तेल उत्पादकलाई उत्पादन बढाउन आग्रह गरेको छ, ताकि तेलको मूल्य कम बनिरहोस् । तेल उत्पादनमा कटौती गर्ने घोषणाबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताको भनाइमा बजारको वर्तमान अनिश्चिततालाई हेर्दा उत्पादन कटौती गर्नु सही काम होइन ।
विश्लेषकका अनुसार तेलको मूल्य बढ्ने हो भने महँगी नियन्त्रण गर्न मुस्किल हुनेछ । यस्तै, यातायात सेवाको भाडा पनि उसैगरी बढ्न सक्छ । ओपेकसँग जोडिएका देशले आइतबार तेल कटौतीको घोषणा गरेका छन् । रुसले पहिल्यैदेखि तेल उत्पादनमा प्रतिदिन पाँच लाख ब्यारेल कटौती गर्दै आएको छ ।
तेल उत्पादनमा यो कटौती ओपेक प्लसका सदस्य देशले गरेका हुन् । विश्वमा कुल कच्चा तेलको ४० प्रतिशत उत्पादन ओपेक समूहका देशले गर्छन् । साउदी अरब प्रतिदिन पाँच लाख ब्यारेल र इराक दुई लाख ११ हजार ब्यारेल तेल कटौती गर्नेछन् । यसबाहेक संयुक्त अरब इमिरेट्स, ओमान, कुबेत र अल्जेरियाले पनि कम तेल उत्पादन गर्ने भएका छन् ।
ठूला तेल उत्पादक मानिने साउदी अरब, इराकसहित खाडी मुलुकका अन्य देशले प्रतिदिन १० लाख ब्यारेल तेल कम उत्पादन गर्ने घोषणा गरेका छन् । यो घोषणाले अन्तर्राष्ट्रिय तेल बजार उथलपुथल भएको छ ।
युक्रेन युद्ध, अमेरिका र युरोपमा देखिएको बैंकिङ संकटबीच वैश्विक अर्थतन्त्रमा मन्दीको आशंका दिनप्रतिदिन बढेको छ । यदि वैश्विक अर्थव्यवस्थामा मन्दी आउने हो भने यसले तेल खपत कम गराउन सक्छ । विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्रमा मन्दीको आशंकालाई मध्यनजर गर्दै तेल उत्पादक देशहरूले उत्पादन कम गरेका हुन् । कारण, तेलको दाम स्थिर राख्न सकियोस् भन्ने हो ।
यद्यपि, तेल बजारको विश्लेषण गर्ने वन्दा इनसाइट्सकी संस्थापक वन्दना हरीका अनुसार बचाउको बचाउ या क्षतिलाई रोक्ने तर्क स्वीकार गर्न सजिलो छैन । विशेषगरी, यतिवेला ब्रेन्ट क्रुडको मूल्य पुनः ८० डलर प्रतिब्यारेल पुगेको छ । मार्चमा कच्चा तेलको मूल्य पछिल्लो डेढ वर्षकै तल्लो स्तरमा झरेको थियो ।
किन कटौती गर्दै छन् अरब देशले ?
तेल उत्पादक देशले वैश्विक अर्थतन्त्रमा देखिएको अस्थिरतालाई मध्यनजर गर्दै यो कदम उठाउनुपरेको बताएका छन् । यद्यपि, विश्लेषकले यसको कारण अरू केही हुन सक्ने आकलन गरेका छन् । उनीहरूको यस्तो घोषणाले दैनिक १६ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ । र, यो नियम आगामी मेदेखि लागू हुनेछ ।
अमेरिकाको स्ट्राटेजिक रिजर्भ (आपत्कालीन तेल भण्डारण) निकै कम हुँदा उत्पादन अरब देशले कटौतीको निर्णय लिएका छन् । आफ्नो भण्डारण भरिपूर्ण राख्न अमेरिकाले ठूलो परिमाणमा तेल खरिद गर्नुपरेको छ । तेलको मूल्य बढेको खण्डमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । किनकि, अमेरिकाले पहिल्यैदेखि अर्थतन्त्रमा मन्दी झेलिरहेको छ । यस्तो स्थितिमा तेलको मूल्य बढ्यो भने अमेरिकाले झन् धेरै खर्च गर्नुपर्ने स्थिति आउँछ । ‘तेल उत्पादक देशले कसैको दबाबविना आफ्नो इच्छाले तेलको मूल्य निर्धारण र उत्पादन तय गर्छौं भन्ने देखाएका छन्,’ ऊर्जा विशेषज्ञ नरेन्द्र तनेजा भन्छन्, ‘पहिले साउदी अरब अमेरिकाको प्रभावमा रहन्थ्यो । तर, अहिले साउदीले तेलको विषयमा आफू सर्वेसर्वा भएको संकेत दिएको छ ।’
बदलिँदै विश्वको तेल व्यवस्था
विश्लेषकहरू यो नयाँ घटनाक्रमले विश्वको तेल व्यवस्थामा परिवर्तनको संकेत देखिएको बताउँछन् । युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय तेल व्यवस्था अस्थिर भएको छ । युद्धपूर्व तेलको व्यवस्था र बजार दुवै स्थिर थियो । तर, युद्धपछि तेलकै लागि युद्ध गर्ने स्थिति देखिएको छ । पश्चिमा देशले रुसको तेलमाथि प्रतिबन्ध लगाएका छन् । रुसले तेलको मूल्य कम गर्दा पनि युरोपियन देशले खरिदमा रोक लगाएका छन्, ताकि युरोपियन बजारमा रुसको तेल बिक्री नै नहोस् । अतः युक्रेन युद्धले तेलको व्यवस्थालाई उथलपुथल बनाएको छ । कुनै नयाँ व्यवस्था पनि बन्न सकेको छैन ।
बढ्ला त तेलको मूल्य ?
भविष्यमा तेलको मूल्य के हुन्छ, कसैले भन्न सक्ने अवस्था छैन । तेलको मूल्य बढ्नुमा कैयौँ कारण छन् । तर, उत्पादन नै कम हुँदा आगामी महिनामा तेलको मूल्य वृद्धि हुन सक्ने आकलन गर्न सकिन्छ । तर, विश्लेषक यो मान्न तयार छैनन् । तनेजा भन्छन्, ‘आगामी तीन महिनाको अवधिमा तेल ८० देखि ९० डलर प्रतिब्यारेलबीच रहन सक्ने आकलन गर्न सकिन्छ । यदि ९० डलर नै पुग्यो भने भारतजस्ता अर्थतन्त्र भएका देशले कठिनाइको सामना गर्नुपर्ने हुन्छ । साउदीजस्ता तेल उत्पादकको तर्क यो छ कि प्रतिब्यारेल ८० डलरभन्दा कम मूल्यमा तेल बेच्दा फाइदा हुँदैन । यसकारण माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न तेल उत्पादन कम गर्छन् ।