नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरेका छन् । श्रेष्ठको प्यालनबाट जिल्ला–नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । यो प्यानलबाट वस्तुगततर्फ उपाध्यक्षमा ढकालसहित १४ सदस्यका उम्मेदवारको प्यानल नै घोषणा भएको छ । एसोसिएसट र जिल्ला–नगरतर्फका कार्यकारिणी सदस्यका उम्मेदवार भने अझै घोषणा गरिएको छैन ।
घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले उद्योगी–व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहका रूपमा आफूहरू अघि बढेको बताए । ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ, यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेनसिप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु,’ उनले भने, ‘मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो, म निडर छु र व्यवसायीका आवाज बोल्न सक्छु ।’
एसोसिएटतर्फका उपाध्यक्ष भरत आचार्यले अहिले देशको अर्थतन्त्र र उद्योगी–व्यवसायीका समस्या समाधान गर्न आफूले उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आबद्ध भएर काम गर्दा वस्तुगत संघहरूको समस्यालाई नजिकसँग बुझेको भन्दै वस्तुगत संघका समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलालसहित रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । संघाईले आइतबार नै आफ्नो प्यानल घोषणा गरिसकेका छन् भने श्रेष्ठले मंगलबार प्यानल घोषणा गर्दै छन् । संघाईको प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैध, वस्तुगत उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सुकन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् ।
महासंघको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशन यही चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोहीअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बन्दै छन् । महासंघको निर्वाचनका लागि २१ चैतभित्र उम्मेदवारी दिइसक्नुपर्नेछ ।