वेस्ट इन्डिज पनि ग्लोबल छनोटमा

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

सुपर लिगमा  २४ खेलबाट ८८ अंक जोडेको वेस्ट इन्डिज नवौँ स्थानमा झरेपछि आइसिसी विश्वकप ग्लोबल छनोटमा 

दुईपटकको पूर्वविश्वकप च्याम्पियन वेस्ट इन्डिज भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । आइसिसी सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई तेस्रो एकदिवसीय खेलमा १ सय ४६ रनले पराजित गरेपछि वेस्ट इन्डिज ग्लोबल छनोटमा छनोट भएको हो । वेस्ट इन्डिज सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकपको उपाधि विजेता हो ।

वेस्ट इन्डिजले टी–२० विश्वकप २०१२ र २०१६ मा जितेको थियो । वेस्ट इन्डिजले सुपर लिगमा २४ खेलबाट ८८ अंक जोडेको छ । वेस्ट इन्डिजले नौ जित र १५ हार सामना गरेको छ । नवौँ स्थानमा झरेपछि सीधै वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन नसकेको हो । आठौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाले २१ खेलबाट ९८ अंक हात पारेको छ । दक्षिण अफ्रिकाले नौ जित र १० हारको सामना गरेको छ । 

आयरल्यान्डले अर्को महिना बंगलादेशसँग घरेलु मैदानमा तीनमध्ये एउटा एकदिवसीय खेलमा पराजित भए दक्षिण अफ्रिका सीधै भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा पुग्नेछ । यदि बंगलादेशविरुद्ध तीनवटै एकदिवसीय खेलमा जित निकाल्दा आयरल्यान्डले ९८ अंक बनाउनेछ । यो अवस्थामा दक्षिण अफ्रिकासँग आयरल्यान्डले अंक बराबरी गर्नेछ । 

यसअघि श्रीलंका दशौँ स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको थियो । श्रीलंका सुपर लिगमा २४ खेलमा सात जित र १३ खेलमा हार सामना गर्दै ८१ अंक बनाएको थियो । अब आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता रहनेछ ।

सुपर लिगको नियमअनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउँछन् । भारत, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरी ७ टोली सोझै विश्वकपमा पुगिसकेका छन् । आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । विश्वकप–२ को शीर्ष स्थानमा स्कटल्यान्ड र दोस्रो स्थानको ओमानले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएका छन् । 

सुझावित समाचार