भन्सारबाट रिटायर्ड नासुको दुई करोड १४ लाख गैरकानुनी सम्पत्ति

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

भन्सार विभागमा कार्यरत पूर्वकर्मचारीको दुई करोड १४ लाख ४६ हजार गैरकानुनी सम्पत्ति भेटिएको छ। नासु रघुनाथ घिमिरेविरुद्ध सोही सम्पत्तिबराबरको बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एयरपोर्टसहित विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा कार्यरत रहेर राजस्व हिनामिना तथा गैरकानुनी गतिविधि गरी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ। २८ कात्तिक ०५२ मा सार्वजनिक सेवामा प्रवेश गरेका घिमिरेको गत १२ पुससम्मको अवधिको सम्पत्ति, आम्दानी र खर्चबारे अख्तियारले छानबिन गरेको थियो।

यस अवधिमा उनको आम्दानी पाँच करोड २५ लाख देखिएको आरोप-पत्रमा उल्लेख छ। यो उनको पारिश्रमिक, श्रीमती शारदा गौतमको पारिश्रमिक तथा अन्य आम्दानी, छोरीको पारिश्रमिक, कर्मचारी सञ्चय कोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल, कम्पनी लाभांश, पुरस्कार, सेयर बिक्रीसहितको रकम हो।

सोही अवधिमा उनको खर्च तथा लगानी भने सात करोड ४९ लाख ६२ हजार देखिएको आरोप-पत्रमा उल्लेख छ। यो उनको जग्गा खरिद, घर निर्माण, रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरमा भएको खर्च, सेयर खरिदमा भएको खर्च, कर्जाको साँवाब्याज, बिमा प्रिमियम, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, विद्युतीय उपकरण खरिद, बैंक मौज्दात, विदेश भ्रमण, सुनचाँदी खरिदसहितको हो।

‘निजको कुल वैधानिक आयलाई गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड १४ लाख ४६ हजारको वैधानिक स्रोत पुष्टि हुन सकेन,’ अख्तियारले आरोप-पत्रमा भनेको छ, ‘प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो।’ 

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ। उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१)बमोजिमको कसुरमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो।

पत्नीका नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, सेयर खरिद र बैंक खाताहरूमा रकम मौज्दातलगायतमा गरिएका खर्चबराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढे–बढाएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पत्नी गौतमलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाइ उनको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गर्न गौतमलाई अख्तियारले प्रतिवादी बनाएको हो।

सुझावित समाचार