नेपाललाई प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका आयुष घलान ‘मोष्ट भ्यालुएवल प्लेयर’ घोषित भएका छन् ।
प्रतियोगितामा भएका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण आयुष प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले पाँच सय डलर पुरस्कार र ट्रफी प्राप्त गरे ।
एक गोलले पछि परेको अवस्थामा आयुषले नेपालका लागि बराबरी गोल गरेका थिए । आयुषले भुटानसँगको महत्वपूर्ण खेलमा पनि गोल गरेका थिए ।
यसैगरी, आजको फाइनल खेलको उत्कृष्ट खेलाडी मनीष डाँगी घोषित भएका छन् । म्यान अफ द म्याच मनीषले नै नेपालका लागि निर्णायक गोल गरेका थिए ।
८७औँ मिनेटमा उनले गरेको गोलको मद्यतमा नेपालले उपाधि जितेको हो । मनीषले दुई सय पचास डलर र ट्रफी प्राप्त गरे ।