धनबहादुरलाई एक स्ट्रोकको अग्रता

बिहिबार, १६ चैत, २०७९
डिजिटल संस्करण

धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौँ सूर्य नेपाल च्यालेन्जको बुधबार दोस्रो दिन एक स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिएका छन् । धनबहादुर चार अन्डर ६४ को स्कोर गर्दै समग्रमा तीन अन्डर १३३ स्कोरका साथ शीर्ष स्थानमा उक्लेका हुन् । प्रतियोगिताको पहिलो दिन शीर्ष स्थानमा रहेका भुवनकुमार रोक्का र रवि खड्कालाई धनबहादुले एक स्ट्रोकले पछि परेका छन् ।

भुवन र रवि समग्रमा दुई अन्डर १३४ स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । भुवन एक अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लँदा पहिलो दिनका शीर्ष खेलाडी रवि तीन ओभर ७१ स्कोरको खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन् । 

एमेच्योरद्वय सद्भाव आचार्य र सुवास तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा एक अन्डर १३५ स्कोरका साथ संयुक्त रूपमा चौथो स्थान बाँडे । राष्ट्रिय टिमका सद्भावले दुई अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुवास तामाङले इभन पार ६८ स्कोर गरी दोस्रो दिनको खेल सकाए । यसैगरी, दीपकले एक ओभर ६९ र दिनेशले तीन ओभर ७१ को कार्ड तयार पारेका छन् । 

पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले दोस्रो दिन दुई ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन पार खेल्दै १३६ स्कोर गरे । उनी आठौँ स्थानमा तल झरेका छन् । चार ओभर १४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । दुवै खेलाडीले तीन ओभर ७१ स्कोर गरेका थिए । सञ्जय लामा, टंकबहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, वसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाएका छन् । 

See More On

सुझावित समाचार