मेसीले पूरा गरे करिअरकै आठ सय गोल

शनिबार, ११ चैत, २०७९
डिजिटल संस्करण

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोपछि करिअरकै आठ सय गोल गर्ने अर्जेन्टिनी विश्व च्याम्पियन खेलाडी मेसी दोस्रो खेलाडी बने

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले शुक्रबार बिहान एउटा रेकर्ड बनाएका छन् । उनले आफ्नो खेल जीवनकै आठ सय गोल पूरा गरेका छन् । घरेलु मैदानमा पानामाविरुद्धको खेलमा अर्जेन्टिनाले २–० ले हराउँदा कप्तान मेसीले गोल गरेका थिए । ब्युनस आयर्समा मेसीले उत्कृष्ट फ्रिकिक गोल गरेका हुन् । फुटबल इतिहासमा आठ सय गोल गर्ने उनी दोस्रा फुटबलर हुन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो उपलब्धि हात पारेका थिए ।

मेसीले आफ्नो फुटबल करिअरमा स्पेनिस क्लब बार्सिलोनामा लगातार १७ सिजन बिताएका थिए । दुई वर्षअघि मात्र उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भए । बार्सिलोनामा रहँदा मेसीले ६ सय ७२ गोल गरेका थिए । पिएसजीमा दुई सिजनभित्र उनले २९ गोल संख्या पुर्याएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको नाममा ९९ गोल संख्या रहेको छ । खेलको ८९औँ मिनेटमा डे नुनेज रंगशालामा मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । 

यसअघि खेलको ११औँ मिनेटमा थिआगो अल्माडाले अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । मेसीसमक्ष अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने अवसर छ । मंगलबार अर्जेन्टिनाले अर्को खेल खेल्दै छ । गत पुसमा कतारमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । विश्वकपपछि अर्जेन्टिनाले पहिलोपटक खेल खेलेको हो । 

कीर्तिमान रच्ने सपना
८३ हजार समर्थकमाझ भ्रमणकारी टोली पानामाले अर्जेन्टिनालाई पहिलो हाफमा रोक्न सफल भएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाको अग्रपंक्ति बलियो देखियो । खेलपछि मेसीले जीवनभरि नै फुटबलमा कीर्तिमान राख्ने सपना भएको बताए । ‘मेरो सधैँ यस्तो सपना थियो । ट्रफीसाथ समर्थकसँग खुसीयाली मनाउने हो,’ मेसीले भने, ‘कोपा अमेरिका र विश्वकप जित्दा यस्तै भयो । सबै उत्कृष्ट सोचाइ यही थियो ।’ पहिलो हाफमा अर्जेन्टिनाले पानामाविरुद्ध ७३ प्रतिशत बल आफ्नो पकड राखेको थियो । मेसीका केही आकर्षक गोल प्रयासलाई पानामाका गोलरक्षक जस कार्लाेस गुइराले बचाएका थिए । पानामाविरुद्ध स्कोलानीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध खेलेकै ‘प्लेइङ सेट’ मैदानमा उतारेका थिए । 

चार च्याम्पियन्स लिग विजेता 
बार्सिलोनामा रहँदा मेसीको जादुमयी खेलबाट फुटबल समर्थक दंग पर्थे । बार्सिलोनाकै सर्वकालीन महान् खेलाडी र गोलकर्ता बनेका मेसी पिएसजीसँग अनुबन्ध हुँदा समर्थक निराश बनेका थिए । उनले बार्सिलोनाबाट युरोपका सबैजसो उपाधि जित्न सफल भए । मेसीले युरोपकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग चारपटक जितेका छन् ।

यसैगरी, स्पेनिस ला लिगाको उपाधि मेसीले १० पटक हात पारे । कीर्तिमानी रूपमा बालोन डिओर उपाधि जितेका मेसीको चाहना नै पिएसजीबाट च्याम्पियनस लिग जित्नु हो । १३ वर्षकै उमेरमा बार्सिलोनासँग आबद्ध हँुदा उनले ३५ उपाधि चुमे । उनले बार्सिलोनामा एक सय ९२ असिस्टको कीर्तिमान राखेका थिए । सन् २०११÷१२ को सिजनमा उनले बार्सिलोनाका लागि ३७ खेलमा ५० गोलको रेकर्ड राखे । 

सुझावित समाचार