आइजिपी सिंहसहित नौ उच्च प्रहरी अधिकारीको अवकाश

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

तीस वर्ष सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ उच्च प्रहरी अधिकारीले अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीहरूको शुक्रबार साँझ बिदाइ गरिएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिदाइ गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको भन्दै आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । 

संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतीहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई हस्तान्तरण गरेका छन् । साथै, नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त  भएका महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे । 

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताए । 

प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताए । 

प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेले ३० अवकाश पाएका हुन् ।

सुझावित समाचार