यसकारण असफल बन्दै छन् बैंकहरू

टाट पल्टिएका साना बैंकलाई समस्याबाट बाहिर निकाल्ने कोसिस गरेका कैयौँ देशका केन्द्रीय बैंक आफैँ संकट झेलिरहेका छन्

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

यतिवेला विश्वकै बैंकिङ कर्पोरेसन समस्यामा छ । टाट पल्टिएका या असफल बनेका साना बैंकलाई समस्याबाट बाहिर निकाल्ने कोसिस गरेका कैयौँ देशका केन्द्रीय बैंक आफैँ संकट झेलिरहेका छन् । अहिलेको अवस्थालाई हेर्दा सन् २००८ मा भएको वैश्विक वित्तीय संकटजस्तो स्थिति नदोहोरिएला भन्न सकिन्न । 

अमेरिका र युरोपका नेता तथा केन्द्रीय बैंकले आफ्नो वित्तीय अवस्था स्थिर र बलियो रहेको विश्वास दिलाइरहेका छन् । तर, यथार्थमा स्थिति उनीहरूले भनेजस्तो छैन । अहिले विश्वव्यापी रूपमै पुँजी लगानीकर्ता त्रसित छन् । यही कारणले विश्वको सेयर बजार, विशेषगरी बैंकिङ सेक्टरको सेयरमा ठूलो उतारचढाव देखिएको छ । 

बैंकमा के हुँदै छ ?
स्विट्जरल्यान्ड सरकारको समर्थनसहित इन्भेस्टमेन्ट बैंकिङ कम्पनी (युबिएस)ले हालसालै मात्र क्रेडिट स्विसको जिम्मेवारी सम्हालेको छ । यी दुई बैंक विश्वमा पुँजी लगानी गर्ने ठूला बैंक हुन् । स्विस बैंकिङ आफ्नो वित्तीय सुदृढताका लागि लोकप्रिय छ । यसैकारण क्रेडिट स्विस अन्त्य हुने र युबिएससँग उसको विलयले युरोपियन देशभित्र तथा बाहिरका मानिसलाई आश्चर्यमा पारेको छ । 

त्यसो त यसअघि पनि सिलिकन भ्याली बैंक र कोर सिग्नेचर बैंक असफल भएपछि विश्वभरमै डर फैलिएको थियो । यी दुवै अमेरिकी बैंकले टेक्नोलोजीको क्षेत्रमा पुँजी लगानी गर्थे । यद्यपि, सन् २००८ पछि अमेरिकाका दुवै बैंक टाट पल्टिनु बैंकिङ क्षेत्रको ठूलो असफलता हो । तर, यी दुवै बैंक क्रेडिट स्विसको आकारभन्दा निकै साना थिए, जुन विश्वकै ३० ठूला बैंकमध्ये एक हो । 

अमेरिका र युरोपका नेता तथा केन्द्रीय बैंकले आफ्नो वित्तीय अवस्था स्थिर र बलियो रहेको विश्वास दिलाइरहेका छन् । तर, यथार्थमा स्थिति उनीहरूले भनेजस्तो छैन । अहिले विश्वव्यापी रूपमै पुँजी लगानीकर्ता त्रसित छन् ।

यद्यपि, यी बैंकबाहेक अरू कुनै पनि बैंक असफल बनेका छैनन् । तथापि, केन्द्रीय बैंकहरूमा खतराको घन्टी भने बज्न थालेको छ, जसले गर्दा आर्थिक लेनदेन सुनिश्चित गर्न मौद्रिक तरलता उपलब्ध गराउने नयाँ कदम घोषणा गरिएको छ । यस्तो घोषणाको इतिहास हेर्ने हो भने पछिल्लो २३ वर्षमा जम्मा दुईपटक मात्रै भएको छ । पहिलोपटक सन् २००८ को आर्थिक संकट र दोस्रोपटक कोभिड महामारीको सुरुवातमा । यो घोषणाको उद्देश्य जनताप्रति विश्वास बढाउनु र उपभोक्तालाई बैंकले अझै पनि ऋण दिन सक्छन् भन्ने सुनिश्चित गर्नु थियो । 

किन हुँदै छ यस्तो ?
क्रेडिट स्विसमा पहिलेदेखि नै समस्या उत्पन्न हुँदै आइरहेको छ । यसमा वर्षौंदेखि जारी जोखिम व्यवस्थापनको गल्तीदेखि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) जस्ता काण्ड पनि सामेल छन् । गत हप्ता स्विस नेसनल बैंकका तर्फबाट उपलब्ध गराइएको ५० अर्ब डलरको आकस्मिक सहायताका बाबजुद बैंकले आफूलाई अचानक ओरालो लाग्दै गरेको देखे । र, ग्राहकले आफ्नो रकम अन्य बैंकमा ट्रान्सफर गर्न थाले । जब कि यसअघि टाट पल्टिएका दुई अमेरिकी बैंकका आफ्नै समस्या थिए । 

अमेरिकी केन्द्रीय बैंकले हालसालै मात्रै मुद्रादरमा अचानक वृद्धि गर्यो । उक्त वृद्धिले बन्ड्सको मूल्य सस्तो बनाइदियो । फलतः ग्राहकको पैसा फिर्ता गर्ने विश्वास दिलाउन उसले तरलताको नीति अख्यितार गर्नुपर्यो । खासगरी टेक्नोलोजी कम्पनी, जसले सन् २०२१ को बबल्सपछि यस क्षेत्रमा आउने संकटबाट प्रभावित बने । यस्तै, उपभोक्तालाई भुक्तानी गर्न उसले आफ्नो बन्ड्सको ठूलो हिस्सा समयअघि नै घाटा खाएर बेच्नुपर्यो ।

सन् २००८ पछि अमेरिकाका दुईवटा बैंक टाट पल्टिनु बैंकिङ क्षेत्रको ठूलो असफलता हो । यद्यपि, यी बैंकबाहेक अरू कुनै पनि बैंक असफल बनेका छैनन् । तथापि, केन्द्रीय बैंकहरूमा खतराको घन्टी भने बज्न थालेको छ ।
 

सिग्नेचर बैंकचाहिँ क्रिप्टोकरेन्सीको मूल्यमा देखिएको ह्रासले अत्यधिक प्रभावित हुन पुग्यो । दुवै अमेरिकी बैंकले ग्राहकले जम्मा गरेको रकम भुक्तानी गर्न नसक्नुको कारण आफ्नो ब्यालेन्स सिट कमजोर रहेको चाल पाए । तर, क्रेडिट स्विससहित तीनवटै संस्थालाई प्रभावित पार्ने एउटा विषय हो, बैंकिङ सेक्टरमा तीव्र गतिमा बढिरहेको ब्याजदर हो । विश्वभरका केन्द्रीय बैंकले निरन्तर महँगी नियन्त्रण गर्न मुद्राको भ्यालु वृद्धि गरेका छन्, जुन कैयौँ देशमा दोहोरो अंकमा कायम छ ।

यो बैंकिङ संकट हो ?
विश्लेषकहरूका अनुसार सन् २००८ को संकटले जसरी बैंकिङ सिस्टमलाई प्रभावित पारेको थियो, त्यो अवस्था अहिले छैन । त्यतिवेला विश्वकै बैंकले आफूहरू अमेरिकी रियल इस्टेट मार्केटमा व्यर्थको लगानीको सिकार भएको चाल पाए । यसका कारण सरकारले संकटकालीन सहायता घोषणा गर्नुपर्यो । वित्तीय संकट सतहमा आयो र वैश्कि आर्थिक दुर्दुसा निम्तियो । त्यसपछि बैंकलाई अधिक तरलता राख्न र यस्तो खतरालाई न्यूनीकरण गर्न नियम लागू गरियो ।नोबेल पुरस्कार विजेता पल क्रुगम्यानले एउटा आलेख लेख्दै आफूले आर्थिक संकटको लक्षण नदेखिएको उल्लेख गरेका छन् । 

बचतकर्ताको राशि के हुन्छ ?
अमेरिका र युरोपका नागरिकले आफ्नो बचतबारे चिन्ता लिनुपर्ने देखिँदैन । कतिसम्म भने कुनै बैंक या बिल्डिङ सोसाइटी धराशायी हुने स्थितिमा पनि उनीहरूको जम्मा पुँजीको सुरक्षा उपलब्ध छ । अमेरिकी सरकारले अढाई लाख डलरसम्मको सबै बैंक डिपोजिटको ग्यारेन्टी गर्छ । अमेरिकामा पुँजी सुरक्षाले विभिन्न प्रकारका बैंकिङ प्रडक्ट्सलाई कभर गर्छ । चेक र बचत खातादेखि प्रिपेड कार्ड र डिपोजिटको सर्टिफिकेटसम्म । 

सिलिकन भ्याली र सिग्नेचर बैंकको सन्दर्भमा अमेरिकी सरकारले एक कदम अगाडि बढाउँदै अढाई लाख डलरसम्मको बचतलाई पूर्ण सुरक्षा प्रदान गर्यो । तर, अढाई लाखभन्दा बढीको राशिमा यस्तो सुरक्षा छैन । यदि भविष्यमा कुनै अर्को बैंक टाट पल्टियो भने सायदै दोस्रोपटक उसले यस्तो गर्नेछ । 

See More On

सुझावित समाचार