हेटौँडामा शनिबारदेखि जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानी हेटौँडामा चैत ४ देखि दोस्रो जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता हुँदै छ । मकवानपुर जिल्लाका १० वटा पालिकाबीच हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाले सहभागिता जनाउने खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका– ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिता चैत ११ गतेसम्म चल्नेछ । उद्घाटन खेलमा शनिबार कैलाश र भीमफेदीबीच प्रतिस्पर्धा हुने खड्गीले जानकारी दिए । यस्तै चैत ५ गते हेटौँडा र बकैया, राक्सिराङ र थाहानगर तथा चैत ६ गते गढी र इन्द्रसरोवरबीच खेल हुनेछ । 

कैलाश र भीमफेदीबीचको विजेतासँग मनहरीले एवं चैत ५ गते हुने राक्सिराङ र थाहाबीचको बिजेतासँग बागमतीले खेल्नेछ । मनहरी र बागमतीले ‘बाइ’ पाएका छन् । 

प्रतियोगितामा विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अघिल्लो संस्करण थाहा नगरपालिकाले जितेको थियो ।

सुझावित समाचार