म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

मंगलामा नेविसंघ र अखिल क्रान्तिकारीद्वारा बहिस्कार

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले बुधबार सूचना प्रकाशित  गर्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि क्याम्पस प्रशासनले निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । स्ववियु निर्वाचनलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो ।

तालाबन्दीको विषयलाई लिएर मंगलबार क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला संघसंगठनका प्रतिनिधिहरूबीच बैठक बसेको थियो । बैठकको निर्णयबमोजिम बुधबार बिहान ११ बजेसम्म विवाद मिलाउने समयावधि तोकिएकोमा सहमति भएको कुनै सूचना नआएकाले निर्वाचनका कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए । 

अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघले भने निर्धारित मितिमा नै निर्वाचन गराउन माग गरेका छन् ।

यसैगरी म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा पनि नेविसंघ र अखिल क्रान्तिकारीले स्ववियु चुनाव बहिष्कार गरेका छन् ।

निर्वाचनबारे क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाबारे प्रस्ट सूचना दिन आनाकानी गरेको, मनोनयन दर्तासहित अन्य प्रक्रियामा क्याम्पसमा अनुपस्थित भएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्दै निर्वाचनसम्बन्धी गतिविधिमा असहमति भएको र विद्यार्थीमैत्री वातावरण नभएको दुवै संगठनले आरोप लगाएका छन् ।

सुझावित समाचार