बौद्ध महाँकालस्थित जनकल्याण उच्च माविमा ‘स्टिम क्लब’को आयोजनामा शैक्षिक सामग्री प्रदर्शनी गरिएको छ । कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बनाएका शैक्षिक सामग्री विद्यालयपरिसरमा प्रदर्शनी गरिएको हो । विद्यार्थीले कागजको प्रयोग गरी विभिन्न चित्र तथा कागजका सामग्री तयार पारेका थिए ।
धरहरा, विभिन्न ऐतिहासिक स्थलहरू, फलफूल, बोटबिरुवालगायतका चित्र तथा सामग्री प्रदर्शनमा राखिएका थिए । उनीहरूले बनाएका सामग्री मंगलबार दिनभर प्रदर्शनमा राखिएका थिए ।
अन्य विद्यालयका शिक्षक तथा विद्यार्थी र अभिभावकले उक्त सामग्री अवलोकन गरेका थिए । विद्यार्थीलाई कागज सामग्री बनाउन स्टिम क्लबकी संयोजक मञ्जु बस्यालले सहयोग गरेकी थिइन् ।
विद्यार्थीलाई चित्रकलामा आकर्षक गर्न र उनीहरूको क्षमता विकासका लागि प्रोत्साहनमूलक प्रदर्शनी गरिएको विद्यालयकी प्रअ कुमारी कमला राईले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीले कागज, मसीलगायतको प्रयोग गरी आकर्षक शैक्षिक सामग्री र चित्र तयार पारेका थिए ।