नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको तथ्य सार्वजनिक गरेको छ । तर, सुधारको स्थायित्व भने चुनौतीपूर्ण रहेको विज्ञहरूको भनाइ छ । केन्द्रीय बैंकका अनुसार चालू आवको सात महिनामा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सूचक दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा थियो । गत आर्थिक वर्षको तुलनामा सुधार देखिए पनि यसको स्थायित्व चुनौतीपूर्ण रहेको अर्थशास्त्रीहरूको विश्लेषण छ । गत आर्थिक वर्षमा कोभिडपछि रुस–युक्रेन युद्धका कारण बाह्य क्षेत्र दबाबमा थियो । यो वर्ष बाह्य कारोबारलाई असाधारण परिस्थितिसँग तुलना गर्दा मात्रै सुधार देखिएको हो ।
सरकारले बाह्य क्षेत्रको दबाब थेग्न आयातलाई नियन्त्रण गरेका कारण मात्रै सुधार देखिएको र सुधारको स्थायित्व भने चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले भने, ‘अहिले देशको बाह्य कारोबारमा देखिएको सुधार निर्यात बढेर, विदेशी लगानी बढाएर वा वैदेशिक सहायता बढाएर भएको होइन । केही हदसम्म रेमिट्यान्सले धानेको हो, तर आयातलाई जबर्जस्ती संकुचित बनाएकाले सुधारजस्तो देखिएको हो । तर, दबाबको अवस्था कायमै छ ।’
केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति १० महिना २४ दिनको वस्तु आयात तथा नौ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । गत असारसम्म १२ खर्ब १५ अर्ब रहेको विदेशी मुद्राको ढुकुटी माघ मसान्तसम्म आइपुग्दा १३ खर्ब ८३ अर्ब ३३ करोड कायम भएको छ । असारको तुलनामा सञ्चिति १३.८ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहे पनि यसको सदुपयोग गरे मात्रै स्थायित्व कायम राख्न सकिने बताए । उनले केन्द्रीय बैंक यो अवस्थालाई टिकाइराख्न सचेत रहेको बताए । बजारमा आर्थिक क्रियाकलाप संकुचित भइरहेको अवस्थामा बाह्य क्षेत्रको सुविधाजनक स्थितिको स्थायित्व कायम राख्नुपर्ने चुनौती देखिएको उनको भनाइ छ । उनले भने, ‘अहिले समष्टिगत आधारलाई असर नपुग्ने गरी आर्थिक क्रियाकलाप बढाउनुपर्ने चुनौती हामीसामु छ ।’
बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जाको गुणस्तरमा सावधानी अपनाउनुपर्ने भएकाले कर्जा विस्तार संकुचित बनेको उनले बताए । त्यसबाहेक सरकारले पुँजीगत खर्च बढाउने हो भने वित्तीय क्षेत्रमा पनि सुधार आउने प्रवक्ता भट्टको भनाइ छ ।
ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले बजार चलायमान बन्ने अवस्थामा बाह्य क्षेत्रको स्थायित्व टिकाउन चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘अहिले आर्थिक गतिविधि सुस्त छ । उच्च ब्याजदरका कारण बैंकहरूको कर्जा लगानी सुस्त छ । निर्माण क्षेत्रमा मन्दी आएको छ । सरकारले खर्च गर्न सकेको छैन । जसले बजारमा माग संकुचित बनाएको छ । यसलाई खुला गर्ने हो भने बाह्य क्षेत्र फेरि दबाबमा पर्ने चुनौती बढेको छ ।’
सात महिनामा सात खर्ब रेमिट्यान्स
अहिले बाह्य क्षेत्रलाई सुधारको बाटोमा डोर्याउने प्रमुख भूमिका रेमिट्यान्सको हो । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा २७.१ प्रतिशत बढी हो ।
रेमिट्यान्सकै बलमा बाह्य क्षेत्रमा सुधार देखिएकाले यसको स्थायित्वको आधार कमजोर रहेको क्षेत्रीको भनाइ छ । आयातलाई विस्थापित गर्ने नीति नअँगालेसम्म रेमिट्यान्समा मात्रै निर्भर रहँदा बाह्य क्षेत्र सधैँ दबाबमा परिरहने उनको भनाइ छ । उनले भने, ‘आयातलाई नियन्त्रण नगरेसम्म रेमिट्यान्स ताकेर मात्रै हुँदैन । आयात गर्नेबित्तिकै फेरि बाह्य क्षेत्र असन्तुलित भइहाल्छ ।’
गत वैशाखदेखि पुस मसान्तसम्म आयातमाथिको कडाइको असर वैदेशिक व्यापारमा परेको छ । सात महिनामा आयात १९.९ प्रतिशतले घटेको छ । यद्यपि, निर्यातमा समेत २९ प्रतिशतले कमी आएको छ ।
महँगी बढ्यो
चालू आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ७.८८ प्रतिशत कायम भएको छ । पुसमा ७.२६ प्रतिशत पुगेको थियो । त्यस्तै, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत पुगेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.३३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।